सूचनाको शक्ति - The Power Of Information

        

सराय नाचमा युवाहरुको आकर्षण बढ्दो


राधिका भुसाल/प्यूठान । विशेषगरी तिहार भाइटिकाको भोली पल्टदेखि प्यूठानका विभिन्न स्थानमा सराय मेला अर्थात तरवार नाच सुरु हुने गर्दछ । बिगतका वर्षहरुमा परम्परालाई जोगाई राख्न उमेरले जेष्ठ अवस्थाका मानिसहरुले धानेका सराय नाचहरुमा आजभोलि भने क्रमिक रुपमा युवा पुस्ताको सक्रियता बढ्न थालेको छ । करीब ८ सय वर्ष अगाडिदेखि चल्दै आएको प्यूठानको सराय नाचमा विस्तारै युवापुस्ता आकर्षित हुन थालेको हो । तरवार नाच तथा मेलाको अवसरमा हुने विभिन्न प्रतियोगितिामा अधिकांश युवाहरुको उत्साहजनक सहभागिता हुन थालेको हो ।
भाइटीकाको भोलिपल्ट लाग्ने डल्ले सराय नाचमा सहभागि प्यूठान नगरपालिका ५ ढुंगेठाँटीका टेक बहादुर रानाले भने, ‘सुरुका दिनहरुमा रमाइलोका लागि मात्र खेल्ले सराय नाचको महत्व बुझ्न थालिएको छ ।’ चितिखोला, खैरा, ढुंगेठाँटी, शिवालय, बाहाने लगायतका स्थानहरुमा तिहारको पछिल्ला दिनहरुमा सराय मेला लाग्ने गर्छ भने रजवारा, स्याउलिवाङ, लुप्लुङ लगायतका ठाउँहरुमा दशैको दिन नाच्ने गरेको पाइन्छ । स्थानीय परम्परा तथा कला संस्कृति लोप हु्न्छ की भनेर चिन्तित बन्न थालिएको अवस्थामा युवाहरुको आकर्षण बढ्नुले सवैलाई खुशी तुल्याएको छ ।


सराच नाच लागेका विभिन्न ठाउँहरुका दर्शक माझ सरायको रमाइलोसँगै बालविवाह सम्बन्धी जनचेतना जगाउने उदेश्यले बालबिबाह विरुद्ध अभियान पनि सञ्चालन हुने गरेको छ । मेला भर्नका लािग धेरै जसो बालबालिकाकै आउने हुंदा सोही अवसरमा यो अभियान सन्चालन गरिएको नगर बाल सञ्जालले जनाएको छ । जिल्लामा पछिल्लो समयमा बाल विवाह बढ्दै गएको भन्दै नगरस्तरमा बालसञ्जालले बालविवाहविरुद्धमा सचेनतामुलक कार्यक्रम गरिएको अध्यक्ष अच्युत नारायण पछाईले जानकारी दिए । प्यूठान नगरपालिकालाई सन् २०१९ सम्ममा बालमैत्री स्थानीय शासन लागू भएको नगरपालिका घोषणा गर्ने लक्ष्यसहित यस्तो अभियान सन्चालन गरिएको प्यूठान नगरपालिकाका बालबालिका सम्पर्क व्यक्ति मञ्जु धितालले जानकारी दिइन् ।
यसैबीच ऐतिहासिक डल्ले सराँय नाँचलाई जिल्लामा समेत महत्वका साथ हेर्न थालिएको छ । प्यूठान क्षेत्र नम्बर १ बाट निर्वाचित माननिय सम्सद् एव एमाले नेता बामदेव गौतमले २०७० सालदेखि पुरस्कारको घोषणा गरेका थिए । तरवार नाँचमा प्रथम स्थान हासिल गर्न सफल टिमलाई १ लाख, द्धितियलाई ७५ हजार तृतिय टिमलाई ५० हजार, सान्त्वनालाई २५ हजार र सम्पूर्ण सहभागि टिमलाई २०–२० हजारका दरले नगद प्रदान गर्दै आएको डल्ले सराँय मेला मुल आयोजक समितिले जानकारी दिएको छ । यसवर्ष प्रथम पुण्यखोला समुह, द्धितिय सापडाडा समुह र थापडाडा समुहले तृतिय स्थान हासिल गरेका छन् भने १४ टिमको सहभागिता रहेको थियो । त्यस्तै समाजसेवी एवं प्यूठान नगरप्रमुख अर्जुनकुमार कक्षपतिले गत वर्षदेखि सहभागि टिममध्ये एक टिमका बाध्यबाधक समुहलाई पोसाक सौजन्य गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ०६:२६