सूचनाको शक्ति - The Power Of Information

        

बागी उम्मेदवारको घेरामा ‘हाई प्रोफाइल’ नेता


काठमाडौँ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मनोनयन भएको छ । गठबन्धनका कारण टिकट व्यवस्थापनमा परेको समस्याले धेरै स्थानमा बागी उम्मेदवारी परेका छन् । टिकट नपाएका केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। बागीको चुनौती झेल्नेमा प्रमुख दलका शीर्ष नेता नै छन् ।

रामचन्द्रविरुद्ध गोविन्दराज
भ्रष्टचार आरोपित कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका छन् । तनहुँ १ बाट टिकटका लागि जुलुस नै निकालेका जोशीलाई संसदीय बोर्डले पत्याएन । अन्ततः जोशीले बिहीबार पौडेलविरुद्ध मनोनयन गरेका छन् ।

माधव नेपाल भर्सेस एलपी श्रेष्ठ
काठमाडौँ २ बाट प्रदेशसभा तर्फ टिकटको दाबी गरेका एलपी श्रेष्ठले टिकट नपाएपछि नेपालविरुद्ध बागी दर्ता गरेका छन् । साखुमा स्थानीय श्रेष्ठ एमाले काठमाडौँका सदस्य हुन् ।

आरजु भर्सेस क्षितिज
प्रधानमन्त्रीपत्नी आरजु राणाविरुद्ध नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै आरजुले प्रतिस्पर्धा गरिरहेको कैलाली ५ मा भण्डारीले बागी उम्मेदवारी दिएका हुन् ।

उपेन्द्रविरुद्ध जयप्रकाश
सप्तरी २ बाट राजपाको सहयोगमा उम्मेदवारी दिएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाकै जयप्रकाश थारुले उम्मेदवारी दिएका छन् । आफ्नो क्षेत्रमा पार्टीले कुनै परामर्श नगरी यादवलाई उम्मेदवारी दिएको भन्दै राजपा सहमहामन्त्री रहेका ठाकुरले उम्मेदवारी दिएका हुन् ।

महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झा
कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनी संविधानसभा सदस्यमा विजयी चन्द्रेश्जर झाले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध बागी उम्मेदवारी दिएका छन् । स्थानीय निर्वाचन अघि झा राजपामा प्रवेश गरेका थिए । महोत्तरी ३ मा ठाकुरविरुद्ध झाले उम्मेदवारी दिएका हुन् । ठाकुरले योपटक आफ्नो नियमित निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् ।

सल्यान वामभित्र झमेला
सल्यानमा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध माओवादी केन्द्रकै दुई बागी उम्मेदवार बनेका छन् । अधिकांश पदमा माओवादी नेताहरुले बागी उम्मेदवारी दिर्ता गरेका छन् । प्रतिनिधिसभामा उमाकान्त शर्मा र ज्ञानबहादुर ओलीले बागी उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशमा एमालेका दुबै उम्मेदवारविरुद्ध माओवादी नेताले उम्मेदवारी दिएका छन् । प्रदेश (क) मा गुलावजंग शाहविरुद्ध भीमप्रकाश शर्मा र प्रकाश ज्वालाविरुद्ध जितबहादुर पुनले उम्मेदवारी दिएका छन् ।

कोमल वली स्वतन्त्र उम्मेदवार
राप्रपाबाट चुनावको एक महिनाअघि एमाले प्रवेश गरेकी कोमल वलीले अन्तिम समयमा टिकट पाइनन् । टिकट नपाएपछि वली दाङ ३ बाट स्वतन्त्र उम्मेदवार बनेकी छन् । प्रतिनिधिसभा वा प्रदेशमा कतै न कतै वलीले टिकट पाउने चर्चा थियो ।

सिन्धुलीमा दलभित्रकै बागी
सिन्धुलीमा प्रतिनिधिसभा तर्फ एमाले र माओवादी केन्द्रका दुबै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । एमालेका गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्की र माओवादी केन्द्रका हरिवोल गजुरेलविरुद्ध रामकुमार पौडेलले उम्मेदवारी दिएका छन् ।

बारामा माओवादीविरुद्ध एमाले
बारा क्षेत्र नम्बर ३ क मा एमालेका भरत खड्काले माओवादी उम्मेदवार ज्वालकुमारी साहविरुद्ध बागी उम्मेदवारी दिएका छन् । रुपन्देही ५(क) मा एमालेका भुभिश्वर ढकालविरुद्ध एमालेकै मीनप्रसाद घिमिरे बागी उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ०४:०५