सूचनाको शक्ति - The Power Of Information

        

भारतीय खुर्सानीको एकाधिकार तोड्दै स्वदेशी खुर्सानी


भगतराम थारु/बाँके । भारतीय खुर्सानीको एकाधिकार रहेको नेपालगन्ज र कोहलपुरमा अहिले प्रयाप्त रुपमा नेपालका पहाडी जिल्लाको खुर्सानी खपत हुन थालेको छ । खुर्सानीका लागि भारतीय उत्पादनमा भर पर्दै आएका खुद्रा तथा फुटकर तरकारी व्यापारीहरुले अहिले मध्य र सुदुरका पहाडी जिल्लाबाट खुर्सानी ल्याउने गरेका हुन् । कोहलपुर र नेपालगन्जमा अहिले बैतडी, सुर्खेत, सल्यान, रोल्पा, दैलेखबाट खुर्सानी आउने गरेको छ । अहिले भारतीय खुर्सानी आउने र ल्याउने क्रम न्यून भएको कोहलपुरका फुटकर तरकारी व्यापारी जगदिशप्रसाद गुप्ताले बताए ।
भारतीय खुर्सानी विस्थापित हुँदै गएको बताउदै उनले ११० देखि १२० रुपैँया प्रतिकिलो हरियो खुर्सानी पहाडी जिल्लाबाट आयात हुने गरेको जनाए । अहिले बजारमा सुकेको खुर्सानी किलोको २५० रुपैँया रहेको छ । बजारमा पहाडी जिल्लाबाट ल्याएको खुर्सानी प्रशस्त आउने गरेको छ । हरियो, ताजा, आगर्निक खुर्सानी आउने गरेको छ । तरकारी व्यवसायीका अनुसार भारतीय खुर्सानीमा किरा लाग्ने, कुहिने, ठेला र टुपा कुहिने, कालो दाग लाग्ने समस्या धेरै छ । तर स्वदेशी खुर्सानीमा त्यस्तो समस्या खासै देखिँदैन । असोजदेखि जेठसम्म बजारमा स्वदेशी बजारको खुर्सानी अत्याधिक हुने गरेको कोहलपुर तरकारी तथा फलफुल थोक बजारमा अध्यक्ष छविलाल भट्टराईले बताए ।
‘हरेक वर्ष कोहलपुरमा मात्र पहाडी जिल्लाबाट करोड मूल्यको खुर्सानी आउने गरेको छ । बाँकेमा खासै उत्पादन हुँदैन,’ उनले भने, ‘पहाडी जिल्लाबाटै दैनिक व्यवसायीले ल्याउँछन् ।’ भारतीय भन्दा नेपाली खुर्सानीको स्वाद फरक हुने उनी बताउँछन् । अहिले उपभोक्ता पनि स्वदेशी खुर्सानी खोज्ने गरेको व्यवसायी बताउँछन् । भारतीय खुर्सानीभन्दा केही महंगो भए पनि स्वदेशी खुर्सानीको अहिले बजार विस्तार भइरहेको छ । असारदेखि असोजसम्म स्वदेशी खुर्सानी बजारमा कम हुने भए पनि असोज अन्तिमदेखि असारसम्म बजार माग पुग्ने गर्छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार ०९:०५