उपचार नपाएको गुनासो सुनाउँदै बसन्ता रोकाय ।
बाँके । वैजनाथ गाउँपालिका–१, रारावस्तीकी पूर्व लडाकु बसन्ता रोकायको दाहिने पाखुरामा बन्दुकको ३ वटा छर्रा छ । बन्दुकको छर्रा भएका कारण उनले राम्रोसँग काम गर्न सक्दैनन् । छर्रा भएको हात बेला–बेला दुख्ने गरेको छ । पाखुरामा भएको छर्राले दुखाउँदा उनले माओवादी युद्धलाई सम्झिन्छन् । उक्त छर्रा निकाल्नका लागि उनले अनेक उपाय लगाइन्, अस्पताल धाइन्, तर आर्थिक अवस्था कमजोर भएका कारण छर्रा निकाल्न सकेकी छैनन् ।
पाखुरामा भएको छर्राले युद्धको स्मरण गराउने गरेको उनले बताइन् । माओवादी जनयुद्धमा उनले पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर तिब्बतको सीमानादेखि दक्षिणमा भारतको सीमानासम्म हुने लडाइँमा सहभागी भइन् । आफ्नो ज्यान हत्केलामा राखेर देस र जनताका लागि जनयुद्धमा होमिए पनि अहिलेसम्म पाखुरामा भएका छर्रा निकाल्न नसकेको उनले बताइन् । ‘शान्ति वार्ता र शान्ति प्रक्रिया पछि भएको संविधान सभामा माओवादी नेताहरुलाई जिताउन भोक, पियास नभनि खटियौँ, तर उनैका लागि लड्दा लागेको छर्रा निकाल्नेतर्फ कुनै नेताले सहयोग गरेनन्,’ उनले गुनासो गरिन् ।
नेपाल सरकारले द्वन्द्वमा घाइते भएकाको निशुल्क अप्रेसन, उपचार र फिजियोथेरापी गर्ने ब्यवस्था मिलाएको छ । द्वन्द्वमा घाइते भएकाहरुको भेरी अंचल अस्पतालमा निशुल्क उपचार भएपनि बसन्ताले चाहेर पनि नपाउने भएकी छन् । सरकारले प्रदान गरेको निशुल्क सेवा लिन भेरी अंचल अस्पताल गएपनि द्वन्द्व पीडित सम्बन्धि कागजात र परिचय पत्र नभएका कारण सेवाबाट बञ्चित भएको उनले बताइन् । ‘उपचारका लागि द्वन्द्वपीडित भएको कागजात पेश गर्नुपर्ने रहेछ, कागजात नभएकोले सेवाबाट बञ्चित हुनु प¥यो,’ उनले भनिन् ।
कागजात नभएका द्वन्द्वपीडितको पनि उपचार गर्न माग
बसन्ता रोकाय उपचार पाउन नसकेका घाइते द्वन्द्वपीडितहरुका प्रतिनिधि पात्रमात्र हुन् । उनी जस्तै बाँकेका धेरै घाइते द्वन्द्वपीडित कागजात पु¥याउन नसकेका कारण उपचारबाट बन्चित भएको द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेकी सचिव जयन्ती केसीले बताइन् । उनले साविक नौवस्ता, चिसापानी र महादेवपुरी गाविसका कम्तीमा १० जनाको उपचार नगराई नहुने अवस्थामा रहेको बताइन् । उनले चिसापानी र नौवस्ताका ७ र महादेवपुरीका ३ जना द्वन्द्वपीडितको शरिरमा भएको छर्रा निकाल्नै पर्ने अवस्था रहेको बताइन् ।
‘प्रक्रिया र सेवाका बारेमा जानकारी नपाउँदा द्वन्द्वपीडित घाइतेहरु सम्पर्कमा आएका छैनन्, केहि कागजातका कारण सेवाबाट बञ्चित भएका छन्,’ उनले भनिन् । भेरी अंचल अस्पतालले द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात मागेका कारण कागजात नभएका घाइतेहरु सरकारी सेवाबाट बञ्चित भएको बताइन् । ‘केहि आफ्नै लापरवाहीले द्वन्द्वपीडितको सिफारिस र परिचय खुल्ने कागजात बनाउनु भएन, केहिको राज्यकै कारण कागजात बन्न सकेको छैन,’ उनले भनिन् । उनले कागजातको आधारमा नभई द्वन्द्वपीडितको अवस्था हेरेर अस्पतालले उपचार सेवा दिँदा उपयुक्त हुने केसीले बताइन् ।
हालसम्म १९९ जनाको शल्यक्रियासहितको उपचार
माओवादीको १० वर्षे जनयुद्धका बेला घाइते भएका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका घाइतेको उपचारका लागि भेरी अंचल अस्पतालमा ‘मध्य तथा सुदूरपश्चिमाञ्चलका द्वन्द्वपीडित अपाङ्ग ब्यक्तिहरुलाई हाडजोर्नी रोगको उपचार तथा पुनस्र्थापना सेवा सुदृढीकरण कार्यक्रम’ संचालनमा आएपछि हालसम्म १ सय ९९ जनाले उपचार सेवा लिएका छन् । यो कार्यक्रम भाद्र ७ गतेदेखि पुस १६ गतेसम्मका लागि मात्र थप भएको छ । गत आर्थिक वर्षको कार्यक्रममा १९७ जना र यस आर्थिक वर्षमा २ जनाले सेवा लिएको कार्यक्रमका ब्यवस्थापक नेत्र सापकोटाले जानकारी दिए । उनले एकजना उपचार गराएर फर्की सकेको र एकजना अहिलेपनि उपचार गराई रहेको बताए ।
समयमा रकम नआउँदा उपचार सेवा प्रभावित
उपचारका लागि धेरै विरामी सम्पर्कमा आएपनि वजेट नआएका कारण फिर्ता पठाउने गरेको उनले बताए । उनले उपचारका लागि बुधवारमात्र अस्पतालमा आएका सशस्त्र प्रहरीका पूर्व कर्मचारीलाई पनि तिहार पछि आउनुस् भनेर फिर्ता पठाएको बताए । ‘उपचारमा धेरै खर्च लाग्छ, खर्च अस्पतालले धान्न सक्ने अवस्था छैन, सामान्य उपचार गरिए पनि जटिल प्रकृतिका उपचार गर्नुपर्ने विरामीलाई तिहार पछि आउनुस् भनेर फिर्ता पठाउने गरेका छौँ,’ सापकोटाले भने । शान्ति समितिको सिफारिस लिएर आएका सवैलाई उपचार सेवा दिने भेरी अंचल अस्पतालका हाडजोर्नी, नसा रोग विशेषज्ञ डा. प्रकाश बहादुर थापाले बताए । उनले द्वन्द्वका क्रममा बन्दुकको छर्रा लागेर घाइते भएका १२ जनाको अप्रेसन गरेर छर्रा निकालिएको बताए । ‘हामीले गम्भिर प्रकृतिका विरामीको समेत सफल उपचार गरेका छौँ,’ उनले भने ।
।