सूचनाको शक्ति - The Power Of Information

        

हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन सर्भे

बाँके । नियमित ७ वर्ष हात्तीपाइले बिरुद्धको औषधि खुवाईएको बाँकेमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउनको लागि ‘प्रि ट्रान्समिसन एसिस्मेन्ट सर्वे’ सुरु गरिएको छ । पाँच चरण हात्तीपाइले बिरुद्धको औषधि खुवाई सकेपछि पुनः दुई चरण औषधि खुवाई अवस्था बुझ्नको लागि सर्वे सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘सात वर्ष अघि बाँकेमा हात्तिपाईले रोगको अवस्था २१ प्रतिशत रहेकोमा गत वर्ष सञ्चालन गरिएको हात्तिपाईले रोग सर्ने दर परिक्षण (‘प्रि ट्रान्समिसन एसिस्मेन्ट सर्वे’) गर्दा १६ प्रतिशतमा झरेको र यो वर्ष अझ कम हुने कुरामा विश्वस्त रहेका छौ ।’
उनले विभिन्न समुदायको बसोबास रहेको बाँकेमा कार्यक्रम सञ्चालनमा केही चुनौती थपिएको भए पछि नतिजा सत प्रतिशत निकाल्नको लागि समस्या भएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका सो कार्यक्रम हेर्दै आएकी स्वास्थ्यकर्मी दुर्गा गौतमले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.४, कोहलपुर नगरपालिकाको रझेना र राप्तीसोनारी गाउपालिकाको बैजापुरमा हात्तिपाईले रोग सर्ने दरको अवस्था बुझ्नको लागि एक–एक दिने शिविर नै सञ्चालन गर्दै प्रत्येक ठाँउबाट ३–३ सय जनामा चेकजाँच सुरु गरेको जानकारी दिइन् । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.४ मा सञ्चालन गरिएको शिविरमा ३ सयको रगत परिक्षण गर्दा १७ जनामा हात्तिपाईलेको जिवाणु भेटिएको छ ।
उनले भनिन्, ‘नेपालगन्जको ४ नं. वडाका ३ सय जनामा परिक्षण गर्दा १७ जनामा पोजेटिभ रिजल्ट आयो । १७ जनालाई पुनः औषधि खुवाइएको छ ।’ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खड्का वडा नं.४ का वडा अध्यक्ष सफिक नद्दाफले रत्तपरिक्षण गराउदै कार्यक्रमको उद्दघाटन समेत गरेका थिए । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जनचेतना र अज्ञानताको कारण नेपालगन्जमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानलाई सबैको सहयोगले सफल बनाउँदै हात्तीपाइलेको जीवाणुरहित बनाउन अपिल गरिन् । सो अभियान कोहलपुरको रझेनामा र राप्ती सोनारीको बैजापुर क्षेत्रमा पनि सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार ०८:१५