बाँके । नेपालगन्जको धम्बोझी निवासी विजयकुमार गुप्ता २०५१ सालदेखि नेकपा एमालेमा आवद्ध छन् । विभिन्न कालखण्डमा पार्टीका विभिन्न पद सम्हालेका गुप्ता मारवाडी समुदायबाट निरन्तर पार्टीको झण्डा बोकेर हिड्नेमा अगाडि आउँछन् । बाम गठबन्धनको तर्फबाट नेपालगन्ज बजार समेटिएको क्षेत्र नं. २ को ख बाट प्रदेश सभामा उम्मेदवार बनेका गुप्ता चर्चित समाजसेवी हुन् । २०५१ सालमा नेकपा एमालेको आर्थिक विभागको सदस्यदेखि छैठौ महाधिवेसनमा सचिवालय सदस्य, क्षेत्र नं. ३ को उपसचिव हुँदै उद्योग व्यवसायी विभागका केन्द्रिय सदस्य एवं प्रदेश नम्बर ६ का इन्चार्ज रहेका गुप्ता मारवाडी युवा मञ्चको संस्थापक अध्यक्ष, लियो क्लव, जेसीस, लायन्स क्लवहरुमा बसेर काम गरेका छन् । हिन्दु–मुस्लिम सामाजिक सद्भाव समितिमा सदस्य र बागेश्वरी मन्दिर गुठीको उपाध्यक्ष भएर गुप्ताले सामाजिक, धार्मिक सद्भाव कायम गर्न ठूलो भूमि खेलेका छन् ।
बाम गठबन्धनको नेपालगन्जबाट उम्मेदवार बनेपछि घरदैलोको कार्यतालिका बनाएर विभिन्न समिति, उपसमितिहरु बनाउन व्यस्त रहेका गुप्ताले आफूले चुनाव जितेमा नेपालगन्जवासीको शीर झुक्न नदिने उद्घोष गरे । तपाईलाई नेपालगन्जवासीले भोट किन दिने ? व्याचलर गरेका गुप्ताले प्रतिबद्धनाहरु सुनाए, ‘नेपालगन्जलाई औद्योगिक शहर बनाउँछु । ६ कक्षादेखि माथिसम्म छात्रालाई पढ्न छात्राबाससहितको कलेज स्थापना गर्छु । उर्दु र अवधि भाषाको विकास गर्छु । नेपालगञ्जमा विश्वविद्यालय, क्षेत्रीय विमानस्थल, शुद्ध खानेपानी, शौचालय र सरसफाईमा विशेष जोड दिन्छु । कृषिमा आधुनिकीकरण गरेर बजारीकरण गर्छु । नेपालगन्जलाई पर्यटनको प्रवेशद्वारको रुपमा विकास गर्छु ।’ अरुको कुरा काटेर समय खेर फाल्नुभन्दा आफूले नयाँ केही गर्न उत्साहित हुनु पर्ने कुरामा जोड दिने गुप्ताले चुनावमा पनि कसैलाई गाली गरेर नहिड्ने धारणा राखे । ‘उहाँहरु आफ्नो कुरा राख्नु हुन्छ । म आफ्नो कुरा राख्छु । जनताले जसलाई मन पराउँछन्, उसलाई नै मत दिएर जिताउँछन्, सकारात्मक सोचका गुप्ताले भने ।
नेपालगन्ज उपमहानगरपालिकाको २३ मध्ये १४ वटा क्षेत्र नं. २ को प्रदेश ख मा पर्छन् । घर र कर्मथलो नै बजारमा रहेका गुप्ताको चुनावी क्षेत्र पनि बजार नै परेकाले अलि सहज रुपमा लिइएको छ । धम्बोझीमा सचिवालय खोलेर चुनावी अभियानमा होमिएका गुप्ताको २७ गतेदेखि घरदैलो रहेको छ । सचिवालयले मंसीर १० गतेसम्मको घरदैलो कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । मुस्लिम, मधेसी र पहाडी समुदायको बसोबास रहेको नेपालगन्ज बजारमा सबै धर्मलाई सम्मान गर्ने र सामाजिक, धार्मिक सद्भाव कायम राख्न विभिन्न समितिहरुमा बसेका गुप्ताको छुट्टै पहिचान रहेको जानकारहरु बताउँछन् । गुप्ताको नेपाली कांग्रेसका सुरेन्द्र हमालसँग मुख्य रुपमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बाम गठबन्धनबाट गुप्ता र राप्रपासँगको गठबन्धनमा हमाल चुनावी मैदानमा छन् । त्यसो त संघीय समाजवादी फोरम र राजपाको मतलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
।