सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ९ जनाको उम्मेदवारी फिर्ता

बाँके । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी दिएका स्वतन्त्र र बागी मध्ये बाँकेमा ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गएको विहीबार प्रदेशसभा र प्रतिनिधिसभाको लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी बाँकेमा ११२ जनाले उम्मेदवारी दर्ता गरेकोमा अब १०३ जना उम्मेदवार कायम भएका छन् ।
बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले गत विहीबार उम्मेदवारी दिएका मध्ये ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उनले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै कामय रहेका सबै उम्मेदवारलाई चुनाव चिन्ह उपलब्धसमेत गराएको जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका नेता कृष्ण कार्की र नेकपा माओवादी केन्द्रका नेता सबिर खाँ र सुरेशकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरी प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता अम्बर खडका र नेकपा एमाले सम्वद्ध हेमकुमार यादवको उम्मेदवारी पनि फिर्ता भएको छ । बागी उम्मेदवारी फिर्ता भएपछि क्षेत्र नम्बर १ का माओवादी उम्मेदवार महेश्वर गहतराज र प्रदेश सभाका उम्मेदवार कृष्णा केसी नमूनालाई राहत भएको छ । बागी उम्मेदवारी फिर्ताका लागि माओवादी नेता गहतराज, आईपी खरेल लगायत निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
स्वतन्त्र उम्मेदवार चौधरी अन्तिम समयमा नेतृत्वको बारम्बारको सम्पर्कपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएकामध्ये मुगबहादुर शाह र धु्रबप्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । शाह माओवादी केन्द्र र दाहाल नेपाली काँग्रेसका बागी उम्मेदवार रहेका थिए । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सरोजकुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिइन् ।
सरोजकुमारी सोही क्षेत्रका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बिजयबहादुर यादवकी पत्नी हुन् । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार शकुन्तला पुनले उम्मेदवारी फिर्ता लिएकी छन् । क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार शिव डोटेल र क्षेत्र नम्बर ३ प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार विजय पाठकको उम्मेदवारी कायम रहेको छ । पाठक माओवादी सम्वद्ध हुन भने डोटेल एमालेका कार्यकर्ता हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:५१