सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकतर्फ ७ प्रकार, प्रत्यक्षतर्फ ३३० थरी मतपत्र


काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन सय ३० थरी मतपत्र छापिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हरेक निर्वाचन क्षेत्रमा जति उम्मेदवार छन् त्यति नै निर्वाचन चिह्न राखेर मतपत्र छाप्ने तयारी गरेको हो । ‘एउटा निर्वाचन क्षेत्रभित्र प्रदेशका दुईवटा निर्वाचन क्षेत्र हुन्छन्’ निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, ‘हरेक प्रदेशका निर्वाचन क्षेत्रमा उम्मेदवार र पार्टीको संख्या फरक हुने हुँदा फरकफरक मतपत्र छाप्नुपरेको हो ।’
उनले प्रत्येक निर्वाचन क्षेत्रमा अब जति जना उम्मेदवार कायम हुन्छन् त्यति मात्र निर्वाचन चिह्न राखेर मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी रहेको जानकारी दिए । आयोगले उम्मेदवारको संख्याका आधारमा मतपत्र छापिने र निर्वाचनमा भाग नलिएको उम्मेदवारको चिह्न पनि मत पत्रमा नहुने हुँदा बदर मत कम हुने अपेक्षा गरेको अर्यालले बताए ।

समानुपातिकमा ८८ चिह्न

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवार भएका जति मात्र मतपत्र छाप्ने वैज्ञानिक विधि प्रयोग गरे पनि समानुपातिकमा भने स्थानीय तहमै गरेको कमजोरी दोहोर्याएको छ । निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलका आधारमा आयोगले प्रतिनिधिसभा निर्वाचनमा ८८ वटा चिह्न अंकित मतपत्र छापेको छ । आयोगले छापेको समानुपातिकतर्फको मतपत्रमा अब ३९ निर्वाचन चिन्ह औचित्यहिन छन् ।
४९ राजनीतिक दलले मात्र समानुपातिक निर्वाचनमा भाग लिनका लागि आयोगमा बन्दसूची पेश गरेकाले बाँकी ३९ चिह्न औचित्यहिन भएका हुन्। ती निर्वाचन चिह्नकै कारण समानुपातिकतर्फ भने मत बदर हुने अवस्थालाई जिवीत गरिदिएको छ । यस्तै आयोगले प्रदेशसभातर्फ पनि समानुपातिक निर्वाचनका लागि दल दर्ताकै आधारमा आयोगले मतपत्र छापेको छ । प्रतिनिधसभा र प्रदेशसभाको समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छापेको आयोगले दल दर्ताकै आधारमा मतपत्र छाप्दा त्यहाँ पनि त्रुटी भएको हो ।
निर्वाचन आयोगले समानुपातिकमा प्रतिनिधिसभाका लागि भन्दा प्रदेशसभाका लागि कम मात्र निर्वाचन चिह्न छापे पनि ती सबै चिह्नका दलहरु निर्वाचनमा सहभागी छैनन् । आयोगले समानुपातिकतर्फको मतपत्र भने सात प्रदेशका लागि सात प्रकारको छापेको छ । प्रदेशमा मात्र सहभागिता जनाउने दलका आधारमा आयोगले फरक फरक मतपत्र प्रकाशित गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार ०९:३४