सूचनाको शक्ति - The Power Of Information

        

मनोनयन महाउत्सव : बाँकेमा ११२ उम्मेदवार (फोटोफिचरसहित)


बाँके । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सांसदका लागि बाँकेमा कुल ११२ जनाले उम्मेदवारी दिएका छन् । बाँकेका तीनै क्षेत्रमा १३ वटा राजनीतिक दलबाट र स्वतन्त्र गरी ११२ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमध्ये दलगत उम्मेदवार ९२ जना छन् भने २० जना स्वतन्त्र उम्मेदवार छन् । बाँकेका तीनै वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरु मनोनयन दर्ता गर्न बिहीबार दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
क्षेत्र नं. १ को प्रतिनिधि सभामा कुल १३ जनाको उम्मेदवारी परेको छ । बाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वर गहतराज (अथक) उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका माधवराम खत्री उम्मेदवार छन् । त्यस्तै संघीय समाजवादी पार्टी नेपालबाट, लाल बहादुर शाह, राष्ट्रिय जनमोर्चाबाट कमला खड्का, नेपाल मजदूर किसान पार्टीबाट खड्कराज थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट सोनु गुरुङ, राप्रपा राष्ट्रवादीबाट पंकजकुमार शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट ऋषिराम थारु, नयाँ शक्ति पार्टीबाट बुध बहादुर सुनार, विवेकशिल साझा पार्टीबाट कुशल अधिकारीको उम्मेदवारी क्षेत्र नं. १ को प्रतिनिधि सभाका लागि परेको छ ।
क्षेत्र नं. १ मा स्वतन्त्रमा कृष्णबहादुर कार्की, सबिर खाँ र सुरेशकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं. १ को प्रदेश ‘क’ मा बाम गठबन्धनबाट माओवादी केन्द्रकी कृष्णा केसी नमुना, नेपाली कांग्रेसबाट सरदचन्द्र बर्मा, संघीय समाजवादी फोरमबाट कमसर खाँ लागयत ११ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र मध्ये २ जना माओवादी केन्द्रका बागी उम्मेदवार हुन् । क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा बाम गठबन्धनबाट एमालेकी आरती पौडेल, नेपाली कांग्रेसबाट नारायण प्रसाद गौडेल, संघीय समाजवादी फोरमबाट प्रमोद कुमार यादव लगायत १० जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. २ मा प्रनिधिधि सभातर्फ १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १३ जना दलगत र ६ जना स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नंं. २ को प्रतिनिधि सभातर्फ कांग्रेस–राप्रपा गठबन्धनबाट ओम प्रकाश आजाद, बाम गठबन्धनबाट पशुपतिदयाल मिश्र, संघीय समाजवादी फोरमबाट मोहम्मद ईस्तियाक राई, राष्ट्रिय जनता पार्टीबाट विजयकुमार गुप्ता, नयाँ शक्ति पार्टीबाट बेद प्रसाद आचार्य, राप्रपा राष्ट्रवादीबाट तेजनारायण कँडेल लगायत उम्मेदवार भएका छन् । क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार सबैभन्दा धेरै ११ जना रहेका छन् । कांग्रेसका ध्रुबप्रसाद दाहाल, एमालेबाट शिबबहादुर डोटेल, माओवादीबाट मुगबहादुर शाह लगायतले बागी उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ मा दलगत उम्मेदवार ११ जना र स्वतन्त्र ३ जना रहेका छन् । बाम गठबन्धनबाट प्रदेश ‘क’ मा माओवादी केन्द्रका कामता प्रसाद खटिक, नेपाली कांग्रेसबाट निरन्जन सिंह सिजापति, संघीय समाजवादी फोरमबाट बिजय बहादुर यादव, राष्ट्रिय जनता पार्टीबाट आशिष कुमार गुप्ता लगायतले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । प्रदेश ‘ख’ मा १३ जनाले दलगत र २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘ख’मा बाम गठबन्धनबाट एमालेका विजयकुमार गुप्ता, नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमाल, संघीय समाजवादी फोरमका दुर्गेशकुमार बैश्य, राजपाका कौशलकुमार मिश्रा, नयाँ शक्तिका सुनिलकुमार सिंघल, नयाँ शक्ति पार्टीका हरदेव बक्स चौधरी लगायतले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्रतर्फ पदमकुमार श्रेष्ठ र प्रेमकुमार यादबले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ३ को प्रतिनिधि सभामा दलगततर्फबाट ८ जनाको उम्मेदवारी परेको छ । यहाँ स्वतन्त्र उम्मेदवारी परेको छैन । नेपाली कांग्रेसका बादशाह कुर्मी, बामगठबन्धनबाट एमालेका नन्दलाल रोकाया, संघीय समाजवादी फोरमबाट मनोजकुमार दीक्षित, राजपाबाट महमुदुल हसन अन्सारी, नयाँ शक्ति पार्टीबाट विरेन्द्र प्रकाश पुन, राष्ट्रिय जनमोर्चाबाट मन बहादुर भण्डारी, नेमकिपाबाट नगेन्द्र बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट मुकुन्दसिंह वलीको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ को प्रदेश ‘क’ मा १० जना दलगत उम्मेदवारी परेको छ । यहाँ स्वतन्त्र उम्मेदवारी परेको छैन । कांग्रेसबाट चन्तराम थारु, बामगठबन्धनबाट माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल, संघीय समाजवादी फोरमबाट बलराम अहिर, राजपाबाट देवेन्द्रनाथ शुक्ल, नयाँ शक्तिबाट गगनबहादुर बम लगायतको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ प्रदेश ‘ख’ मा ८ जना दलगत र ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । बाम गठबन्धनबाट एमालेका बाबुराम गौतम, नेपाली कांग्रेसका लक्ष्मीनारायण शाह, संघीय समाजवादी फोरमका रामसोहावन कुर्मी, नयाँ शक्ति पार्टीका मोहम्मद अख्तर खाँले उम्मेदवारी दिएका छन् । यहाँ तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विजय कुमार पाठक, राजेश कुमार बर्मा कुर्मी र जाकिर खाँले स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका पाठकले बागी उम्मेदवारी दिएका हुन् ।

वाम गठबन्धनलाई बागी नै चुनौती

उम्मेदवारी मनोनयनमा बाँकेमा वाम गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरुले चुनौती दिएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका २ युवा नेताले बागी उम्मेदवारी दिएका छन् । बाँकेको क्षेत्र नम्बर १ को प्रदेश (क) मा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ कृष्णा केसी (नमुना)को विरुद्धमा माओवादी केन्द्रकै युवा नेता अमर खड्काले बागी उम्मेदवारी दर्ता गराएका छन् । खड्का स्थानीय निर्वाचनभन्दा केही समयअघि नेपाली काग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्रतिनिधिसभामा नाम सिफारिस भएकी कृष्णा केसी सिफारिस नै नभएको क्षेत्र नम्बर १ को प्रदेश (क) को उम्मेदवार बनेपछि असन्तुष्ट माओवादी कार्यकर्ताको आग्रहमा खड्काले बागी उम्मेदवारी दिएका हुन् । खड्काको नाम पार्टीले सोही क्षेत्रबाट सिफारिस गरे पनि टिकट भने दिएन ।
‘नमुनाले म प्रदेशमा नभई केन्द्रको उम्मेदवार बन्छु भन्दै आउनुभएको थियो । तर अन्तिममा आएर प्रतिबद्धता विपरीत प्रदेशमा उम्मेदवारी बागीमा उम्मेदवारी दिएको हुँ’, खड्काले बताए । नमुनाले भने केन्द्रमा दाबी भए पनि पार्टी अध्यक्ष प्रचण्डले नै फोन गरेर प्रदेशमा उम्मेदवारी दिन निर्देशन दिएपछि प्रदेशमा उम्मेदवारी दिएको बताइन् । प्रचण्ड प्रधानमन्त्री भएका समयमा नमुनाले केही समय प्रधानमन्त्रीको सचिवालयमा समेत काम गरेकी थिइन् । त्यस्तै, बाँके क्षेत्र नम्बर ३ को (ख) मा पनि माओवादीका कार्यकर्ता विजयकुमार पाठकले बागी उम्मेदवारी दिएका छन् । सुरुमा पार्टीले सिफारिस गरे पनि माओवादी केन्द्रले सो क्षेत्र एमालेलाई दिएसँगै उम्मेदबार बन्न नपाएपछि असन्तुष्ट बनेका पाठकले बागी उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा एमालेका पुराना नेता बाबुराम गौतम गठबन्धनका उम्मेदवार छन् ।

नमुनाविरुद्व अमर

बाँकेको क्षेत्र नं. १ ‘क’ मा बागी उम्मेदबारका कारण बाम गठबन्धन अप्ठेरोमा पर्ने भएको छ । बाम गठबन्धनबाट उम्मेदवार बनेकी कृष्णा केसी (नमुना)का विरुद्ध राप्ती–सोनारी र नरैना गाउँपालिकामा राम्रो पकड बनाएका अम्बर बहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् । खड्काका कारण माओवादी केन्द्रकी बाम उम्मेदवार नमुना तनाबमा छिन् । राप्ती–सोनारी र नरैनापुर गाउँपालिकाका अधिकांश स्थानीय नेता–कार्यकर्ताहरु खड्काको पक्षमा उभिएपछि नमुना तनाबमा परेकी हुन् । खड्कालाई माओवादी केन्द्रको भेला आयोजक कमिटीका केन्द्रीय सदस्यहरु चिमबहादुर घर्ती, पट्टु थारु, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष आशमाली पुनसहित कार्यसमितिका अधिकांश सदस्यले सघाउने भएका छन् । त्यस्तै वडा नं. ३ र ४ बाट माओवादी केन्द्रका उम्मेदवार, विनौना र फत्तेपुरको सिंगो कमिटी, माओवादी केन्द्रका कचनापुर अध्यक्ष हरिभक्त पौडेल लगायतले पनि खड्कालाई समर्थन जनाएका छन् । उता स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट नरैनापुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका मेराज खाँले पनि खड्कालाई समर्थन गरेपछि गठबन्धनको मतबाट विजयी हुने नमुनाको सोंचमा धक्का पुगेको छ ।
यता माओवादी केन्द्रबाटै सन्तोष थारुले पनि क्षेत्र नं. १ को ‘क’मा बागी उम्मेदवारी दिएका छन् । जसका कारण नमुनालाई झनै अप्ठेरो पर्ने देखिएको छ । क्षेत्र नं. १ को प्रतिनिधि सभामा केन्द्रीय भेला आयोजक कमिटीका सब्बिर खाँले बागी उम्मेदबारी दिएका छन् । उनी नरैनापुर गाउँपालिकाका माओवादी केन्द्रका ईन्चार्ज समेत हुन् । क्षेत्र नं. १ को ‘क’ मा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका माओवादी केन्द्रका अधिकांश सदस्यहरुले खड्कालाई सघाउने भएपछि नमुनालाई मात्र नभई प्रतिनिधि सभाका उम्मेदवारलाई समेत असहज हुने देखिएको छ । प्रनिनिधिसभा चुनावमा दाबी गरेकी र सिफारिसमा समेत परेकी नमुनाको नाम एकाएक मनोनयनको अघिल्लो दिन प्रदेश ‘क’का उम्मेदवारको रुपमा सार्वजनिक भएको थियो । यसअघि प्रकाश सुवेदी र खड्का मध्ये एक जनालाई उम्मेदवार बनाउने माओवादीको तयारी थियो । नमुनाको नाम टिकटका लागि सिफारिस भएपनि उनले सुरुमा आफू नलड्ने बताएकी थिईन् । तरपछि उनी आफै मैदानमा उत्रिन । यसअघि नै माओवादी केन्द्रको राप्ती–सोनारी र नरैनापुर गाउँपालिका कमिटीले खड्कालाई समर्थन गर्ने निर्णय गरिसकेकाले खड्काको सहानुभुति पाउन नमुनाले प्रपञ्च रचेको राप्तीपारीका माओवादी केन्द्रका नेता–कार्यकर्ताको बुझाई छ ।

बाँकेमा कांग्रेस कमजोर

बाँके कांग्रेसमा उम्मेदवार छनौटमा भएको असन्तुष्टि मनोनयन दर्ताका बेला छताछुल्ल भएको छ । मनोनयन दर्ता गर्ने समयमा असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाईदिए भने संगठनका कतिपय जिम्मेवार व्यक्तिहरुले राजीनामा समेत दिए । मनोनयन दर्ताका समयमा पार्टी कार्यालयमा ताला लागेपछि उम्मेदवारी दर्ताको प्राविधिक कामहरु त्यहाँ हुन सकेन । पछि पार्टी सभापति किरण कोइरालाको घरमा भेला भई सचिवालयका सदस्यहरुले उम्मेदवार मनोनयनको प्राविधिक काम पुरा गरे । उम्मेदबार छनौटमा मनोमानी भएको भन्दै असन्तुष्ट समूहले नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी गरिदिएको हो । स्थानीय नेता–कार्यकर्ताको भावना र केन्द्रीय नीति विपरित उम्मेदवार छनोट गरिएको भन्दै असन्तुष्ट पक्षले मनोनयन दर्ताको काम भईरहेका बेला पार्टी कार्यालयमै ताला लगाईदिएको थियो ।
खासगरी क्षेत्र नं. २ मा राप्रपाका ओम प्रकाश आजादलाई सुम्पिएको र क्षेत्र नं. ३ को प्रदेश ‘ख’ मा क्षेत्र नं. २ स्थायी बसोबास भएका लक्ष्मी नारायण शाहलाई उम्मेदवार बनाएकोमा कांग्रेस कार्यकर्ताको आक्रोश छ । पार्टी नेतृत्वप्रति असन्तुष्ट समूहका ३ जना जनाले पदबाट राजिनामा पनि दिएका छन् । क्षेत्र नं. १ कोहलपुर नगरका सभापति बलराम शर्मा, महासमिति सदस्य दुखीराम लोनिया र तरुण दल बाँकेका उपाध्यक्ष मनिष रेग्मीले उम्मेदवार छनौटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजिनामा दिएका हुन् । नेपाली कांग्रेस बाँकेका सहसचिव राम कुमार राढका अनुसार उम्मेदवार छनौटको विषयमा असन्तुष्टि तीब्र भएको छ । कांग्रेसभित्रको असन्तुष्टि मनोनयनका क्रममा प्रष्टै देखियो । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट कांग्रेस–राप्रपाका उम्मेदवारहरुको नेतृत्वमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन जाँदा कांग्रेस कार्यकर्ताहरु अत्यन्तै न्यून देखिए । सात हजारभन्दा बढी सक्रिय कार्यकर्ता भएको दाबी गर्ने बाँके कांग्रेसबाट नगन्यमात्रामा कार्यकर्ताहरु मनोनयन ¥यालीमा सहभागि भए । ¥यालीमा नेपाली कांग्रेसभन्दा राप्रपाका नेता–कार्यकर्ताहरुको बढी उपस्थिति देखिन्थ्यो ।

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ०३:०३