सूचनाको शक्ति - The Power Of Information

        

पार्टी एकीकरणको दिशामा अघि बढिसक्यौँ : महरा


बाँके । नेकपा माओवादी केन्द्रका नेता एवं मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धनका कारण नेपाली काँग्रेस अतालिएको बताएका छन् । उनले नेकपा एमाले तथा नेकपा माओवदी केन्द्रका नेता कार्यकर्तालाई निर्वाचनमा कटिबद्ध भएर लाग्न निर्देशन दिँदै निर्वाचन भाँड्नका लागि केही शक्ति केन्द्रहरु लागिपरेको बताएका छन् ।
नेपालगन्जमा संयुक्त बामगठबन्धन निर्वाचन परिचालन समितिले आज आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मजबुत पार्टी एकताका लागि जनताहरु अघि बढिसकेकाले आन्तरिक एकता कायम गरी अघि बढ्नुको विकल्प छैन ।’ मन्त्री महराले बैदेशिक एकताले देशको विकास नहुने भन्दै एकताको प्रयास अहिले तत्काल भएजस्तो देखिए पनि एकताका प्रयासहरु एकदशक अघिदेखि नै भइरहेको बताए ।
उनले भने, ‘हामी आत्तरिक एकता कायम गरी अघि बढेका छौँ । राज्यसत्तामा पहुँच बढाउँदै समाजवादको यात्रा पुरा गर्ने दिशामा अघि बढ्नका लागि बाम एकता गरिएको र यसलाई पार्टी एकिकरणको दिशामै लैजान हामी लागिपरेका छौँ ।’ मन्त्री महराले मुलुकको विकासका लागि स्थीर सरकार, आर्थिक वृद्धि र बैदेशिक हस्तक्षेपको अन्त्यका लागि पनि पार्टी एकताको विकल्प नभएको बताए ।
‘जनताका अपेक्षालाई सम्बोधन गर्नका निम्ति अहिले बाम गठबन्धन गरिएको र यसलाई एकीकरणको दिशामा लैजाने अभ्यासका रुपमा हामी अघि बढिरहेका छौँ,’ मन्त्री महराले भने, ‘पार्टीभित्र र दुई पार्टीका बीचमा रहेका मतभेदहरुलाई हटाउँदै निर्वाचनको महाअभियानलाई सार्थक बनाउन केन्द्रदेखि गाउँस्तरसम्म एकता कायम गरेका छौँ ।’ उनले नेपालमा अब दुई पार्टीबीच मात्रै प्रतिश्पर्धा रहेको पनि बताए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार ०७:१०