सूचनाको शक्ति - The Power Of Information

        

आक्रमक चुनावी अभियानमा पशुपति


सपना बिष्ट/बाँके । संयुक्त बाम गठबन्धनका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं.२ बाट उम्मेद्वार हुने पक्का भएपछि पशुपतिदयाल मिश्रले आक्रमक ढंगले चुनावी अभियानलाई तीब्रता दिएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट र अन्य चुनावी रणनीतिबारे छलफल चलाइरहेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र राजनीतिक समुहको बाम गठबन्धनका तर्फबाट क्षेत्र नं. २ बाट उम्मेदवार हुने मिश्रले शनिवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ र २२ का अगुवा कार्यकर्तासंग भेटघाट गरेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अधिकांश नेताहरु आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको टिकटका लागि राजधानी पुगेका बेला नेता मिश्रले भने चुनावी अभियान आक्रामक बनाइरहेका छन् ।
स्वतन्त्र राजनीतिक समुहका नेता मिश्र नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर बाँके क्षेत्र नम्बर २ मा चुनाव लड्ने भएका छन् । उनलाई एमाले बाँकेले सर्वसम्मत सिफारिस गरिसकेको छ । ‘घरदैलो र भेटघाट कार्यक्रम सुरु गरेका छाँैं, आफनो निर्वाचन क्षेत्र अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ र २२ का अगुवा कार्यकर्तासँगको भेटघाटमा रहेका मिश्रले भने, ‘अहिले हामी अगुवा कार्यकर्तासँग भेटघाट गरी चुनावी रणनीति तय गर्दैछौँ ।’
उनले नेकपा एमाले, नेकपा माओवादी र स्वतन्त्र राजनीतिक समुहका नेता कार्यकर्ताहरुसँग भेटघाट गर्ने गरेका छन् । नेता मिश्रले आफनो निर्वाचन क्षेत्रका अगुवा कार्यर्तासँग वर्तमान परिस्थितिमा गरिएको गठबन्धनले देशलाई समृद्धिको बाटोमा लैजाने दावी गरे । नेता मिश्रले निर्वाचन परिचालनको पहिलो चरणमा अगुवा कार्यकर्तासँग भेटघाट गरिरहेको नेकपा एमाले प्रचार विभाग सदस्य शकील खानले जानकारी दिए ।
उनले भने, ‘पहिलो चरणको कार्यक्रमपछि पुनः थप रणनीति तय गरेर अघि बढ्ने छौँ ।’ क्षेत्र नं. २ को प्रदेश ‘क’मा प्रस्तावित उम्मेदवार रहेका नेकपा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ आफै पनि मिश्रको चुनावी अभियानमा सक्रियतापूर्वक सहभागी हुने गरेका छन् । उपाध्यक्ष गुरुङले यसपटक क्षेत्र नं.२ मा एमालेको कब्जा हुने दावी गरे ।

प्रकाशित मिति : २८ आश्विन २०७४, शनिबार ०८:१३