सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा क्षेत्र नं.२ मा कांग्रेस–राप्रपा तालमेलको संकेत


बाँके । आगामी मंसीर २१ मा हुने संसदीय चुनावका लागि नेपाली कांग्रेस बाँकेले गतिलो उम्मेदबार नभेटेपछि क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छाड्ने संकेत देखिएको छ । बाँके क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छाड्ने विषयमा केन्द्रमा सहमति बनिसकेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । २ नं. क्षेत्र छाडेबापत १ र ३ नं. क्षेत्रसहित सबै प्रदेश संसदमा राप्रपाले नेपाली कांग्रेसलाई सघाउने कुरा भएको छ । यद्यपी अहिले राप्रपाले बाँकेको ६ प्रदेश मध्ये कम्तिमा एउटा प्रदेशमा आफ्नो उम्मेदवारलाई कांग्रेसले सघाउनुपर्ने प्रस्ताव अघि सारेको छ । जुन विषयमा स्थानीय र केन्द्रीय तहमा छलफल जारी रहेको राप्रपा स्रोतले जनाएको छ ।
राप्रपाका ओम प्रकाश आजाद क्षेत्र नं. २ बाट संसदको चुनावमा लड्ने करिब–करिब सहमति जुटेको बुझिएको छ । ‘ क्षेत्र नं. २ हामीले पाएपछि चुनावी दौडमा अरु नेताहरु पनि छन् । तर ओमप्रकाश आजादको नाममा मोटामोटी सहमति बनिसकेको स्रोतले बतायो । आजादको नाम एक÷दुई दिनमै केन्द्रले टुंगो लगाउने जानकारी हामीले पाएका छौं ।’ राप्रपाका स्थानीय एक नेताले जानकारी दिए । आजादसँगै ऋषि देवकोटा, गौरब चन्द लगायत पनि टिकटको दौडमा रहेको बुझिएको छ । यता नेपाली कांग्रेसको केन्द्रले क्षेत्र नं. २ मा राप्रपाका उम्मेदवारलाई सघाउने निर्णय गरेपनि जिल्ला तहबाट भने केही नेताहरुको नाम सिफारिस भएको छ । जिल्ला समितिले निरञ्जन सिंह सिजापति, मोहम्मदी सिद्दीकी, राजकुमार बर्मा लगायतको नाम सिफारिस गरेको छ । तर केन्द्रले राप्रपाका लागि छाडिदिएपछि सिफारिसमा परेका उम्मेदवारहरु ब्याक भएका छन् ।
पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति समेत भईसकेका स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले गतिलो उम्मेदवार नपाएपछि राजनीतिक बृत्तमा नकारात्मक टिप्पणी भईरहेको छ । कांग्रेसकै कतिपय नेताहरुले राजनीतिक दृष्टिले महत्वपूर्ण निर्वाचन क्षेत्र राप्रपालाई दिएकोप्रति तीब्र असन्तुष्टि जनाएका छन् । राप्रपालाई क्षेत्र नं. २ छाडेको विषयमा कांग्रेसका एक नेताले भने, ‘ राजनीतिक दृष्टिले क्षेत्र नं. २ सँग नेपाली कांग्रेसको प्रतिष्ठा जोडिएको छ । जसलाई स्थानीय र केन्द्रीय नेतृत्वले ध्यान दिनुपथ्र्यो । यो निर्णयले नेपाली कांग्रेसका नेता–कार्यकर्ता र समर्थकहरुलाई हतोत्साही त बनाएको छ नै साथसाथै बाँकेमा नेपाली कांग्रेस थप कमजोर हुने सम्भावना पनि बढेको छ ।’ नेपाली कांग्रेस बाँकेका सह–सचिव रामकुमार राढ भने क्षेत्र नं. २ राप्रपालाई छाड्ने विषयलाई प्रतिष्ठासँग जोडेर हेर्न नहुने बताउँछन् ।
‘चुनावी गठबन्धनका क्रममा यस्तो सहमति हुनुलाई अन्यथा भन्न मिल्दैन । स्थानीय तहको चुनावमा राप्रपाका उम्मेदवारले पाएको मतलाई आधार मानेरै केन्द्रले राप्रपालाई प्राथमिकता दिएको हुनुपर्छ ।’, सहसचिव राढले भने । यद्यपी स्थानीय तहको चुनावमा नगरमा राप्रपाले पाएको मत सांगठनिक नभई डा. धवल शम्शेर राणाको व्यक्तित्वका कारण भएको राढको भनाई थियो । राढले राप्रपालाई छाड्ने विषयबारे औपचारिक निर्णय भईनसकेको भन्दै मधेश केन्द्रित दलहरुसँग पनि बाँकेमा चुनावी तालमेलबारे छलफल भईरहेको जानकारी दिए । तर संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्दिन राईले भने तालमेलबारे खासै कुरा नभएको बताए । उनले संघीय समाजवादी फोरम तालमेल भन्दा पनि एक्लै चुनाव लड्नेतर्फ बढी केन्द्रित रहेको बताए । राजपा र फोरमबीच केन्द्रमा तालमेलको सहमति भएको छ, बाँकेमा के हुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष राईले भने, ‘नेपालगञ्जको हकमा राजपासँग तालमेल हुँदैन । यो केन्द्रमै सहमति भएको छ । हामी तालमेल नगरेरै चुनावमा जान सक्षम छौं ।’ क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमले पूर्वमन्त्री मो. ईस्तियाक राईलाई उम्मेदवार बनाएको छ भने राजपाबाट विजय कुमार गुप्ता चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ०५:४७