तीन वर्षअघि न्युजिल्याण्डमा ओर्लंदै सी र पेङ
दक्षिणबाट नेपालका लागि सहजै राजनीतिक उच्चस्तरीय भ्रमण हुने गरेपनि उत्तरी दिशाबाट त्यस्तो भ्रमण नभएकोप्रति हामीकहाँ प्रशस्त गुनासो छ । पछिल्लो पटक चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा जाने चर्चाले उल्लास छाउनै लागिरहेका बेला सरकार पनि ढल्यो, दलहरूबीच चिनियाँ राष्ट्रपतिको भ्रमण होस् र नहोस् भन्ने रस्साकस्सी पनि चल्यो । पाँच वर्षे कार्यकालमा पनि चिनियाँ राष्ट्रपतिलाई नेपाल टेक्ने मौका नमिल्दा हाम्रा नेताहरूबीच नै प्रतिष्ठा वा हारजितको लडाइँजस्तो स्थिति देखियो ।
अघिल्लो पटक हु जिन्ताओे राष्ट्रपतीय कार्यकालको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री वेन जियावाओ झुलुक्क काठमाडौंमा देखिएका थिए । तर यतिले मात्रै धीत मरेको थिएन । चिनियाँ राष्ट्रपतिलाई नेपाल घुम्न जाने फुर्सद किन नमिलेको भन्ने हामीलाई लाग्छ तर उनको व्यस्तताले नेपाल भ्रमण गर्नु त्यति सजिलै जुर्ने संयोग हो जस्तो देखिँदैन । हालसालै चिनियाँ परराष्ट्र मन्त्रालयकी भाषा अनुवादक चौ यूले राष्ट्रपति सीको भ्रमणबारे सिसिटीभीमा एउटा अन्तर्वार्ता दिँदै भनिन्, ‘चीनका राष्ट्रपति सीलाई कहिलेकाहीँ त खाना खाने फूर्सत् पनि मिल्दैनथ्यो, सुक्खा बिस्कुटकै भरमा पनि भ्रमण र भेटघाटमा लागिरहेका हुन्थे ।’
लक्ष्मी लम्साल/बेइजिङ
कार्यकालको पाँच वर्षभित्र सीले कूल २८ वटा विदेश यात्रा गरे, १९३ दिन विदेश डुले, कूल ५ लाख ७० हजार किलोमिटर पार गरे । पृथ्वीका पाँचै महादेशका ५६ मुलुक टेके, अन्तर्राष्ट्रिय संघ, संगठनका कार्यक्रममा उपस्थित भए । झण्डै तीन दशकको अन्तरालपछि सीले २०१४ को सेप्टेम्बरमा श्रीलंकाको भ्रमण गरे भने सोही समयमा भारत र माल्दिभ्सको राजकीय भ्रमण गरे । अप्रिल २०१५ मध्यतिर पाकिस्तानको भ्रमण गरे । उही दक्षिण एसियाली क्षेत्र, नेपालको नजिकै पुगेर पनि सीले होला होलाजस्तो भइसकेको नेपाल भ्रमण गर्न सकेनन् । विदेश यात्राबाहेक देशभित्र हुँदा पनि सी चिन पिङ निरन्तर कुदिरहेका हुन्छन् । प्रत्येक नागरिकले महसुस गर्ने औसत समृद्ध चिनियाँ समाज बनाउने सपना साकार तुल्याउनका लागि उनलाई कुदिरहनु परेको छ ।
सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेसनबाट पार्टीको महासचिव बनेपछि सीले वायुवेगका साथ देश–विदेशको यात्रा गर्न थालेका हुन् । पाँच वर्षअघि बेइजिङ बाहिरको व्यापारिक सहर शनचन, क्वाङतोङ प्रान्त जो सुधार र खुलापनमा अग्रपंक्तिमा रहन्छ, को सीले भ्रमण गरे । त्यहाँबाट फर्किएपछि बेइजिङको छिमेकी प्रान्त हेपेइ पुगेर गरिबी निवारणका लागि भैरहेका प्रयासहरू अवलोकन गरे । यस भ्रमणबाट सीको शासन शैली र राष्ट्रिय पुनर्निर्माणमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीको २०२० को लक्ष्य तथा जनगणतन्त्र चीन स्थापनाको २०४९ अर्थात् शताब्दी लक्ष्य अवधारणाले दिमागमा चित्र बनायो । त्यसैले देशभित्रै कूल १५१ दिन लगाएर सीले २०१२ यता ५० वटा अनुगमन यात्रा पूरा गरे ।
सुधार र नवाविष्कार : यी सीका सदावहार विचार हुन् । २०१६ मा आन्हुई प्रान्तको स्याउकाङ प्राङ्गण पुगे जहाँ १९७८ ताका १८ किसानबीच सामुदायिक जमीन प्लटिङ गर्ने गोप्य सम्झौतामा हस्ताक्षर भएको थियो । यहाँबाट चीनको दुर्गम क्षेत्रको सुधारको सुरूवात भएको थियो । त्यो इतिहासलाई सम्झिएर सीले बारम्बार सुधार भन्ने शब्दलाई हरेक मौकामा दोहो¥याउन थाले । शाङहाईमा पाइलट फ्री ट्रेड जोन, थ्यानचिन पिनहाइ नयाँ क्षेत्र, वुहान वृहत् जायजेथा साटफेर र अरू भ्रमण गरेपछि सीले सुधारलाई गहन पार्ने एजेण्डालाई सशक्त बनाए ।
च्याङ्सु, शानतोङ र हुपेई प्रान्त घुमेर सीले दह्रो अन्वेषण र चुस्त पुनर्सुधारको अवधारणा ल्याए, यसबाट सुधार र स्थिरतालाई बल पुग्ने निचोड निकाले । २०१४ मा कमर्सियल एयरक्राफ्ट कर्पोरेसन पुगेर सी–९१९ मोडल विमानभित्र चढे जुन चीनले आफैँ बनाउने ठूलो विमान थियो । स्वदेशी मौलिक विमान जसरी पनि बनाइछाड्न इन्जिनियरमाथि थपिएको हौसलाको परिणामस्वरूप तीन वर्षमै चीनको यो लक्ष्य पनि पूरा भयो । त्यस्तै अनुसन्धानात्मक संस्थाहरू, विश्वविद्यालयहरू, हाइटेक कम्पनी र न्यु डेभलपमेन्ट जोनहरुको निरीक्षण भ्रमण गर्ने क्रममा उनले नवाविष्कार र व्यवसायीकरणलाई परिणाममुखी बनाउन जोड बल गरिरहे ।
गरिबी निवारण : बितेका ५ वर्षमा सीले कैयौं शक्तिहीन क्षेत्र तथा दरिद्र घरपरिवारका दैलोहरू चहारे । पश्चिम चीनका पहाडी श्रृंखलामा पर्ने सबैजसो गरीब क्षेत्रहरूमा सी पुगे । उनी भित्री मंगोलिया, हुनान, निङ्स्या, लगायत कैयौं दरिद्रताले छोपेका गाउँ र मजदुरका झुपडीमा पुगेर आफ्नै आँखाले हेरेर सुधारको खाका तयार गर्न जुटे । उनले भने, जनताको कठिन जीवनशैली हृदयविदारक थियो । लगत्तै उनले देशभरी श्रृंखलावद्ध गोष्ठीहरू संचालन गरेर आफूले देखेका र सुनेका कुराहरूबारे सहभागीहरूबीच छलफल चलाए । त्यसपछि सबै तह र तप्काबाट सन् २०२० सम्म चिनियाँको जीवनस्तर उकास्ने र कम्तीमा औसत समृद्ध समाज बनाउने अठोट गरे । चीनले पुनःसुधार र खुलापनको तीन दशकमा ७० प्रतिशत विश्व गरिबी न्यूनीकरणको लक्ष्य पार गरेको छ ।
२०१७ को फेब्रुअरीमा सी हपेई प्रान्तको आनसिन काउन्टी पुगे, त्यहाँ जानुको अर्थ, जनघनत्व, भौगोलिक अवस्थिति र जलविज्ञानको अवस्था मूल्यांकन गर्नु थियो । गत अप्रिल १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदको बैठकबाट त्यहाँ राष्ट्रिय तहका नयाँ क्षेत्र राख्ने घोषणा गरे । जुनसुकै अनुगमन वा निरीक्षण टुरमा निस्केपनि सीले कुनै न कुनै योजना तथा कार्यान्वयनको मुख्य नीतिहरूका मार्गचित्र सुनाउने र सर्वसाधारणका विचारहरू ध्यान दिएर सुन्ने गर्थे । २ वर्षअघि जब १८ औं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकका लागि दस्तावेज तयार गर्ने क्रम चलेको थियो, सीले पूर्वी, मध्य, पश्चिमी र उत्तरपूर्वी भागहरूको स्थलगत भ्रमण गरे ताकी तेह्रौं पञ्चवर्षीय योजनाका लागि आर्थिक तथा सामाजिक विकासको रूपरेखा कोर्न वस्तुगत ज्ञान दिमागमा भरियोस् । तेह्रौं पञ्चवर्षीय योजना बनाउने क्रममा उनले १८ प्रान्तका नेताहरूसँग गोष्ठी छलफल गरे ।
१९औँ महाधिवेशन अघि उनले क्वाङ्सी च्वाङ स्वायत्त क्षेत्रको गत अप्रिलमा भ्रमण गरे, तल्लो तहका स्थानीय नेताहरूसँग सुझाव र अपेक्षा संकलन गरे । उनले भने, ‘महाधिवेसनको तयारीका लागि देशका सबै जातजातिको ज्ञानलाई ग्रहण गर्नुपर्छ ।’ जहाँसुकै घुमे पनि सी जिनपिङले भ्रमण व्यर्थ बनाउँदैनन् । किनकि उनी जहाँ पुगेपनि एक राष्ट्रपिताको जस्तो भरोसा दिन्छन्, आफ्नो इच्छाशक्ति दोब्बर पारेर फर्किन्छन् । तैपनि कुनै भूकम्प बाढी पहिरो प्रकोप निरीक्षण गर्न गएजस्तो उनका घाँटीमा फुलका माला पहिरिएको देखिएन, झरी वर्षामा अरूले ओढाइदिएको छातामा भर परेको देखिएन, उनका जुत्तामा लागेको धुलो कसैले पुछेको पनि देख्न पाइएन अनि उनको सवारीका लागि सारा सडकहरू खाली गरेको पनि कहीँकतै सुनिएन । गरिब–दुःखी भनेर कसैप्रति घिनाएको वा फरक विचारधारी भनेर छिःछिःदूर दूर गरेको पनि देखिएन । गाउँवस्ती भीरपाखामा उनी एक सेवकको रूपमा हिँड्दा कुनै जन्तीको दुलाहा भएर कसैको बुइ लागेको पनि देखिएन । (लेखक लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।)
।