सूचनाको शक्ति - The Power Of Information

        

पेरिस जलवायु सम्झौता : सिरिया भित्रिँदै, अमेरिका एक्लिँदै


काठमाडौँ । सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने भएको छ । यसअघि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिर रहँदै आएको सिरियाले सामेल हुने निर्णय गरेसँगै अब यो सम्झौताबाट बाहिर अमेरिकामा मात्रै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा जलवायु परिवर्तन हावादारी कुरा रहेको भन्दै आफ्नो देश यो सम्झौताबाट बाहिने घोषणा गर्नुभएको थियो । सिरिया सम्झौतामा सामेल भएपछि अमेरिका मात्रै एउटा त्यस्तो देश हो जसले पेरिस जलवायु सम्झौताको विरोध गरेको छ ।
पेरिस सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सम्झौता हो । यो सम्झौता अनुसार विश्वभरका देश जलवायु परिवर्तन कम गर्नका लागि एकताबद्ध भएका छन् । सन् २०१५ मा पेरिसमा यो सम्झौता हुँदा सिरिया र निकारागुआ मात्रै यसबाट बाहिर थिए । त्यसबेला अमेरिका बाराक ओबामाको प्रशासनमा थियो र सम्झौतामा राजी भएको थियो । गएको अक्टोबरमा निकारागुआ पनि सम्झौतामा सामेल भएपछि अमेरिका र सिरिया यसबाट बाहिर थिए ।
अमेरिकाले गएको जुनमा सम्झौतबाट बाहिर निस्कने घोषणा गरेको भएपनि सम्झौताको नियम अनुसार अमेरिका सन् २०२० मा मात्रै यो सम्झौताबाट बाहिरिन पाउँछ । यो सम्झौताले अमेरिकालाई दण्डित गर्ने भन्दै राष्ट्रपति ट्रम्पले बाहिरिने घोषणा गर्नुभएको थियो । सम्झौताले लाखौंको राजगारी बन्द हुने र अमेरिकी अर्थव्यवस्थामा नोक्सान पुग्ने उहाँको भनाई छ । यो सम्झौताले चीन तथा भारत जस्ता देशलाई फाइदा र्पुयाउने उहाँको आरोप रहेको छ । यो सम्झौता अनुसार विश्वको तापक्रम बृद्धी दुई डिग्री सेल्सियस भन्दा कम र सकेसम्म १.५ डिग्री भन्दा माथि जान नदिन प्रयास गरिने छ । यस्तै कार्बन उत्सर्जन बढी गर्ने देशले विकासशील तथा कार्बन उत्सर्जन कम गर्ने देशलाई आर्थिक सहयोग गर्नु पर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०७:३३