सूचनाको शक्ति - The Power Of Information

        

घर कलहको बीउ : घरेलु मदिरा

विद्यार्थीलाई मदिरा नियन्त्रण बारे जानकारी गराउँदै प्रहरी ।

हिमाली गाउँपालिकाको बाँधुमा अवैध मदिरा नष्ट गरिदै ।

कृष्ण ओली/बाजुरा । बडिमालिका नगरपालिका–९ की मिना सनाई (नाम परिर्वतन) को घरमा झगडा नभएको तीन महिना भन्दा बढी भयो । आजभोलि उनले दिनहुँ श्रीमानबाट गाली र कुटपिटको यातना पनि सहनु पर्दैन । विगतको तुलनामा श्रीमानले मायालु व्यवहार गर्न थालेका छन् । कारण एउटै हो, श्रीमानले मदिरा सेवन गर्न कम गरेका छन् । राती १० बजेपछि मात्र घर पुग्ने श्रीमान साँझ आठ नबज्दै पुग्छन् । नबिराई मदिरा सेवन गर्ने बानी परिर्वतन भएको छ । मदिरा सेवन गरेपनि हप्ताको एक दुई दिन, त्यो पनि थोरै मात्रामा सेवन गर्छन् ।
‘उहाँले मदिरा सेवन गर्न कम गरेदेखि घर झगडा पनि भएको छैन्, प्रहरीको सहारा लिन पनि छुटेको छ,’ सनाईले लजाएर भनिन् । अत्याधिक मदिरा सेवन गर्दा श्रीमानले तथानाम गाली गर्ने, कुटपिट गर्ने, बिनाकारण अरुसँग नाम छोडेर चरित्र हत्या गर्ने बानी थियोे, सहन नसकेर हप्तैपिच्छे प्रहरीमा उजुरी गर्नुपथ्र्यो, त्यो कम भएको मिनाले बताइन् । मिनाको परिवार आर्थिक रुपमा विपन्न छ । श्रीमानको सिलाइकटाइबाट आएको रकमले ६ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । आम्दानी कम खर्च बढी हुने हुँदा मिना धेरै दिन भोकै बस्न बाध्य थिईन् । प्रहरी पनि साँझ नियन्त्रणमा लिने र विहान माफी मगाएर मिलापत्र गरेर पठाउँदा हैरान थिइन् ।
बाजुराकै एक जना महिलाले श्रीमान विरुद्ध एक महिनाको अवधीमा पाँच दिन उजुरी गरेको प्रहरी स्रोतले बताएको छ । ‘ती मध्ये तीन वटा लिखित उजुरी नै थिए । तर, आजभोलि ती महिला आउँनै छोडिन्’ प्रहरी निरीक्षक जगदिशचन्द्र भट्टले भने । मिनाको श्रीमानले मदिरा छोड्नुको एउटै कारण अवैध घरेलु मदिरा सहज उपलब्ध नहुनु हो । प्रहरीले अवैध घरेलु मदिरा बन्द गर्ने गरि अप्रेशन जारी राखेको छ । सहज र सुलभ रुपमा घरेलु मदिरा पाईदैन् । ब्रान्डेट कम्पनीको महंगो मदिरा मात्र उपलब्ध हुँदा अधिकांशले सेवन गर्न कम गरेका छन् । ५० रुपैया तिरेर अधिक नशामा लट्ठीने बानी परेकालाई घरेलु मदिरा बन्द भएपछि निकै गाह्रो भएको छ । मिनाकै जस्तै समस्या हिमाली गाउँपालिका–६ बस्ने सौरा दमाईलाई पनि थियो ।

विद्यार्थीलाई मदिरा नियन्त्रण बारे जानकारी गराउँदै प्रहरी ।

गाउँमा जताततै घरेलु मदिरा पाइन्थ्यो त्यो बन्द भएपछि उनका श्रीमानले पनि मदिरा सेवन गर्न कम गरेका छन् । ‘उनले खान कम गर्यादेखि सुखका दिन फरक्या जसो लाग्यो हजुर । त्यहि दिनदेखि कल झगडा केही छैन, पुलिस गाउँ आया, मैले त देउता आया जसो मान्याको छ,’ सौराले स्थानीय भाषामै भनिन् ।’ प्रहरीले गएको वर्षको बैशाखदेखि घरेलु मदिरा बन्द गर्न अप्रेशन सुरु गरेको हो । जिल्लामा अनुमति पाएको मदिरा भन्दा चार गुणा बढी घरेलु मदिराको बजार थियो । प्रहरीले एक वर्षको अवधीमा ७ हजार ७३५ लिटर मदिरा नष्ट गरेको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले बताए । प्रहरीले बस्ती टोल र सुराकीको आधारमा घरमा समेत छापा मार्ने गरेको छ । जसका कारण विवाद र झैझगडाका घटनाहरू घटेका छन् ।
प्रहरी कार्यालयले पीसविन नामक गैर सरकारी कार्यालयसँग सचेतनाका कार्यक्रम समेत विद्यालय, बस्ती र टोलमा गएर सञ्चालन गर्दा पनि सहयोग पुगेको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक जगदिश चन्द्र भट्टले बताए । भट्टका अनुसार अहिले ४५ प्रतिशत कुटपिट र झैझगडाका घटना कम भएका छन् । ‘मदिरा सेवनकै कारण हुने घटनामा ४५ प्रतिशतले कमी आएको छ । फलानाले मदिरा खाएर गाली ग¥यो, कुटपिट भयो, भनेर कुनै बजार क्षेत्र र घरपरिवारबाट लिखित उजुरी नै आएको छैन’ भट्टले थपे । ‘घरेलु मदिरा बन्द नहुँदासम्म दैनिक १० जनासम्म पनि मौखिक र लिखित उजुरी लिएर आउने गर्थे। त्यसमा पनि कोल्टी, मार्तडी बजार क्षेत्रका बढी थिए । गाउँबाट फोन पनि आउँथ्यो । आजभोलि बन्द जस्तै भएको छ,’ भट्टले भने ।
मदिरा बन्द गर्नाले पहिलो सहयोग महिलालाई पुगेको पनि उनको भनाइ छ । सजिलै उपलब्ध हुने भएपछि यहाँका सर्वसाधारणको पहिलो रोजाई घरेलु मदिरा नै हुने गथ्र्यो । आजभोलि निकै गोप्य र लुकिछीपी मात्र उत्पादन हुने गर्छ । प्रहरीले चाड पर्व र भोज भतेरको समयमा झनै बढी निगरानी र गस्ती बढाउने काम गरिरहेको पनि प्रहरी निरीक्षक भट्टले बताए । प्रहरीले छापा मार्ने र हजारौको नोक्सानी हुने भएपछि उत्पादकहरूले पनि अवैध मदिरा उत्पादन कम गरेको प्रहरीको दाबी छ । विद्यालय, वडा नागरिक मञ्च, किशोरी समूह, महिला समूह लगायतलाई समेत जानकारी दिने गरेको पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावलले बताए । प्रहरी स्वयम् गाउँ गएर स्थानीयलाई सम्झाउँदा बढी प्रभावकारी हुने गरेको रावलले थपे ।
विगतमा प्रहरी कार्यालयमा आउने उजुरीको संख्या घटेको छ । पछिल्लो समय उजुरी कम हुँदा महिला अधिकारकर्मी पनि फुर्सदमा जस्तै छन् । दिनहुँ झैझगडा र विवाद मिलाउन सक्रिय रहने जिल्ला महिला अधिकार मञ्च कामविहीन जस्तै छ । जटिल प्रकृति, बलात्कार, बहुविवाह लगायतका घटना बाहेक उजुरी कम भएको अधिकारकर्मी सीता विकले बताईन् । मदिराको नशामा हुने विवादका घटनाहरू धेरै कम भएको उनले थपिन् । ‘बिनाशुल्कका उजुरी धेरै लेख्नुपथ्र्यो । त्यो कम हुँदै गएको छ । अधिकांश घटनाहरूको पछाडि मदिरा नै प्रमुख कारण देखिन्थ्यो’ अधिवक्ता भीमबहादुर केसीले बताए । प्रहरीले पनि ६ वटा प्रहरी चौकी, एक वटा विमानस्थल सुरक्षा गार्ड र जिल्ला प्रहरी कार्यालयमा कडाई गरेको छ । नौ बजेपछि मदिरा विक्री वितरण र सेवनमा पनि रोक लगाएको छ । अवैध मदिरा नियन्त्रण गर्दा स्थानीय मेला पर्वमा समेत होहल्ला र झैझगडाका घटनामा कमी आएको देखिन्छ । आर्थिक बचतसँगै स्वयम् व्यक्तिको स्वास्थ्य सुधार भएको छ, भने महिला तथा बालबालिकालाई सजिलो भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार ०६:२३