सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशील


जाजरकोट । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि जाजरकोटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । १३ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ ।
जिल्लामा ८५ मतदानस्थल अन्तर्गत ११६ मतदान केन्द्र तोकिएको छ । गत स्थानीय निर्वाचनमा १२ मतदानस्थललाई अति संवेदनशील, २८ संवेदनशील र ४५ मतदानस्थललाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको थियो । आसन्न निर्वाचनमा सुरक्षा निकायले ८५ प्रतिशत मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा किन राख्यो त ? प्रहरी प्रमुख रिमाल भन्छन्, ‘सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाका आधारमा हामीले ती मतदानस्थललाई अतिसंवेदनशील स्थलका रुपमा राखेका हौँ ।’ स्थानीय प्रशासनले जाजरकोटका खासगरी नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टीबाट सबैभन्दा बढी सुरक्षा चुनौती महसुश गरेको छ ।
सुरक्षा निकायले मतदानस्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । अतिसंवेदनशील मतदानस्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने व्यवस्था गरिएको छ । तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । जाजरकोट भौगोलिक रुपमा पनि निकै विकट रहेको र मतदानस्थलमा यातायात र सञ्चारको सहज पहँच पुग्न नसकेको आदि कारणले पनि धेरैजसो मतदानस्थललाई संवेदनशील मतदानस्थलका रुपमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ०९:०६