सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा पत्रकारदेखि चिकित्सकसम्म उम्मेद्वार


पत्रकार शिव डोटेल

बाँके । आउँदो मंसिर २१ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा चुनावका लागि बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी परेको छ । बिहीबार भएको उम्मेदवारी मनोनयनमा पत्रकार शिव डोटेल र डा. बिनोद कर्णले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । डोटेलले प्रतिनिधिसभामा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी पत्रकार वीरेन्द्रप्रकाश पुनले नयाँ शक्ति पार्टीबाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।
अर्का पत्रकार आशिष गुप्ता क्षेत्र नम्बर २ को प्रदेश १ बाट राजपाका तर्फबाट उम्मेदवार बनेका छन् । यसैगरी डा. कर्णले विवेकशिल साझा पार्टीबाट बाँके क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट उम्मेदवारी दिएका छन् । नेपाली एक्सप्रेस दैनिकका सम्पादक डोटेल प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद हुन् । पुन नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद र प्लाष्टिक सर्जन डा. कर्ण नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक हुन् ।
यस्तै, बाँकेमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन गरी दुबैतर्फ वागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका नेता कृष्ण कार्कीले प्रतिनिधीसभामा क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका छन् ।सो क्षेत्रमा कांग्रेसका माधवराम खत्री उम्मेदवार हुन् । यसैगरी नेकपा माओवादीका आधिकारिक उम्मेदवार महेश्वर गहतराजको बिरोधमा नेता सबिर खाँ, सुरेशकुमार चौधरीले वागी उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर १ को प्रदेश १ मा माओवादी केन्द्रका कृष्ण केसीको बिरोधमा माओवादीका अमर खड्का र दुर्गाप्रसाद चौधरीले बागी उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाले २०४८ देखि २०७० सम्म प्रतिष्पर्धा गर्दै आएको बाँके क्षेत्र नम्बर २ मा यसपटक कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई समर्थन गरेको छ । यहाँ कांग्रेसका धु्रब दाहालले बागी उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेका पशुपति दयाल मिश्राको बिरोधमा एमाले निकट प्रेस चौतारीका पूर्व उपाध्यक्ष शिब डोटेलले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा माओवादीका मुगबहादुर शाहले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर २ को प्रदेश १ बाट संघीय समाजवादी फोरमबाट उम्मेदवार भएका विजयबहादुर यादवकी पत्नी सरोजकुमारी यादव पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । अन्यले बागी उम्मेदवारी दिए पनि यादवले भने चुनावमा सेवा सुविधाका लागि पत्नीलाई स्वतन्त्र उम्मेदवार बनाएको चर्चा छ । क्षेत्र नम्बर ३ ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका बाबुराम गौतमको बिरोधमा माओवादी केन्द्रका विजय पाठकको बागी उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ०८:१६