खम्बप्रसाद पुन/बाँके । खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका जेष्ठ नागरिकका लागि गाउँमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेपछि जेष्ठ नागरिक हर्षित भएका छन् । गाउँपालिकाका ८ वटै वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अनुरुप सबे वडामा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । स्थानीय तहको निर्वाचनका बेला नै जेष्ठ नागरिकका लागि गाउँमै पुगेर स्वास्थ्य सेवा दिने प्रतिवद्धता जनाएकाले त्यसको कार्यान्वयन गर्दै स्वास्थ्य शिविरमार्फत जेष्ठ नागरिकको विशषेज्ञ चिकित्सकको टोलीद्वारा स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्ल बताउँछन् ।
उनले जेष्ठ नागरिकलाई गाउँबाट अन्यत्र पुगेर स्वास्थ्य जाँच गर्न कठिनाई पर्ने भएकाले गाउँमै बेलाबेलामा स्वास्थ्य जाँच र औषधी वितरण गरेर सेवा दिने परम्परा शुरु गरिएको बताए । लामो समयपछि गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधी पाउँदा जेष्ठ नागरिक हर्षित देखिएका छन् । स्वास्थ्य जाँचका लागि शिविरमा पुगेका जेष्ठ नागरिक रुद्रबहादुर रानाले शारीरिक अशक्तताका कारण औषधि उपचारका लागि टाढा रहेका अस्पताल पुग्न नसक्ने भएकाले गाउँमै भएको स्वास्थ्य शिविरले आफुहरुलाई लाभ भएको प्रतिक्रिया दिए । उनले आफुले आफ्ना समस्या शिविरमा जाँच गराएर गाउँमै यसरी सेवा पाएकोमा खुशी व्यक्त गरे ।
अर्का जेष्ठ नागरिक चन्द्रकला विकले यसअघि गाउँठाउँमा स्वास्थ्य शिविर भए पनि जेष्ठ नागरिककै लागि भनेर छुट्टै स्वास्थ्य शिविर संचालन नभएकाले खजुरा गाउँपालिकाले शुरु गरेको स्वास्थ्य शिविरले जेष्ठ नागरिकलाई स्वास्थ्य जाँचका लागि अवसर भएको बताइन । उनले स्वास्थ्य शिविरले आफुहरु लाभाविन्त भएको भन्दै यस्ता सेवाले सरकारी कामको मूल्याकंन हुने उल्लेख गरिन् । करीब ४ सय ५० जना सामाजिक सुरक्षाका लक्षित वर्ग रहेको राधापुरमा संचालित शिविरबाट करीब १ सय बढी जेष्ठ नागरिकले सेवा लिएका थिए । शिविरमा दम, उच्चरक्त चाप, सुगर, हाडजोर्नी, थाइराइड लगायतका सेवा दिइएको थियो ।
।