शिशिर ढकाल/काठमाडौं । आदर्श र नमुना नाम गरेका किशोर किशोरीलाई एचआइभी भएको कुरा अछामको एउटा विकट गाउँका हरेक वासिन्दालाई थाहा छ । यतिमात्र होइन, यो खबर नजिकको बजारमा पनि डँढेलो सल्किए झै फैलिएको छ । जब कि त्यो बजार आइपुग्न चार दिन र चार रातको यात्रा तय गर्नु पर्ने विडम्बना छ । गाउँका पुरुष भारतमा मजदुरी गर्न जान्छन् । यसैले अछामका विकट गाउँमा धेरैलाई एचआइभी संक्रमण छ ।
विश्व बैंकको एउटा तथ्याङ्कअनुसार काठमाडौँमा क्रियाशील यौनकर्मीभन्दा भारतबाट फर्किने नेपाली कामदारमा एचआइभी संक्रमण ८ प्रतिशतले बढी छ । आदर्श र नमुनाका बुबा कामका लागि भारत गएका थिए । घर फर्किँदा उनले जीवन धान्न पुग्ने पैसा ल्याउन त सकेनन्, परिवारका हरेक सदस्यको जीवन कमजोर बनाउने एचआइभी भाइरस शरीरमा बोकेर फर्किए । सार्पा नाम गरेका एक व्यक्ति सीतासँग विवाह गरेर कामका लागि भारत भाँसिएका थिए । उनी हरेक दुई वर्षमा घर फर्किन्थे। ५१ वर्षको उमेरमा उनी छैठौँ सन्तानको बाबु बने ।
त्यतिबेला श्रीमती सीताले सार्पाको चिउँडो अस्वभाविक रुपमा चाउरिएको देखिन् । गाउँ–गाउँमा रेडियोले एचआइभीबारे सचेतना फैलाइरहे कै थियो । लोग्ने अस्वभाविक रुपमा दुब्लाएको देखेपछि सीताले एचआइभी परीक्षण गराउने सुझाव दिइन् । नभन्दै, परीक्षण पोजेटिभ आयो । सीता र सार्पाबाट जन्मिएको दुई बच्चा आदर्श र नमुना एचआइभी पोजेटिभ भएको रिपोट केही दिनमै पत्ता लाग्यो । यतिबेला सीता र सार्पलाई आफू एचआइभी संक्रमित भएकोमा चिन्तित थिएनन् । जति चिन्ता उनीहरुलाई आफ्नो सन्तान संक्रमित भएकोमा थियो ।
‘हाम्रो चहाना दुई सन्तानले एचआइभीको सरल उपचार पाउँन र समाजमा सम्मानित भएर जीवनयापन गर्न पाउनु भन्ने नै हो,’ दुबै भन्छन् । एचआइभी संक्रमितलाई नियमित औषधी सेवन गराएर सरल जीवनयापन गराउन सकिन्छ । तर, यी परिवारको सन्तानका लागि त्यो सम्भव छैन । पहिलो त उनीहरुलाई स्वास्थ्य चौकी पुर्याउनै कठिन छ । यसमा पनि नियमित औपधी सेवन गराउन नपाउँदा उनीहरु कमजोर भइरहेका छन् । दुई वर्षअघि छोरीलाई स्वास्थ्य चौकी लिएर जाँदा आमा भीरबाट लडिन् । भाँचिएको करङको कारण दुःखाई अझै बल्भिरहेको छ ।
छोरीलाई उपचार गराउन लाँदै गर्दा म भीरबाट लडेँ, करङ भाँचियो । अझै दुःखाई बल्झिने गरेको छ,’ सार्पले गुनासो गरे । सन्तानको मोहका कारण उनीहरु अर्थोपार्जनमा समेत लागेका छन् । ‘प्लान नेपाल’को सहयोगमा आधुनिक खेती गरेर उनीहरुले अर्थोपार्जन गरिरहेका छन् । नजिकको बारीमा उनीहरुले काउली, टमाटर करेला फलाएका छन् । अनार बेचेर पनि उनीहरु राम्रो आम्दानी गरिहरहेका छन् । तरकारी खेतीबाट आर्जन भएको पैसाबाट उनीहरु निकै खुशी छन् । ‘पैसा कमाउन भारत जानुपरेको छैन । परिवारको जीवन धान्न पुग्ने पैसा कमाएको छुँ,’ आफ्नो पौरख सुनाउँदै सार्पा भन्छन् ।
सार्पाले अहिले जागिर पनि पाएका छन् । ग्लोबल फन्ड नामक गैरसरकारी संस्थाले उनलाई सुरक्षित यौन सम्पर्कबारे सचेतना फैलाउने काममा खटाएको छ । सार्पा विना हिच्किचाहट आफ्नो काम गर्छन् । तर, गाउँका युवाहरुको हप्की उनले धेरै पटक खेप्नुपरेको छ । ‘हाम्रा श्रीमतीलाई अरुसँग यौनसम्पर्क गर्न उक्साउने। हामी नभएको बेला कण्डम किन वितरण गर्छौँ भन्छन्,’ गाउँले युवाहरुको हप्की खाएका सार्पा भन्छन् । हप्कीका बाबजुद उनले आफ्नो काम छोडका छैनन् । गाउँले महिलामा सुरक्षित यौन सम्पर्कको सचेतना बढेकोमा नी खुशी छन् ।
‘मेरो कामले उनीहरुमा चेतना विस्तार भएको छ । उनीहरु अब एचआइभी संक्रमित हुने छैनन् भन्नेमा ढुक्क छु,’ सार्पा भन्छन् । सीता र सार्पालाई अहिले एउटै चिन्ताले सताएको छ । उनीहरुको बच्चाको विवाह राम्रोसँग हुन्छ कि हुँदैन । तत्कालिन अवस्थामा उनीहरुको विवाह एचआइभी संक्रमित बाहेक अरुसँग हुन सक्दैन । तर, आफूहरु आशावादी रहेको स्वयम सार्पा बताउँछन् । –दि गार्जियनबाट
।