सूचनाको शक्ति - The Power Of Information

        

दुई तिहाई बहुमत ल्याउने गरी अघि बढ्न नेता कार्यकर्तालाई वाम गठबन्धनको निर्देशन


बाँके । वाम गठबन्धन क्षेत्र नं. २ नेपालगन्जले शनिबार संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेको छ । वाम गठबन्धनका नेताहरुले संयुक्त उम्मेद्वारलाई जिताउन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । वाम गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादवले महान् उद्देश्यका साथ दुई पार्टी एकीकरणको चरणमा पुगेकाले आगामी चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।
उनले प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका फरक फरक उम्मेद्वारहरु रहेकाले मतदाताहरुको मत बदर हुनसक्ने भएकाले वाम गठबन्धनका नेता कार्यकर्ताहरुले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिए । ‘टिकट वितरणमा सानातिना असन्तुष्टिहरु भए पनि त्यसलाई थाती राखेर नेता तथा कार्यकर्ताहरु अगाडि बढ्नुपर्छ,’ यादवले भने, ‘बहुमत मात्र होइन, दुई तिहाई ल्याएपछि मात्रै देशलाई हामीले सोचेजस्तो विकास र संवृद्धिमा अगाडि बढाउन सक्छौँ ।’
वाम गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका सहसंयोजक प्रकाश सुवेदीले निर्वाचनको महाअभियानमा रहेकाले सबैले तनमन लगाएर वाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउनुपर्ने बताए । वाम गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका सचिव मो. हारुनले गठबन्धनले देशलाई विकास र संवृद्धिको दिशामा अघि बढाएकोले यसको उद्देश्य पुरा गर्नका लागि वाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउनुपर्ने बताए ।
क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्रले नेपालगन्जको विकासका लागि आफूलाई जिताउनुपर्ने बताए । उनले भने, ‘मेरो उम्मेद्वारी नेपालगन्जको विकासलाई केन्द्रित गरेर रहेको छ । मतदाताहरुले विश्वास गर्नुस्, म नेपालगन्जको विकास र संवृद्धिको लागि प्रतिवद्ध भएर लाग्नेछु ।’ वाम गठबन्धन दुई तिहाई मत ल्याएर जनताको विकास र संवृद्धिको चाहना पुरा गर्न अघि बढेको मिश्रले बताए ।
क्षेत्र नं. २ का प्रदेशसभा ‘ख’ का उम्मेद्वार विजयकुमार गुप्ताले चुनाव जितेमा पारिश्रमिक नलिने घोषणा गरेका छन् । ‘मैले चुनाव जितेमा पारिश्रमिक लिन्न, त्यो पैसालाई समुचित विकास निर्माणमा खर्च गर्छु,’ गुप्ताले भने, ‘नेपालगन्जको विकास गर्ने मसँग योजनाहरु छन् ।’ क्षेत्र नं. २ का प्रदेशसभा ‘क’ का उम्मेद्वार कामताप्रसाद खटिकले प्रदेशको विकासका लागि आफूले जनताका चाहना अनुरुप अघि बढ्ने बताए ।
वाम गठबन्धनका क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक दामोदर आचार्यको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा वाम गठबन्धनका नेताहरु अशोक कोइराला, निरक गुरुङ, अक्कलबहादुर बम, पार्वती पुन, प्रमोद धिताल लगायतले गठबन्धनलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ०९:०३