सूचनाको शक्ति - The Power Of Information

        

मान्द्रेको जगमा चारतारे होटल बनाउँदै लक्ष्मण


कृष्ण अधिकारी/बाँके । २० वर्षअघि २४ वर्षका एक युवाले एउटा सानो खाजा पसल खोले । त्यो खाजा पसलले आज विशाल कर्पाेरेट रुप लिएको छ सिद्धार्थ हस्पिटालिटी ग्रुपको नाममा । एकहजार जनालाई प्रत्यक्ष रोजगार दिएको छ । दर्जनौं ठाउँमा होटल चलाएको छ । करोडौं रुपैयाँको कारोबार गर्छ । यो सफलताको राज के हो ? यो सफलताको राज वर्णन गर्नु अघि ती कर्मयोगीकै नाम लेखौं, उनको नाम हो लक्ष्मण न्यौपाने ।
मानिसको जीवनगाथा जन्मनासाथ सुरु हुन्छ तर कर्मगाथा भने कुन उमेरमा सुरु हुन्छ भन्न सकिन्न । लक्ष्मणको कर्मगाथा १४ वर्षको उमेरमा सुरु भयो, त्यो किशोर उमेरमा उनी रोजगारका लागि भारत पसे । विद्यालय तह मात्र पढेका लक्ष्मणले होटलहरुमा काम गरे । विभिन्न सहर चाहारे । १० वर्षपछि उनी नेपाल फर्किए । १० वर्ष भारतका विभिन्न सहरमा काम गर्दा लक्ष्मणले कति कमाए होलान् ? रकमकै दृष्टिले भन्ने हो भने उनले केही कमाएका थिएनन् । तर, उनले पैसाभन्दा ठूलो चिज कमाए । त्यो चिज थियो अनुभव, आत्मविश्वाश र रचनात्मक दृष्टिकोण ।

मान्द्रोको त्यान्द्रो

नेपाल फर्कंदा लक्ष्मणसँग थियो आशाको त्यान्द्रो । त्यो आशाको त्यान्द्रोमा उनले जोडे मान्द्रोको त्यान्द्रो । उनले खाजा पसल अर्थात् एउटा सानो होटल सुरु गर्ने विचार गरे । तर, कहाँ खोल्ने ? उनले पश्चिम नेपालका एक दर्जन ठाउँ चाहारे । त्यसपछि उनको मन अडियो कैलालीको टिकापुरमा । करिब ५० हजार रुपैयाँको लगानीमा २०५३ साल माघ २३ गते खाजाघर खोले । खाजाघर अनौठो थियो । मान्द्रोले बारेर बनाइएको सानो कटेजमा थियो खाजा घर । हेर्दै अनौठो र मौलिक पनि थियो । चिया, चाउमिन, समोसा र मम बेच्न थाले । मान्द्रोले बनेको अनौठो खाजा पसलमा ग्राहक स्वत आकर्षित भए । साजसज्जाले मात्र व्यवसाय चल्दैन, यसका लागि खानेकुरा पनि गुणस्तरीय हुनपर्छ । उनको खाजाघरको खानाको स्वादले ग्राहकको मन जित्न थाल्यो । ग्राहकको मन जितेपछि के हुन्छ ? धन आउँछ ।

लक्ष्मण न्यौपाने

धन बढेपछि लक्ष्मणले नयाँ योजना बनाए । खाजा घरलाई आवासीय होटल बनाउने । उनले धेरैजनासँग सल्लाह गरेर, निकै सोंचविचार गरेर नाम राखे, सिद्धार्थ । खाजाघरको सफलताको जगमा बनेको होटल पनि चल्यो । सफलताको यो सुरुआत मात्र थियो । त्यसपछि उनले शाखा विस्तार गरे । शाखा विस्तारको गन्तव्य थियो पश्चिमको सबैभन्दा ठूलो सहर नेपालगन्ज । यो २० वर्षको अवधिमा काठमाडौंसहित देशका विभिन्न भागमा सिद्धार्थका १९ वटा शाखा खुलिसकेका छन् । टिकापुरको सिद्धार्थको लोकप्रियताको जगमा विस्तारित शाखा होटलहरुको नाम पनि सिद्धार्थ नै राखे । अहिले सिद्धार्थ बिजनेस गु्रप अफ अस्पिटालिटीले यी सबै शाखाको व्यवस्थापन हेर्छ र यसका अध्यक्ष छन् लक्ष्मण न्यौपाने । मान्द्रोले उनको प्रारम्भिक सफलतामा कति भूमिका खेलेको होला ? यसको निकर््यौल गर्ने जिम्मा तपाईं पाठकहरुकै ।

अब कता ?

टिकापुरको त्यो सानो खाजा घरका लक्ष्मणको समूहले अहिले नेपालगन्जमा ७० करोड रुपैयाँको लागतमा चारतारे होटल बनाइरहेको छ । पहिलो यो होटल ७० कोठाको थियो, अहिले एकसय २५ कोठाको बनिरहेछ । प्रख्यात पर्यटकीय क्षेत्र रारामा रिसोर्ट खोल्ने तरखरमा छ । जुम्लामा जग्गा किनेर एप्पल गार्डेन रिसोर्टको काम अगाडि बढाइसकेको छ । टीकापुर, कर्णाली चिसापानी, सुर्खेत, नेपालगन्ज, बुटबल, तुम्लिङटार र काठमान्डौमा गरी सिद्धार्थका १९ वटा शाखाबाट वार्षिक ७० करोड रुपैयाँभन्दा धेरैको कारोबार हुन्छ । यहि अनुपातमा सरकारलाई कर पनि तिर्दै आएको छ । एक हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने हजारौंले अप्रत्यक्ष रोजगार पाएका छन् । नेपालकै अग्रणी हस्पिटालिटी बिजनेश गु्रपका रुपमा तिब्र गतिमा सिद्धार्थ अगाडि बढीरहेको छ जसका सारथी लक्ष्मण हुन् । सफलताको गन्तव्य अब कता ? लक्ष्मण भन्छन्, ‘निरन्तर अघि बढिरहने हो, कर्म गरिरहने हो ।’

सूत्र के हो ?

हरेक सफल मानिस या व्यवसायको सफलताका केही खास सूत्र हुन्छन् । लक्ष्मण तथा सिद्धार्थको सफलताको सूत्र के हो ? आफ्नो सफलताका केही सूत्र लक्ष्मणले हामीसँग खोलेका छन् । उनी भन्छन्, ‘सफल बन्न कामदार होइन साझेदार खोज्नुस् ।’ उनको अर्काे सूत्र हो, ‘कामदारलाई साझेदार बनाइदिनुस् ।’ लक्ष्मणको अर्काे सूत्र झन गजबको छ, आफू मात्र धनी नबन्नुस्, आफ्नो वरिपरिका सबैलाई सहयोग गर्नुस् । यो सूत्र अनुसार उनका धेरै आफन्त सिद्धार्थ ग्रुपमा आवद्ध छन् । भाई, बहिनी, ज्वाईं, भतिज, भान्जाभान्जी मात्र होइन पूराना कर्मचारीहरु पनि शेयर होल्डर बनेका छन् । सिद्धार्थ ग्रुपमा २५ जना त उनका पारिवारिक सदस्यहरु मात्र छन् । आफैले मात्र कमाउन खोजेको भए टिकापुरमै सीमित हुन्थें भन्छन् लक्ष्मण । उनको सफलताको अर्काे सूत्र हो, ग्राहकको सन्तुष्टि । ग्राहक सन्तुष्ट बनाउने सूत्र सबैले अपनाउँछन् तर लक्ष्मणले चाहिँ कसरी अपनाए त ?
उनी भन्छन्, ‘ग्राहक सन्तुष्ट बनाउने एकमात्र सूत्र गुणस्तर र विश्वशनीयता हो । यसका लागि हामीले होटल तथा रेष्टुराँमा पारिवारिक बातावरण दियौं ।’ यतिले मात्र व्यवसाय सफल हुँदैन भन्छन् लक्ष्मण । उनका अनुसार सफल बन्न कर्मचारीहरु पनि दक्ष हुनुपर्छ, कर्मचारीलाई लगनशील भएर क्षमता अनुसारको काम गर्ने मौका दिनुपर्छ । लक्ष्मणको सफलताको अर्काे टिप्स निकै महत्वपूर्ण लाग्छ । उनका अनुसार लगानीले मात्र व्यवसाय सफल हुँदैन, श्रम र सीप पनि चाहिन्छ । चौथो सूत्र, लगानीले मात्र व्यवसाय सफल हुँदैन श्रम, र सीप पनि चाहिन्छ भन्ने लक्ष्मणको सूत्रमा अर्काे एउटा सूत्र थप्न सकिन्छ, त्यो सूत्र हो, सपना । सफलताका लागि सपना चाहिन्छ अनि त्यो सपनालाई विपनामा रुपान्तरण गर्न जोश, जाँगर र अठोट चाहिन्छ । लक्ष्मणलाई हेरेर रचना गरिएको यो चौथो सूत्र तपाईंलाई कस्तो लाग्यो ? हाम्रोकथाबाट

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार ०२:३९