सूचनाको शक्ति - The Power Of Information

        

कैलाली ५ मा राणा कि राना ?


धनगढी । चार वर्षअघि संविधानसभाको दोस्रो निर्वाचनमा कैलालीमा शेरबहादुर देउवाको चर्चा बढी थियो, अहिले आरजु राणाले फेरि यहाँको चुनावी माहोल तताएकी छिन् । नेपाली कांग्रेसका सभापति देउवाले चुनाव जितेको क्षेत्रमा पत्नी आरजु राणा उम्मेदवार भएपछि राष्ट्रिय चर्चामा रहेका क्षेत्रहरूको सूचीमा कैलाली पनि थपिएको छ । देउवा त्यतिबेलाको क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । कैलाली र डडेलधुरा गरी दुई ठाउँबाट निर्वाचित भएका देउवाले कैलाली छोडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका थिए । पहिले ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा अहिले ५ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
देउवाले चुनाव जितेको क्षेत्र अहिले ५ नम्बरमा परेको छ । त्यही क्षेत्रबाट देउवा पत्नी आरजु प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमिएकी छिन् । देउवाले जित्दै आएको क्षेत्रमा पत्नी आरजु उम्मेदवार भएपछि चियापसल, बजार क्षेत्र र चोक चोकमा चुनावी विश्लेषण, चर्चा परिचर्चा भइरहेको छ । कांग्रेसले आरजुलाई उतारेको क्षेत्रमा वाम गठबन्धनले एमालेका नारदमुनि राना थारुलाई मैदानमा उतारेको छ । कांग्रेस र वाम गठबन्धनले चुनावी प्रचारप्रसारलाई तिब्र बनाएका छन् । दोस्रो संविधानसभा निर्वाचनको परिणाम हेर्ने हो भने कैलाली क्षेत्र नम्बर ५ कांग्रेसको बाहुल्यता रहेको क्षेत्र हो । त्यसैले पनि आरजु त्यहीँबाट प्रत्यक्ष उम्मेदवार बनेकी हुन् । कांग्रेस बलियो प्रभाव रहेको क्षेत्र भएकै कारण चुनाव जित्न सहज हुने निष्कर्षमा पुगेर आरजुले यो क्षेत्र रोजेकी हुन् । कैलाली ५ नै किन रोजेको भन्ने प्रश्नमा आरजुले केही दिनअघि भनेकी थिइन्, ‘यो क्षेत्रसँग मेरो पहिलेदेखि विशेष सम्बन्ध छ । त्यसैले यही क्षेत्रबाट उम्मेदवारी दिएकी हुँ ।’
उनले कैलाली क्षेत्र नम्बर ५ को मात्रै नभएर समग्र सुदूरपश्चिमकै विकास र समृद्धिका लागि आफू प्रत्यक्ष चुनाव लड्न कैलाली आएको बताएकी छिन् । वाम गठबन्धनका उम्मेदवार एमालेका नेता नारदमुनि राना थारु पनि त्यति कमजोर उम्मेदवार होइनन् । २०५४ मा धनगढी नगरपालिकाको उपमेयरको चुनाव जितेका राना २०६४ मा समानुपातिक सांसद बनेका थिए । कैलाली क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिका पनि पर्छ, जहाँ थारु समुदायको बाहुल्यता छ, जुन भोट तान्न काठमाडौंबाट आएकी आरजु राणलाई भन्दा स्थानीय नारदमुनि राना थारु लाई सहज हुने ठानिएको छ । समग्रमा कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । स्थानीय निर्वाचन परिणाम अनुसार वाम गठबन्धनमा सहभागी एमाले र माओवादी केन्द्रको मत जोड्ने हो भने कांग्रेससँग हाराहारी नै हुन्छ । त्यसैले आरजु र नारदमुनिबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
कैलाली क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका २ वटा वडा पर्छन् । झण्डै ९२ हजार मतदाता रहेको यो क्षेत्रमा थारु समुदायको मत झण्डै ३० हजारको हाराहारीमा छ । सुकुम्बासी र मुक्त कमैयाको समेत बसोबास रहेको यो क्षेत्रमा वाम गठबन्धनका नारदमुनिले आफ्नो समुदायको मत धेरै तान्ने अवस्थामा उनीसँग आरजुको कडा टक्कर पर्नेछ । नारदमुनिले आफू लामो समयदेखि जनताको सेवामा रहँदै आएकाले चुनाव जित्ने दावी गरेका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा थारु मतदाताको संख्या धेरै छ, फेरि मलाई माओवादी केन्द्रको मत पनि आउँछ । त्यसो हुँदा मैले चुनाव जित्नेमा आशंका छैन । दोस्रो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ मा देउवाले १६ हजार ४८९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ८ हजार ५६३ मत पाएका थिए । माओवादी केन्द्रका लीला भण्डारीले ४ हजार ४५२ मत पाएकी थिइन् । देउवा झण्डै ५ हजार मत बढी ल्याएर विजयी भएका थिए । त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा भारी मतान्तरले विजयी भएका थिए ।
तर, स्थानीय तहको मतपरिणाम हेर्ने हो भने वाम गठबन्धनको मत कांग्रेसको भन्दा बढी छ । कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीमा कांग्रेसका नृप ओड मेयरमा निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १२ वटा वडा कांग्रेस, ५ वटा माओवादी र २ वटा वडा एमालले जितेको थियो । कांग्रेसले स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा १७ हजार ६४४ मत पाएको थियो । एमालेले झण्डै १२ हजार र माओवादी केन्द्रले ११ हजार मत पाएको थियो । माओवादी केन्द्र र एमालेले स्थानीय तहमा पाएको मत जोड्ने हो भने कांग्रेस वाम गठबन्धनभन्दा झण्डै ५ हजार मतले पछि छ । प्रतिनिधिसभा निर्वाचनका लागि स्थानीय तहमा दलले पाएको मत एउटा आधार त हो तर यो नै मुख्य आधार भने होइन । उम्मेदवार र नयाँ राजनीतिक समिकरणले गर्दा स्थानीय निर्वाचनको मतान्तरमा धेरै हेरफेर आउन सक्छ । त्यसैले कैलाली ५ मा आरजु र नारदमुनिमध्ये कसले बाजी मार्छ भन्ने प्रष्ट तस्बिर आएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०७:४६