सूचनाको शक्ति - The Power Of Information

        

पाँच लाखको जागिर छाडेर चुनावमा उत्रेका डा कर्ण भन्छन्, ‘अब राजनीतिक अपरेसन !’


कृष्ण अधिकारी/बाँके । मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्लास्टिक सर्जन डा विनोद कर्ण करिब ५ लाखको आकर्षक जागिर छाडेर चुनावी मैदानमा उत्रेका छन् । एक वर्षयता नेपालगन्जमा सरसफाइ अभियानमा सक्रिय रहँदै आएका डा कर्ण राजनीतिमा पनि स्वच्छता आवश्यक रहेको ठहर गर्दै यो चुनावमा उम्मेदवार बनेका छन् । आकर्षक जागिर छाडेर विवेकशील साझा पार्टीमा आबद्ध भएका उनी बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेरवार भएका हुन् ।
सन् २००१ देखि २०१२ सम्म राजधानीका विभिन्न अस्पतालमा प्लास्टिक सर्जनका रुपमा काम गरेका डा कर्ण त्यसपछि गृहजिल्लामै केही गर्ने सोचले नेपालगन्ज फर्किए । करिब ८ वर्ष नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा काम गरे । पछिल्लो साढे एक वर्षदेखि डा कर्ण चिकित्सासँगै सामाजिक अभियानमा जुट्दै साथीहरुसँग मिलेर ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगञ्ज’ अभियान अन्तर्गत नगर क्षेत्रमा सरसफाइ र वृक्षरोपणमा सक्रिय रहँदै आएका छन् । सरसफाइ अभियान ६३ हप्तामा पुगिसक्दा उनले राजनीति नसुध्री केही हुँदैन भन्ने निष्कर्ष निकाल्दै विवेकशील साझा पार्टीमार्फत जनतामाझ आएका हुन् । राजनीतिमा प्रवेश गर्नुको कारण र चुनावी एजेन्डाबारे डा कर्णसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानी :

आकर्षक जागिर छोडेर किन राजनीतिमा लाग्नुभयो ?
मेरो उमेर ५० वर्ष भयो । मैले १८ वर्षसम्म प्लास्टिक सर्जनको रुपमा बिरामीको सेवा गरेँ । करिब २५ हजार त अपरेसन गरेँ । आफ्नो लागि मात्रै कति गर्ने, देश र जनताका लागि पनि केही गरुँ भन्ने सोच आएर मैले नेपालगन्जमा साथीहरुसँग मिलेर ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज’ अभियान सुरु गरेँ । आफैं झाडु बोकेर नगर क्षेत्रको सरसफाइ गरेँ, वृक्षरोपण गरेर हरियाली अभियानमा सक्रिय भएँ । सरसफाइ अभियानमा सक्रिय हुँदा मैले धेरै बुझ्ने र सिक्ने मौका पाएँ । हाम्रो देशमा प्रशस्त सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग हुन सकेको छैन ।
प्रस्ट भिजन र प्रतिबद्धता भएका राजनीतिक पार्टी र नेताहरु नहुँदा आम सर्वसाधारण जनताले धेरै कष्ट र हैरानी खेप्नुपरेको छ । हामी ठूला पार्टी र नेताहरुले गर्न सकेनन्, भ्रष्ट भए भनेर गुनासो मात्रै गरिरहेका छौं । गुनासो गरेर सुध्रिने अवस्था देखिएन । गुनासो गरेर समय खेर फाल्नुभन्दा आफैं राजनीतिमा होमिएर राजनीतिलाई नै सही दिशा ल्याई हाम्रै पालामा सुशासन र समृद्धि ल्याउन सम्भव छ भन्ने निष्कर्षका साथ राजनीतिमा होमिएको हुँ । अब राजनीतिमार्फत समाजको अपरेसनमा केन्द्रित हुनेछु ।

देशमा व्याप्त विकृति र विसंगतिलाई हटाएर सुशासन र समृद्धि ल्याउन सम्भव छ ?
सम्भव छ । त्यसका लागि ठोस प्रतिबद्धता र प्रस्ट भिजन आवश्यक छ। असल र इमान्दार मान्छेहरुलाई प्रोत्साहन गर्न आवश्यक छ । जो भ्रष्ट छ, त्यसैलाई ठूलो मान्छे देख्ने र त्यसकै वरिपरि झुम्मिएर जी–हजुरी गर्ने प्रवृत्ति अन्त्य गरेर अगाडि बढ्नुपर्छ। सुरुका पाँचरसात वर्ष केही गाह्रो होला, तर सम्भव छ । त्यसका लागि पढेलेखेका र भिजन भएका इमान्दार मानिसहरु पनि राजनीतिमा आउनुपर्छ र राजनीतिलाई सही बाटोमा ल्याउनुपर्छ ।

एउटा नाम चलेको डाक्टर आकर्षक जागिर छोडेर चुनावी मैदानमा उत्रिँदा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
धेरै जनाले यो के गरेको, किन डाक्टरी जागिर छोडेर उम्मेदवार भएको भनेर प्रश्न गरिरहेका छन् । मैले आफ्ना विचार सुनाएपछि कुरा ठीकै हो भन्ने प्रतिक्रिया दिँदै शुभकामना पनि दिइरहेका छन् ।

नेपालगन्जको शहरी क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । के छन् त तपाईंका एजेन्डा ?
मेरो पहिलो एजेन्डा त ‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ नै हो । अत्यधिक गर्मी हुने हाम्रो शहर निकै फोहोर छ । हरियाली कम छ । यसैले शहरमा हरियाली बढाउने, फोहोरमैलाको व्यवस्थापन गरेर शहरलाई सफा र हराभरा बनाउने, शहरमा कम्तीमा ३–४ वटा पार्क निर्माण गर्ने, ढल निकासको व्यवस्था गरेर डुबानमुक्त गराउने, सडकहरुको मर्मत सम्भार र स्तरोन्नति गरेर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, गुणस्तरीय स्वास्थ्य र शिक्षामा सबैको पहुँच बढाउने मेरा प्रमुख एजेन्डा हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतवार ०३:०१