सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सेनामा बढ्दैछ नेपाली युवाको आकर्षण


कृष्ण अधिकारी/बाँके । भारतीय सेनामा नेपाली युवाहरुको आकर्षण बढ्दै गएको छ । आकर्षक तलबसुविधा र भारत सरकारले आफ्ना सेनाका लागि प्रदान गर्ने दर्जनौं लोककल्याणकारी योजनाका युवाहरुको अकर्षण बढेको हो । भारतीय सेनाको रिक्रुट छनोटका लागि दैनिक करिब १ हजार २ सय युवाहरुको भिड नेपालगन्ज रंगशालामा देखिने गरेको छ । यो भिडले पनि भारतीय सेनाप्रतिको आकर्षण प्रतिविम्बित गर्छ ।
सुर्खेतबाट मात्रै एक हजारभन्दा बढी युवा रिक्रुट छनोट प्रक्रियामा सामेल भएका छन् । भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका युवाका लागि लक्षित ५ दिनसम्म सञ्चालन गरिएको रिक्रुट छनोटमा ८ देखि १० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको छ । भारतीय सेनाले नेपालगञ्ज, बुटबल, भरतपुर, पोखरा र धरानमा रिक्रुट छनोट क्याम्प सञ्चालन गर्दै आएको छ ।
ती क्याम्पमा करिब ५० हजार युवाले भर्नाका लागि प्रतिस्पर्धा गर्दै आएका छन् । ५० हजारबाट १ हजार ५ सयसम्म छनोट गरिन्छ । हरेक वर्ष भारतीय सेनामा १ हजार ५ सयसम्म नेपाली युवा छनोट हुने र त्यत्तिकै संख्यामा रिटायर्ड हुने गर्छन् । सेनामा भर्ना हुन युवाहरुले २र३ वर्षदेखि निरन्तर तयारी तथा अभ्यास गर्ने गरेका छन् । लामो तयारीपछि मात्रै रिक्रुट छनोटका लागि आएको सुर्खेत छिन्चुबाट हेमन्त खत्री बताउँछन् । भारतमा अंग्रेज शासनकै समयमा अंग्रेज र नेपालबीच भएको सम्झौता अनुसार आज पनि नेपाली युवाहरु भारतीय सेनामा भर्ती भइरहेका छन् ।

भर्नाका लागि मापदण्ड

रिक्रुट भर्ना हुने युवाहरुमा विभिन्न समूह बनाई दौड, व्यायाम, मेडिकल टेस्ट, आवश्यक शैक्षिक योग्यता तथा अन्य कागजातको चेकजाँच गरिन्छ । भारतीय सेनामा भर्ती हुनका लागि न्युनतम शैक्षिक योग्यता एसएलसी तोकिएको भए पनि प्लस टुदेखि स्नातक तह पूरा गरेका युवा पनि भर्नाका लागि नेपालगञ्ज आएका छन् । भर्ना हुनका लागि १७ देखि २१ वर्षको उमेर निर्धारण गरिएको छ ।
त्यसका अतिरिक्त ५ फिट ३.५ सेन्टिमिटर उचाइ, ३१ इन्च छाती भई २ इन्च फुलाउन सक्ने र ४८ केजी तौल भएको हुनुपर्छ । तोकिएको पहिलो चरणको प्रक्रिया पूरा गरेपछि प्रतिस्पर्धीहरुलाई लिखित परीक्षामा सामेल गराइन्छ । परीक्षा उत्तीर्ण गरेकाहरु रिक्रुटहरुको स्वास्थ्य परीक्षण भने गोरखपुरमा गरिन्छ । नेपालगन्जका रिक्रुट क्याम्पबाट यो वर्ष करिब ५ यस युवालाई छनोट गर्ने लक्ष्य रहेको भारतीय सेनाका रिक्रुट छनोट प्रमुख ब्रिगेडियर जनरल पिसी रोयले बताए ।

लोभलाग्दो तलबसुविधा

भारतीय सेनाका सिपाहीको सुरुवाती तलबभत्ता नै २४ हजार भारु हुन्छ । तलबमा बर्सेनि १० प्रतिशतले वृद्धि हुन्छ । हरेक ५ वर्षमा तलबभत्ताको स्केल पुनरावलोकन हुन गरेको छ । हालै तलबभत्ताको स्केल पुनरावलोकन समितिले २३.७५ प्रतिशत तलबभत्ता वृद्धिका लागि सिफारिस गरेको छ । विवाहित भारतीय सैनिकका श्रीमतीले मासिक २ हजार ४ सय तथा २ वटा बच्चाले पढाइ खर्चबापत जनही मासिक ३ हजार २ सयदेखि ४ हजार ८ सयसम्म पाउँछन् । सिपाहीमा भर्ना हुनेहरु नायक हवल्दार हुदै सुबेदार, मेजरसम्म पुगेर रिटायर्ड हुन्छन् ।
नायकले २४, हबल्दार २५ तथा सुबेदार मेजरले ३२ वर्षसम्म सेनामा काम गर्न पाउँछन् । भारतीय सेनामा पूरै अवधि काम गरेर पेन्सनमा निस्कँदा एकमुष्ट करिब एक करोड नगदसहित उनीहरु बाहिरिने गरेका छन् । भारतीय सेनाको आकर्षक सेवासुविधाकै कारण नेपाली युवाहरु लोभिएका हुन् । भारतीय सेनामा हाल ३२ हजार नेपाली कार्यरत छन् भने भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन् । सेवारतको तलब, पेन्सन र उनीहरुको परिवारको स्वास्थ्य तथा शिक्षाका लागि भारतले गर्ने खर्च समेत गरेर नेपालमा वार्षिक ६५ अर्ब रुपैयाँ भित्रने गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार ०७:०४