लक्ष्मी गौतम/पाँचथर । मेरो नाम तुलसीमाया आङदेम्बे हो । म ७५ बर्षकी भएँ । मैले ६ दशक अघि २०१५ सालमा एसएलसी पास गरेकी हूँ । त्यो जमानामा मैले कसरी पढें भन्ने कथा भन्छु । मेरो जन्म तेह्रथुमको सदरमुकाम म्याङलुङमा २००१ साल असोजमा भएको हो । बुवा सुबेदार हुनुहुन्थ्यो । मेरो परिवारले त्यो जमानामा पनि शिक्षाको महत्व बुझेको थियो । मलाई बुवाले घरमै बाह्रखरी पढाउनुभयो । सात वर्षकै उमेरमा म मजासँग लेखपढ गर्न जान्ने भइसकेकी थिएँ । त्यो जमानाको कुरा खोई के भनुँ ? तपाईं युवा पुस्तालाई काल्पनिक कथा जस्तो लाग्ला । त्यस समयमा क्षेत्रीबाहुनका छोरा मात्र सस्कृत पढ्न गुरुकुल जान्थे । अरु जातिका मानिसले पढ्नेलेख्ने खासै चलन थिएन । हामी राईलिम्बू समुदायमा त स्कूल जाने चलन थिएन भने पनि हुन्छ ।
त्यस्तो जमानामा म छोरीलाई बुवाले स्कूल भर्ना गरिदिनुभयो । स्कूल भर्ना हुँदा सात बर्षकी थिएँ । बुवाले स्कूल लगेर एक कक्षामा भर्ना गरिदिनुभएको दिन आज पनि झल्झली सम्झन्छु । स्कूल जानु पहिले नै मैले लेखपढ गर्न जानिसकेकी हुनाले कक्षामा अरु विद्यार्थीभन्दा धेरै नै जान्ने थिएँ । एक कक्षामा फष्ट भएँ, त्यसपछि दुई कक्षा नपढी एकैपटक तीन कक्षामा भर्ना भएँ । पछि ठूलो कक्षामा पनि फस्ट सकेण्ड हुन्थें । त्यस समयमा गाँउ घरमा छोरी बुहारीलाई पढाउन हुँदैन भन्ने अन्धविश्वास थियो । त्यस्तो अन्धविश्वाशको जमानामा मैले मजासँग स्कूल पढें । २०१५ सालमा त प्रवेशिका (एसएलसी) नै उतिर्ण गरें । त्यसबेला हामी कसरी लेख्थ्यौं भन्ने सुन्दा अहिलेको युवा पुस्ता छक्कै पर्छन् । अहिलेजस्तो कापी कलम जहाँतहिँ किन्न पाइन्नथ्यो । किन्न गाह्रो थियो । कलम किनेर मात्र हुँदैनथ्यो, मसी पनि किन्नुपथर््यो । त्यसैले हामी बाँसको कलम बनाएर रातो माटोको मसी बनाएर लेख्थ्यौं । मैले स्कूलको कोर्षसँगै हाम्रो लिम्बू भाषाको सिरिजंगा लिपी पनि लेख्न जानेकी थिँए ।
प्रवेशिका पास गरेपछि कलेज पढ्ने मौका पाइएन । त्यसबेला तेह्रथुम पाँचथरमा कलेज थिएन । प्रवेशिका पास गरेपछि मेरो पढाई सकियो । त्यसपछि काम गर्न थालें । मालपोत कार्यालय र जिल्ला अदालतमा आवश्यक पर्ने निवेदन र तमसुक लेख्ने काम गर्न थालें । त्यसरी तमसुक लेख्नेलाई पाखे बहिदार भनिन्थ्यो । त्यो बेला एउटा तमसुक अथवा घरजग्गा रजिष्टे«सनको कागज लेखेको पारिश्रमक चारआना (पच्चीस पैसा) थियो । तर, मैले आफ्ना ग्राहकबाट दुई आना मात्रै लिने गरेकी थिएँ । पाँचथरको फिदिममा घरजग्गा कारोबार गर्ने अड्डा नभएकाले पाँचथरका मानिसहरु अड्डाको काम गर्न म्याङलुङ नै जानुपथर््यो । त्यसक्रममा मेरो चिनजान पाँचथर आङसराङका अग्नीप्रसाद रिजालसँग भयो । उहाँ शिक्षित हुनुहुन्थ्यो । एकदिन उहाँले यस्तो पढेलेखेकी मान्छे त हाम्रो गाँउमा चाहिन्छ भन्नुभयो । हाम्रो गाउँमा बिहे गर्ने हो भन्दै जिस्काउनुभयो । जिस्केको मात्रै होला भन्ने ठान्थें तर उहाँले साँच्चै भन्नुभएको रहेछ । एकदिन एकजना केटा लिएर मेरो घरमा मगनी गर्न आउनुभयो । उनी आङसराङका बडा हाकिम हर्कबहादुरको छोरा भिमप्रसाद आङदेम्बे थिए ।
भिमप्रसाद एसएलसी पढेर क्याम्पस पढ्दै थिए । त्यस्तो पढेलेखेको केटा पाउन गाह्रो थियो । त्यसैले मेरो बुवाले बिहेको कुरा छिनिदिनुभयो । बिहे गरेर आङसराङ गएँ । आङसराङ गएपछि म माथि बज्रपात भयो । क्याम्पस पढ्दै गरेको भनिएका मेरा पति निरक्षर रहेछन् । लेख्न त परै जाओस्, राम्रोसँग बोल्न पनि आउँदैन रहेछ । बिहे गरेर घर आएपछि ससुराले आफ्नो छोरालाई पढ्न लेख्न आउँदैन भन्दा म छाँगाबाट खसेजस्तो भएकी थिएँ । बिहे गरेर आएपछि गाँउघरमा पनि तमसुक लेख्ने काम गर्न थालें । श्रीमान सोझो तर जुवातास खेल्नुहुन्थ्यो । मैले गाँउघरका मानिसका लागि तमसुक लेखिदिएको उहाँलाई मन पर्दैनथ्यो । बिहे गरेको दुई बर्ष नबित्दै भारपा गाँउकी केटीलाई कान्छी बनाएर भित्राउनुभयो । अहिले ती सबै पीडा झलझली सम्झन्छु । त्यो सम्झँदा लव म्यारिज नै राम्रो जस्तो लाग्छ । मागी बिहेमा त्यस्तै हिंसा व्यहोर्नु पर्छ । त्यसैले युवा पुस्तालाई राम्ररी जोडी छानेर लव म्यारिज गर्न सुझाव दिन्छु ।
कान्छी आइन् तर गाँउघरकाले सौतामा बस्नु राम्रो होइन भनेर सम्झाए । गाउँलेले सम्झाएपछि उनी घर फर्किइन । त्यसपछि पनि मलाई उहाँले तँ जस्ता पढेलेखेका आइमाईले काम दिँदैन, अर्की ल्याउछु भन्नु हुन्थ्यो । माइतीबाट आउँदा सुन चाँदीका थुप्रै गहना लगाएकी थिएँ । ती गहना उहाँले तास जुवामा हार्नुभएछ । माइत गएपिच्छे म केहि न केहि नयाँ गहना लगाएर आउँथें, उहाँले ती गहना पनि जुवामा हार्नुभयो । हेर्नुस्, यो तासजुवा भन्ने चिज असाध्यै नराम्रो हो, आफ्नै श्रीमतीको गहना पनि लुट्न लगाउँछ यो तासजुवाले । त्यसैले तासजुवा खेल्न हुँदैन बाबु । सरकारले यो तासजुवालाई प्रतिवन्ध लगाउनुपर्छ । दुखसुखकै बीच मेरा दुईजना छोरा जन्मे । अहिले एकजना छोरा काठमाण्डौ र अर्काे छोरा दुबईमा वस्छ । म नातानातिनीसँग घरैमा बस्छु । म महागुरु तथा राष्ट्रिय विभुती फाल्गुनन्दको अनुयायी हूँ । सत्यहाङमा धर्म मान्छु र यो धर्मको प्रचारक पनि हूँ । मलाई अझै पनि सांसद बनेर देश र जनताको सेवा गर्न मन छ । हेर्नुस् बाबु, म भ्रष्टाचार गर्दिन, कसैको कुभलो गर्दिन । म जस्तो इमानदार मानिसले हो सांसद बन्ने । यो पालि प्रत्यक्षमा उम्मेदवार बन्ने समय गइसक्यो, अर्काे पालि चाहिँ प्रत्यक्षमा उम्मेदवार बनेर सांसद बन्ने र देश र जनताको सेवा गर्ने धोको छ । (लक्ष्मी गौतमसँगको कुराकानीमा आधारित )
।