सूचनाको शक्ति - The Power Of Information

        

एमाले–माओवादी घोषणापत्र : ‘पानी जहाज चलाउने, रेलमार्ग काठमाडौं जोड्ने’ (पूर्णपाठसहित)


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री छँदा भारतीय नाकाबन्दीविरुद्ध बोल्दा समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने बताएका थिए । एमाले र माओवादी केन्द्रको संयुक्त निर्वाचन घोषणापत्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने कुरा उल्लेख गरेका छन् । भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गरिने कुरा दुवै पार्टीका नेता सम्मिलित कार्यदलले तयार पारेको घोषणा पत्र मस्यौदामा छ ।
एमाले र माओवादी केन्द्रले घोषणा पत्रमा सुदृढ राष्ट्रिय सुरक्षाका साथै राष्ट्रिय हित र स्वाभिमानको रक्षालाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । घोषणापत्रको मस्यौदामा भनिएको छ, ‘राष्ट्रियताप्रतिको गौरवबोध र राष्ट्रिय एकताको भाव सम्बद्र्धन गरिनेछ ।’ दुवै दलले स्वतन्त्र र सन्तुलिन अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकता दिएका छन् । यस अन्तर्गत ‘स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गरिनुका साथै हीनताबोध र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गरिने’ मस्यौदामा उल्लेख छ ।
यसैगरी ‘सन् १९५० लगायत सबै असमान सन्धि र सम्झौता खारेज गरी पञ्चशीलको आधारमा नयाँ सन्धि गरिने’ र ‘सीमा समस्याको समाधान र सीमा–नाकाहरुको व्यवस्थापनका लागि कुटनीतिक पहल अगाडि बढाइने’ उल्लेख गरिएको छ । दुवै दलले ‘सक्षम प्रदेश र अधिकार सम्पन्न स्थानीय सरकार’ भन्ने नारामा जोड दिएका छन् । यस अन्तर्गत ‘प्रदेश सभाले तोकेको प्रदेश केन्द्रमा एसियाली स्तरमा आधुनिक सहरको विकास गरिने र प्रत्येक प्रदेशमा विशेष व्यापारिक केन्द्र र सांस्कृतिक पहिचान सहितका सहरहरुको विकास गरिने’ कुरापनि समावेश गरिएको छ ।
दुवै दलले प्रत्येक घरमा चौविसै घण्टा विद्युत उपलब्ध गराइनुका साथै आगामी १० वर्ष्भित्र १५ हजार मेघावाट विद्युत् उत्पादन गरिने कुरा पनि घोषणा पत्रको मस्यौदामा समावेश गरेका छन् । यसैगरी काठमाडौं तराई द्रुतमार्ग ५ वर्षभित्र निर्माण गरिने पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाइने, रसुवागढी–काठमाडौं पोखरा लुम्बिनी रेलमार्ग तथा काठमाडौं वीरगञ्ज रेलमार्ग निर्माण गर्ने उल्लेख छ । त्यसबाहेक राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलवे सञ्जालसँग जोड्ने र राजधानीलाई सबै प्रादेशिक केन्द्रहरुसँग फाष्टट्रयाकद्धारा जोड्ने कुरा पनि घोषणा पत्रको मस्यौदामा छ । पर्यटन र उद्योग नीति अन्तर्गत ताप्लेजुङ–दार्चुला जोड्ने गरी हिमाली पर्यटकीय पदमार्ग निर्माण र प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम विकास गरिने उल्लेख छ । यसैगरी मुस्ताङमा युरेनियम उत्खनन तथा प्रशोधन केन्द्र स्थापना गरिने पनि उनीहरुले उल्लेख गरेका छन् ।

यस्तो छ एमाले–माओवादीको संयुक्त घोषणापत्रको ३१ पृष्ठ लामो मस्यौदा (स्रोत : नेपालखबर) :

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतवार ०८:५३