सूचनाको शक्ति - The Power Of Information

        

देशभर १३ लाख ७० हजार मतदाता थपिए


काठमाडौं । स्थानीय तहको निर्वाचनपछि १३ लाख मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या १ करोड ४० लाख ५४ हजार ४८२ थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ५ गतेसम्म मतदाता नामावली अध्यावधि गर्दा १३ लाख ७० हजार २४९ मतदाता थप भएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ५४ लाख २४ हजार ७३१ कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन् । मोरङमा स्थानीय तहमा ५ लाख ५३ हजार ८७० मतदाता रहेका थिए । प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ८० हजार ९१५ मतदाता थपिएका छन् । मोरङमा मतदाताको संख्या ६ लाख ४४ हजार ७८५ कायम भएको छ । सबैभन्दा कम मतदाता मुस्ताङमा थपिएका छन् । स्थानीय तहको निर्वाचनका लागि नामावली अध्यावधिक गर्दा मुस्ताङमा ८ हजार २६३ मतदाता थिए । त्यसमा १ हजार १६४ मतदाता थप भई मुस्ताङमा मतदाताको संख्या ९ हजार ४२७ पुगेको छ । सरकारले भदौ ५ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको थियो । मतदाता नामावली ऐन ०७३ को प्रावधान अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली अद्यावधिक गर्न पाइँदैन ।
स्वीकृत भएको मतदाता नामावली अनुसार, प्रदेश १ मा सबैभन्दा बढी २९ लाख ९३ हजार ६६९ मतदाता छन् । प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ मतदाता छन् । प्रदेश ६ मा सबैभन्दा कम ८ लाख ४६ हजार ९३३ छन् । प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । जिल्लागत हिसाबमा सबैभन्दा बढी मतदाता मोरङमा छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ६ लाख ४४ हजार ७८५ मतदाता छन् । मनाङमा सबैभन्दा कम ५ हजार ८८० मतदाता छन् । यसअघि स्थानीय चुनावको आधारमा मत विश्लेषण गरिँदै आए पनि यो संख्याले आसन्न निर्वाचनको नतिजामा फरक पार्ने देखिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०५:५३