सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा कांग्रेसलाई संकट, जोखिममा खड्का र थानी


विनोद शाही/सुर्खेत । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये ७५ सिट आफूले जित्ने दाबी गरिएको छ । जसमा सुर्खेतका २ वटै निर्वाचन क्षेत्र समावेश छन् । सुर्खेतको क्षेत्र नं १ बाट कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् भने क्षेत्र नं २ बाट केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी उम्मेदवार छन् ।

वाम गठबन्धनलाई तोड्दै खड्का र थानीले हासिल गर्लान् त विजय ?

२०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस सुर्खेतमा नतिजाशून्य भयो । त्यही एउटा निर्वाचन हो, जहाँ २०४८ सालयता नेपाली कांग्रेसले सुर्खेतमा लज्जास्पद पराजय बेहोर्नुपरेको छ । त्यसबाहेक हरेक निर्वाचनमा कांग्रेसले सम्मानजनक नतिजा आफ्नो पक्षमा पार्दै आएको छ । २०६४ मा बेहोरेको पराजयले गुमेको साख फिर्ता ल्याउन कांग्रेसलाई धेरै समय कुर्न भने परेन । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नै कांग्रेसले आफ्नो दरिलो उपस्थितिलाई पुनरागम गराउँदै सुर्खेतका ३ वटै निर्वाचन क्षेत्रमा विजय हात पार्यो ।
जुन नतिजाले ६ वर्षअघि गुमेको उसको साख फिर्ता मात्रै गराएन मजबुत संगठन बनाएको एमाले र जनयुद्धको जगमा उदाएको माओवादीलाई ठुलै धक्कासमेत दियो । पहिलो संविधानसभा निर्वाचनमा गुमेको साख ६ वर्षमै फिर्ता ल्याएको कांग्रेसले त्यसको ४ वर्षपछि पनि जोगाइराख्न सक्ला ? सुर्खेत कांग्रेससामु अहिले यो प्रश्नचिह्न खडा भएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई भत्काउँदै नतिजा आफ्नो पक्षमा पार्नु कांग्रेसका लागि निकै चुनौतीपूर्ण छ ।

विगतमा कांग्रेसको अवस्था

विगतका सबै निर्वाचनको परिणाम हेर्ने हो भने सुर्खेतमा कांग्रेसको अवस्था कमजोर होइन । २०४८ को आम निर्वाचनमा सुर्खेतमा २ वटा निर्वाचन क्षेत्र थिए। दुवैमा कांग्रेस विजयी भयो । क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का र २ बाट शिवराज जोशी विजयी भएका थिए ।

२०४९ को स्थानीय निर्वाचन

२०४९ को स्थानीय तहको निर्वाचनमा पनि जिल्लामा कांग्रेस नै पहिलो भयो । ५० गाविस र एउटा नगरपालिकामध्ये ३१ गाविसको अध्यक्ष, २९ उपाध्यक्ष र २७३ सदस्य गरी ३३३ पदमा जित हात पार्दै कांग्रेस पहिलो भयो । दोस्रो भएको एमालेले नगरपालिकासहित १८ अध्यक्ष, १९ उपाध्यक्ष र १४५ सदस्य जितेको थियो ।

२०५१ को मद्यावधि निर्वाचन

२०५१ मा मध्यावधि निर्वाचन हुँदा सुर्खेतलाई ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । जसमध्ये क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का र ३ बाट शिवराज जोशी विजयी भएका थिए भने क्षेत्र नं २ बाट एमालेका यामलाल कँडेलले सिट सुरक्षित गरे ।

२०५४ को स्थानीय निर्वाचन

२०४८ यता लगातार पहिलो हुँदै आएको कांग्रेसलाई २०५४ को स्थानीय निर्वाचनमा भने ठूलै धक्का लाग्यो। यो निर्वाचनमा एमाले पहिलो भयो । उसले ३७ अध्यक्ष, ३८ उपाध्यक्षसहित ६१.२६ प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दा कांग्रेस भने १३ अध्यक्ष र १३ उपाध्यक्षसहित ३२.३१ प्रतिशतमा सीमित हुन पुग्यो । त्यसलगत्तै २०५५ मा भएको जिल्ला विकास समिति सुर्खेतको निर्वाचनमा पनि एमालेले नै जित हात पार्यो, कांग्रेसका उम्मेदवार पराजित हुन पुगे ।

२०५६ को संसदीय निर्वाचन

दुई वर्षअघि अर्थात् २०५४ को स्थानीय निर्वाचनमा गुमाएको साख कांग्रेसले २०५६ मा फिर्ता गराउन सफल भयो । २०५६ को संसदीय निर्वाचनमा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु विजयी भए । मत क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी र क्षेत्र नं ३ बाट उठेका शिवराज जोशीको पोल्टामा गयो ।

संविधानसभा निर्वाचन २०६४ र २०७०

तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र द्वन्द्व छोडेर शान्ति प्रक्रियामा आइसकेपछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा सुर्खेतका ३ मध्ये २ वटा (क्षेत्र नं १ मा कमला शर्मा र २ मा यामलाल कँडेल) ले जित्दा क्षेत्र नं ३ मा माओवादीका नरबहादुर विष्ट विजयी भए । नेपाली कांग्रेस नतिजाशून्य भयो । तर त्यसको ६ वर्षपछि दोस्रो पटक २०७० मा भएको संविधानसभा निर्वाचनमा भने कांग्रेसले पुनरागमन गर्दै ३ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्न सफल भयो । यसले जिल्लामा नेपाली कांग्रेस अझै पनि बलियो अवस्थामा रहेको पुष्टि गर्यो ।

स्थानीय तह निर्वाचन २०७४

मुलुक नयाँ संरचनामा प्रवेश गरेसँगै भएको स्थानीय तहको पहिलो निर्वाचनमा पनि सुर्खेतमा कांग्रेसले अपेक्षाकृत नजिता हात पार्न सफल भयो । जिल्लाका ९ स्थानीय तहमध्ये ४ नगरपालिकासहित ६ स्थानीय तहको नेतृत्व कांग्रेसले आफ्नो पक्षमा पार्दा एमाले ३ वटामा खुम्चियो । माओवादी नतिजाविहीन भयो ।

अब के होला ?

विगतका निर्वाचनका परिणामलाई हेर्ने हो भने स्थानीय निकायको निर्वाचन २०५४ र संविधानसभा निर्वाचन २०६४ बाहेकका हरेक निर्वाचनमा सुर्खेतमा कांग्रेसले आफूलाई बलियो साबित गर्दै आएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले विगतको साख जोगाउन सक्ला ? आम चासोको विषय बनेको छ । विगतको साख जोगाउने मुख्य जिम्मेवारी केन्द्रीय नेतृत्वमा समेत पुगिसकेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का र हृदयराम थानीको काँधमा छ ।
उनीहरु दुवै सुर्खेतबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने केन्द्रीय नेतृत्वले पनि यी दुवैले जित्ने आन्तरिक आँकलन गरेको छ । त्यति मात्र होइन सुर्खेतमा लामो समयदेखि कांग्रेसभित्र खड्का र थानी गुट समानान्तर रुपमा चल्दै आएका छन् । यसपटक उम्मेदवार छनोटमा पनि दुवै गुटलाई बराबर पर्ने गरी उम्मेदवार मिलाइएको छ । यसले गर्दा कांग्रेसभित्रको गुटगत असन्तुष्टि मत्थर हुने र विजय हासिल गर्न सकिने आँकलन कांग्रेस नेताहरुको छ । तर उत्तिकै बलियो संगठन भएका एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई पराजित गर्नु कांग्रेसका प्रदेशसभाका अन्य उम्मेदवार मात्र होइन स्वयं खड्का र थानीलाई पनि सजिलो छैन । स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने दुवै क्षेत्रमा वाम गठबन्धनको मत कांग्रेसको भन्दा निकै धेरै छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतवार ०३:१०