सूचनाको शक्ति - The Power Of Information

        

ओलम्पियनदेखि एन्फा सिइओसम्म चुनावी मैदानमा


सीताराम कोइराला/काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खेलकुद क्षेत्रका केही चर्चित अनुहार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रतिस्पर्धमा उत्रनेमा नेपाल ओलम्पिक कमिटिका अध्यक्षदेखि ओलम्पियनसम्म छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेको तर्फबाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् । एमालेका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ यसअघि दुईपटक संविधानसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर दुवै पटक पराजित भए ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयरको दौडमा रहेका श्रेष्ठले अन्तिम समयमा प्रतिनिधिसभाको टिकट पाएका हुन् । यसअघि यो क्षेत्र माओवादीलाई दिने वाम गठबन्धनले निर्णय गरेको थियो । श्रेष्ठले यो क्षेत्रमा कांग्रेसका नवीन्द्रराज जोशीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जोशी यो क्षेत्रबाट संविधानसभा सदस्यको दुवै निर्वाचनमा विजयी भएका थिए । ओलम्पियन सुरेन्द्र हमाल पनि कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । भारोत्तोलनका खेलाडी हमालले सन् १९८४ मा अमेरिकाको लसएन्जलसमा भएको ओलम्पिक गेम्समा सहभागिता जनाएका थिए । हाल राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष हमाल बाँके क्षेत्र २ (ख) मा प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
हमालसँग यो क्षेत्रमा एमालेका विजयकुमार गुप्ता, संघीय फोरमका दुर्गेसकुमार वैश्य र राष्ट्रिय जनता पार्टीका कैलाशकुमार मिश्रले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर ९ (क) को प्रदेशसभामा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले उम्मेदवारी दिएका छन् । एन्फाका प्रवक्तासमेत रहेका तुलाधरलाई कांग्रेसले टिकट दिएको हो । तेक्वान्दोका प्रशिक्षक तुलाधर संकटा क्लबका अध्यक्ष पनि हुन् । तुलाधरसँग चुनावी मैदानमा वाम गठबन्धनका अजयकान्ती शाक्य प्रतिस्पर्धामा छन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन ललितपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।
करातेका पूर्व खेलाडी महर्जन कांग्रेसबाट उम्मेदवार बनेका हुन् । उनले यस क्षेत्रमा वाम गठबन्धनका चेतनाथ सन्जेलसँग प्रतिस्पर्धा गर्नेछन् । एन्फा उपाध्यक्ष किशोर राई सुनसरी क्षेत्र नम्बर १ (क) बाट चुनाव लडेका छन् । कांग्रेसका उम्मेदवार राईले एमालेका प्रदीप भण्डारीसँग प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष टंक आङबुहाङ पनि ताप्लेजुङ (ख) बाट उम्मेदवार बनेका छन् । माओवादीबाट चुनाव लडेका आङबुहाङको भिडन्त कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङसँग हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ०७:५१