सूचनाको शक्ति - The Power Of Information

        

कालिकोटमा जडीबुटी प्रशोधन केन्द्र स्थापना


रमेश रावल/कालिकोट । कर्णाली हर्बल प्रोसेसिङ एन्ड रिसर्च सेन्टर प्रालिले जिल्ला तिलागुफा नगरपालिकाको छाप्रे गाउँको बालीमा जडीबुटी प्रशोधन उद्योग सञ्चालन ल्याएको छ । कर्णालीको बहुमूल्य जडीबुटी सस्तोमा निकासी गरेर प्रोसेसिङपछि अत्याधिक महँगोमा किन्नुपर्ने बाध्यताको अन्त्य गर्न उद्योग सञ्चालनमा ल्याइएको हो । त्यसका लागि १० लाखको लगानीमा भवन बनाउने योजना उद्योगको छ ।
खेर गइरहेका जडीबुटी र वनस्पति संकलन गरेर बजारीकण गर्न उद्योग स्थापना गरिएको त्यसले यहाँको उत्पादनमा वृद्धि हुने उद्योग सञ्चालक प्रेमबहादुर शाहीले बताए । ‘स्थानीय स्तरमा उत्पादन हुने जडीबुटीलाई प्रशोधन गरेर बजारीकरण गर्नका लागि उद्योग सञ्चलान गरेका हौं ।’ उनले भने, ‘अहिले हामी कच्चा साम्रगी जम्मा गर्ने र उद्योगलाई व्यवस्थित गर्ने तयारीमा छौं ।’
जिल्लाको छाप्रे, पाखा, ओदानकु, चिल्खाया, जुविथा, फोइमहादेव, राचुली र जुम्लाको सिंजा भेकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको उद्योगमा हाल वन कचुर, जटामसी (भुल्ते), सुगन्धवाल (समायो), पिर्रे, धुपी, टिमुर, सुनपाती, तीतेपाती प्रशोधन गरेर तेल निकाल्ने गरिएको उद्योग सञ्चालक प्रेमबहादुर शाहीले बताए ।
‘जडीबुटी संकलन गर्ने गरेको र जटामसी ५० हजार रुपैयाँ क्विन्टलमा गाउँमै खरिद गर्ने गरिएको छ।’ उनले भने,‘हामीले अहिले धेरै लाभ लिन सकेका छैनौं ।’ उद्योग सञ्चालक शाहीका अनुसार प्रशोधित तेलको मूल्य पनि उच्च छ । टिमुरको तेल प्रतिलिटर ३० देखि ३५ हजार, सुगन्धवाल ४० देखि ४५ हजार, वन कचुर ५ हजार रुपैयाँ प्रतिलिटरमा बिक्री हुने गरेको छ । जडीबुटीको तेल औषधिका लागि प्रयोग हुने गरेको छ ।
वनपाखा, खोल्साखोल्सीमा पाइने तीतेपाती, वन कचुर, पिर्रे घास, धुपी, भुल्ते (जटामसी) संकलन गरेर गाउँकै उद्योगमा बेचेर राम्रो आम्दानी लिन सक्ने स्थानीयबासी तथा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दुर्गबहादुर रावतले बताए । ‘उद्योग स्थापानाले वनपाखामा खेर जाने गरेको जडीबुटी संकलन गरेर राम्रो आम्दानी लिन सक्छन् ।’ उनले भने, ‘उद्योग स्थापना भएपछि स्थानीय केही आशावादी भएका छन् ।’
कर्णाली हर्बल प्रोसेसिङ एन्ड रिसर्च सेन्टर प्रालिले १९ लाख लगानीमा स्थापना गरेको प्रसोधन उद्योगमा लागनी नुहँदा घरसमेत बनाउन सकेको छैन । भवन नै नभएर चौरमा उद्योगको स्थापना गरिएको छ । भवन अभावका कारण पानी परेको वेला वर्षा भएको वेला केही काम गर्न गाह्रो हुने गरेको सञ्चालक प्रेमबहादुर शाहीले बताए । ‘भवन अभाव छ । त्यसका लागि १० लाखको लगानीमा भवन बनाउने योजना उद्योगको छ,’ उनले भने, ‘अहिले लगानी जुटाउन गाह्रो भएको छ ।’
कर्णालीलाई जडीबुटीको खानी नै मानिने गरेको छ । यसको सही उपयोग नुहुँदा त्यत्तिकै खेर जाने गरेको छ । घुच्ची च्याउ, रातो च्याउ, पाँचऔंले, यार्सागुम्बा, कुटकी, लकडधूप, अत्तिसी, पदमचाल, जटामसी, सुगन्धवाल, टिमुर, पाखनवेद, सेतक चिनी (खिरौला), सिलाजित, कालो मुस्ली, विस्फेज, सुनगभा, गाम्डोल, बनालु, वनमुला, वन लसुन, झ्याउ, पाखन बोक्रा (काउलो), दाल चिनी, डाले चुक, लोक्ता, धुपी, तीतेपाती, पिर्रे, सतुवा, ढटेलो लगायतका १ हजार भन्दा बढी जडीबुटी कर्णालीमा पाइन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ०१:०७