बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय पारित गरेको छ । यससँगै सीले महाधिवेसनको सुरुवातमा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’ पार्टीको निर्देशक सिद्दान्तहरुमध्ये एक बनेको छ । पार्टी विधानमै सीको विचारधारा उल्लेख भएसँगै सी माओ त्सेतुङ र देङ स्यायो पेङ जत्तिकै शक्तिशाली भएको विश्लेषण गरिएको छ । अझ केहीले सीलाई देङभन्दा शक्तिशाली नेताका रुपमा हेर्न थालेका छन् ।
१९ औँ महाधिवेसनको अन्तिम दिन मंगलबार समापन समारोहबीच सीको विचारधारालाई विधानमा स्थापित गर्ने घोषणा गरिएको हो । ‘सी जिनपिङ विचारधारा पार्टीको एक निर्देशक सिद्दान्त बन्नुपर्छ भन्ने विषयमा कंग्रेस एकमत छ,’ पार्टीको एक वक्तव्यमा भनिएको छ । सो घोषणापछि छोटो मन्तव्य राख्दै सीले भने, ‘आज हामी सवा तीन अर्बभन्दा बढी चिनियाँहरु उत्साह र गरिमापूर्वक बाँचिरहेका छौँ । हाम्रो भूमिले महान गतिशीलतालाई प्रसारित गर्दछ । अनन्त महिमा र प्रभावसहित हाम्रो चिनियाँ सभ्याता चम्किरहेको छ ।’ ‘हाम्रो पार्टीले बलियो, सुदृढ र गतिशील नेतृत्व दिएको छ । हाम्रो समाजवादी प्रणालीले महान शक्ति र जीवन्तता प्रदर्शन गरेको छ,’ उनले भने ।
के हो सी जिनपिङ विचारधारा ?
सी जिनपिङ विचारधारालाई नेताहरूले आफ्नो भाषणमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’ का रुपमा उल्लेख गर्ने गरेका छन् । यसले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा माओ युग र देङ युगपछि सी जिनपिङ युगको सुरुवात भएको संकेत गरेको छ । सी जिनपिङ विचारधाराले कम्युनिष्ट पार्टीलाई मुख्य जोड दिन्छ । महाधिवेसन उद्घाटन समारोहमा समाज र राजनीतिको हरेक क्षेत्रमा पार्टीको नेतृत्वलाई सुनिश्चितता गर्नुपर्ने सीले बताएका थिए । महाधिवेसनको सुरुवातमा आफ्नो प्रतिवेदनमा सीले यो विचारधाराको १४ प्रमुख सिद्दान्त रहेको बताएका थिए । जसमा ‘पूर्ण सुधार’, ‘विकासका नयाँ अवधारणा’, ‘मानवजाति र प्रकृतिको साझा भविष्य’, ‘सेनामाथि पार्टीको पूर्ण नियन्त्रण’, ‘एक राष्ट्र, दुई प्रणाली’ लगायतका विचारहरु उल्लेख छन् ।
महाधिवेसन समापन समारोह
सीको विचारधारा बदलिँदो चिनियाँ सन्दर्भमा मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई लागु गर्ने प्रणाली भएको कम्युनिष्ट पार्टीका नेताहरुले बताएका छन् । सीले आफ्नो प्रतिवेदनमा पनि यो विचारधाराले माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा, देङ स्यायो पेङ सिद्दान्त, तीन प्रतिनिधित्वको सिद्दान्त र विकासबारे वैज्ञानिक दृष्टिलाई अझ सम्पन्न बनाउने उल्लेख गरेका थिए । त्यस्तै सीले २१ औँ शताब्दीको मध्यसम्ममा चीनलाई ‘महान आधुनिक र समाजवादी’ राष्ट्र बनाउने योजना पनि अघि सारेका छन् । यसका लागि उनले दुई चरणको लक्ष्य तय गरेका छन् ।
जसअनुसार सन् २०३५ सम्म कम्युनिष्ट पार्टीले समाजवादी आधुनिकीकरणमा जोड दिने र सन् २०५० सम्ममा ‘समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, साँस्कृतिक रुपले विकसित, सामञ्जस्यपूर्ण र सुन्दर’ चीन बनाउने उनले बताएका छन् । यसका लागि सेनाको सुदृढीकरण, नवान्वेषण, आर्थिक विकास र कूटनीतिमा उनले विशेष जोड दिएका छन् । ‘यो युगमा चीन विश्वको केन्द्र बन्दै जानेछ र चीनले मानवजातिका लागि थप योगदान दिँदै जानेछ,’ सीले भनेका थिए । पश्चिमा सञ्चारमाध्यमले सीको यो अवधारणा ‘अमेरिका फर्स्ट’ कै झल्को दिने विचारधारा भएको बताएका छन् ।
बेइजिङमा बेच्न राखिएका माओ र सीका स्मारिका
सी कति शक्तिशाली ?
यसअघिका नेताहरुहरुले पनि आफ्नो विचारधारालाई पार्टी विधानमा उल्लेख गर्ने गरेका छन् । तर माओ र देङबाहेक अन्य नेताको नाम ती विचारमा जोडिएका छैनन् । अझ माओबाहेक अन्य कसैको पनि विचारलाई ‘विचारधारा’ को रुपमा स्थान दिइएको छैन। चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा माओ विचारधारा र देङ स्यायो पेङ सिद्दान्तले स्थान पाएको छ । यसर्थमा सीलाई माओजत्तिकै र देङभन्दा बढी शक्तिशाली नेता मान्न थालिएको छ ।
अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले फाइनान्सियल टाइम्समा लेखेका छन्, ‘सी देङ स्यायो पेङपछि सबैभन्दा शक्तिशाली नेता हुनेछन् भनेर मैले पाँच वर्षअघि लेखेको थिएँ । वास्तवमा म गलत थिएँ । उनी माओ त्सेतुङपछि चीनको सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।’ केहीले अब सीविरुद्ध उभिनु कम्युनिष्ट पार्टीविरुद्ध उभिनुजत्तिकै भएको बताएका छन् र सीले २०२२ पछि पनि आफ्नो शासनकाल लम्ब्याउन सक्ने दाबी गरेका छन् । यद्यपि सीलाई सामूहिक नेतृत्वमा विश्वास गर्ने व्यवहारिक नेताको रुपमा पनि चित्रित गरिन्छ । उनले पार्टीभित्र उत्तराधिकारको प्रश्नलाई हल गर्न पनि सहमतिको आधारमा कदम चालेको बताइएको छ ।
।