सूचनाको शक्ति - The Power Of Information

        

‘जय नेपाल’ देखि ‘लालसलाम’ सम्म पूर्व डिआइजीको यात्रा


काठमाडौँ । यदि सबै सेटिङ मिलेको भए यति बेला उनी नेपाल प्रहरीका आइजीका रुपमा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षाको योजना बनाउने काममा प्रहरीलाई खटाउँदै हुन्थे । तर वरियतामा पहिलो नम्बरमा रहँदारहँदै पनि र सर्वोच्च अदालतमा लामो समयसम्म कानुनी लडाइँ लड्दालड्दै पनि असफलता हात पारेका नवराज सिलवाल बिहीबार प्रहरी सुरक्षा घेरामा उम्मेदवारी दर्ता गर्दै थिए । प्रहरी संगठनमा अभिवादनका रुपमा ‘जय नेपाल’ भन्ने प्रचलन छ । तर नेकपा एमालेका तर्फबाट वाम गठबन्धनको उम्मेदवारका रुपमा ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गरिसकेपछि मिडियासामु उनले मुट्ठी कसे र गरे ‘लालसलाम ।’


सिलवालको केसले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकालाई समेत तान्यो। उनकै केसका कारण कार्यपालिका र न्यायपालिकाबीच दूरी बढ्यो । उनकै केसका कारण प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्तावको सूचना दर्ता भयो । त्यो प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि व्यवस्थापिका र न्यायपालिकाबीच समेत दूरी बढ्यो । अदालतमा कीर्ते कागज प्रस्तुत गरेको अभियोगमा छानबिन अघि बढेको भए यतिबेला उनी प्रहरी नियन्त्रणमा हुनसक्थे । तर छानबिन थाती रहेपछि डिआइजीबाट राजीनामा दिँदै एमाले प्रवेश गरे सिलवाल । उनलाई सुरुमा प्रदेश सभामा टिकट दिने कुरा थियो । तर गुन्डा नाइके दीपक मनाङे पनि प्रदेश सभामा उम्मेदवार बन्ने भएपछि सिलवालले सीधै प्रतिनिधि सभा सदस्यको टिकट पाए ।


पिता दिलबहादुर सिलवाल र माता ठूलीकान्छी सिलवालका छोरा नवराज सिलवालको प्रतिस्पर्धा नेपाली कांग्रेसका उदयशमशेर राणासित हुने भएको छ । एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने, ‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु ।’ उनले जनताले न्याय दिने र आफू जित्नेमा विश्वस्त रहेको बताए । ‘हिजो देशको शान्तिसुरक्षाका लागि लड्दा राज्यले अन्याय गर्यो, अब जनताले न्याय दिन्छन्’, उनले भने । जनताको सेवा नै आफ्नो लक्ष्य रहेको बताउँदै जनताप्रति आफ्नो पूर्ण भरोसा रहेको जिकिर उनले गरे । निर्वाचनमा विजय हासिल गरे उनी माननीय सांसद हुनेछन् र उनका लागि मन्त्रीसम्म हुने ढोका खुल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ०४:१९