सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा बेसबल खेलको सम्भावना बढ्दै


बाँके । नेपालका लागि नयाँ खेल बेसबलको पनि सम्भावना बढ्दै गएको छ । यो खेललाई स्थापित गर्न अमेरिकाबाट प्रशिक्षक ल्याएर बेलाबेलामा प्रशिक्षण दिने गरिएको छ । अमेरिकाको न्यासभिले टेनेसी शहरस्थित स्टेशन हिल बेसबल टीमका प्रशिक्षकद्वारा नेपालगन्ज, कोहलपुर र खजुरामा विद्यार्थी तथा प्रहरीलाई बेसबल सम्बन्धी प्रशिक्षण दिइएको छ ।
बेसबल तथा सफ्टबल संघका केन्द्रीय अध्यक्ष असित शमशेर जबराले सत्यपाटीलाई भने, ‘नेपालगन्जका लागि नयाँ खेल भएकोले स्थापित गर्न चुनौति भए पनि हामीहरु सफल हुन्छौँ ।’ अध्यक्ष जवराले नेपालगन्जका खेलाडीहरुको स्तरमा बृद्धि गर्न बिशेष प्रशिक्षण र प्रतियोगिताहरु सञ्चालन गरिनुपर्ने र यस खेलवाटै विश्वसामु नेपालको छवी उच्च राख्ने धारणा राखेका थिए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका उपाध्यक्ष नरेन्द्र थापाले नेपालगन्जमा शुरु गरिएको नयाँ खेल बेसबललाई स्थापित गर्न क्षेत्रीय खेलकुद समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संघका केन्द्रीय अध्यक्ष जबराले बेसबलको विकास, विस्तार र प्रशिक्षणका लागि निकट भविष्यमा नेपालगन्जमा बेसबल तालिम केन्द्र निर्माण गर्ने योजना रहेको बताए । उनले भने, ‘नेपालका लागि बेसबल एकदमै नयाँ खेल भएका कारण यसको विकास गर्न र नयाँ खेलाडीहरु उत्पादन गर्न छुट्टै तालिम केन्द्र स्थापना गर्ने सोच बनाएका छौँ ।’ नेपालमा बेसबल र सफ्टबल खासै परिचित खेल भइ नसकेकोले स्थानीय स्तरमा सुरुवात गरेको उनले बताए । ‘हामीले नेपाल बेसबल र सफ्टबल संघको स्थापना गरी यस खेलका बारेमा जानकारी दिइरहेका छौँ । स्थानीय स्तरबाटै यसको विकास गर्नुपर्छ भन्ने हाम्रो सोच हो, उनले भने ।’
केन्द्रीय अध्यक्ष जबराले भने, ‘यसलाई हामीले राष्ट्रिय प्रतियोगिता खेलेर क्लबलाई अझै अगाडी बढाउने लक्ष्य राखेका छौँ । राष्ट्रिय टोलीको छनोट पनि त्यहि प्रतियोगितामा गर्ने प्रदर्शनका आधारमा हुने भएकाले क्लबका खेलाडीलाई थप प्रशिक्षणमा राख्ने योजनामा छौं ।’ बेसबल तथा सफ्टबल संघका केन्द्रीय उपाध्यक्ष अशोक भट्टचन क्रिकेटसँग मिल्दोजुल्दो खेल भएकाले थोरै सहज हुने बताए । तर क्रिकेटभन्दा नियम फरक त्यस्तै अप्ठेरो रहेको उनको बुझाई छ । तर खेलको विकासका लागि सरकारी र नीजिस्तरबाट सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
नेपालगन्जको प्रहरी व्यामशालामा बाँके बेसबल तथा सफ्टबल संघको आयोजनामा सञ्चालित तीन दिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संघका केन्द्रीय अध्यक्ष जबराले जानकारी दिए । कात्तिक २२ गतेदेखि सुरु भएको प्रशिक्षण शुक्रबार सकिएको छ । संघद्वारा आयोजित बेसबल क्लीनिक तथा अन्तरविद्यालय च्याम्पियनसीपको उद्घाटनसँगै खेलको प्रशिक्षण शुरु गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवलशमशेर राणाले प्रशिक्षकहरुलाई बेसबल खेलको सामाग्री हस्तान्तण गर्दै प्रशिक्षणको उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रमको संयोजन रन्सफर्मेसन नेपालका अध्यक्ष विश्व कर्माचार्यले गरेका थिए ।
पश्चिम नेपाल र नेपालगन्जका लागि बेसबल खेल नयाँ भएकोले संघले यस खेलको बिकासका लागि बढी मेहनत गर्नुपर्ने आवश्यक रहेकोले हाल कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको संघका केन्द्रीय अध्यक्ष जबराले जानकारी दिए । बेसबल खेलको प्रशिक्षणमा बाँके जिल्लाका ११ विद्यालय तथा प्रहरीका गरी २०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको बेसबल संघ बाँकेकी अध्यक्ष किरण आचार्यले जानकारी दिइन् । स्टेशन हिल बेसबल प्रशिक्षक टीम अमेरिकाका प्रशिक्षक बेसबल प्रशिक्षक पेड्रो हर्नान्डेज, टीम कुपर, माईक कर्पेन्टर, रिक किचेन्स, एलिसा बर्नेट र जर्मी पीटमेनले प्रशिक्षण दिएका थिए । प्रशिक्षणपछि अन्तिम दिन आयोजित प्रतियोगितामा ज्ञानज्योति मावि कोहलपुर प्रथम, होप इन्टरनेशनल स्कुल नेपालगन्ज द्वितिय र स्प्रिङडेल एकेडेमी नेपालगन्ज तृतीय भएको डम्बर खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ०६:३१