सूचनाको शक्ति - The Power Of Information

        

कान्छो जिल्लामा निर्वाचन सुरक्षाका लागि खटियो सेना


कृष्ण अधिकारी/रुकुमकोट । कान्छो जिल्लाका रुपमा रहेको पूर्वी रुकुममा निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको छ। नेपाली सेनाका सेनानी विकास अधिकारीको कमान्डमा खटिएको सेनाको टोली पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट पुगेको छ । रोल्पाबाट नेपाली सेनाको खड्क दलको एउटा गुल्म हेलिकोप्टरबाट बन्दोबस्तीका सामग्रीसहित रुकुमकोट पुगेको हो ।
रुकुमकोटमै ब्यारेक स्थापना गरेर सेनाको टोलीले निर्वाचनसँगै जिल्लाको शान्ति सुरक्षामा समेत सहयोग पुर्याउनेछ । पूर्वी रुकुममा पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुँदैछ । प्रनिनिधिसभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी रुकुममा ३१ मतदान स्थल र ४२ मतदान केन्द्र छन् । ती मध्ये १७ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले बताए ।
राज्यको पुनःसंरचनाका क्रममा रुकुम जिल्लालाई पूर्वी रुकुम र पश्चिम जिल्ला गरी दुई वटा बनाइएको हो । पश्चिम रुकुममा भने दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुनेछ । नयाँ जिल्ला बनेसँगै जिल्ला प्रशासन, जिल्ला प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको ब्यारेकसहित ७ वटा सरकारी कार्यालय स्थापना गरेर जनतालाई सरकारले प्रदान गर्ने सेवा र सुविधा सहज रुपमा उपलब्ध गराउन सुरु गरिएको पूर्वी रुकुमका प्रजिअ सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०६:५१