सूचनाको शक्ति - The Power Of Information

        

भेरी अञ्चल अस्पतालले हटाउन सकेन निजी फार्मेसी


बाँके/अस्पताल परिसरभित्र रहेका निजी फार्मेसीलाई भेरी अंचल अस्पताल नेपालगन्जले अझैँ हटाउन सकेको छैन । अस्पताल परिसरभित्र रहेका निजी फार्मेसीलाई अन्यत्र सर्न अस्पताल प्रशासनले पटक–पटक लिखित परिपत्र र सार्वजनिक सूचना जारी गरेपनि अँटेर गरेका छन् । लिखित परिपत्र र सार्वजनिक सूचना जारी गर्दासमेत सर्न नमानेपछि अस्पताल प्रशासनले बैकल्पिक बाटो अवलम्बन गरेर निजी फार्मेसीलाई हटाउने रणनीति अघि सारेको छ । ‘जवरजस्ती हटाउँदा अदालत जाने सम्भावना रहेकोले अदालतको सहायतामा निजी निजी फार्मेसीलाई हटाउने रणनीति अवलम्बन गरेका छौँ,’ भेरी अंचल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र वहादुर चन्दले भने ।  सरकारी निर्णय कार्यान्वयनका लागि भेरी अंचल अस्पतालले निजी फार्मेसीलाई अन्यत्र सर्न पटक–पटक लिखित आग्रह गर्दा समेत अँटेर गरेपछि कानूनी बाटोबाट हटाउने रणनीति अवलम्वन गरिएको भेरी अंचल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दले बताए । उनले निजी मेडिकललाई अस्पताल परिसरबाट हट्न कम्तीमा ३ पटक परिपत्र गरेको बताए । ‘लिखित र मौखिक आग्रहको बेवास्ता गरेपछि बाध्य भएर कानूनी प्रक्रियामा जाने भएका हौँ,’ उनले भने । नेपाल सरकारले सरकारी अस्पताल परिसरमा निजी औषधि पसल (क्लिनिक) संचालन गर्न नपाइने निर्णय गरेको छ । गत बैशाख, जेष्ठ महिनामा नै सरकारले सरकारी अस्पताल परिसरमा निजी मेडिकल संचालन गर्न नपाइने निर्णय गर्दै सम्बन्धित अस्पताललाई परिपत्र गरेको थियो । सोही अनुरुप भेरी अंचल अस्पतालले अस्पताल परिसरमा फार्मेसी स्थापना गरेपनि निजी क्लिनिकलाई अझैँ हटाउन सकेको छैन ।

करार अवधि सकिए पनि अन्यत्र सर्न आनाकानी

अस्पताल परिसरमा रहेका फार्मेसीको करार अवधि सकिए पनि अन्यत्र सर्न आनाकानी गरिरहेका छन् । अस्पताल परिसरमा फार्मेसी संचालन गर्न नपाइने भएपछि अस्पताल प्रशासनले करार थप नगरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट चन्दले जानकारी दिए । उनले करार थप नगर्दा समेत सर्न आनाकानी गरिरहेको बताए । ‘एकातिर करार थप भएको छैन, अर्कोतर्फ सटर खाली गर्न पटक–पटक लिखित र मौखिक सूचना दिइएको छ, तर सर्न मानिरहेका छैनन्,’ चन्दले भने ।

सादा र दीप मेडिकलको भाडा अर्कैले असुल्दै

भेरी अंचल अस्पतालमा रहेका सादा, साझा, दीप र मोनालिसा मध्ये साझा र मोनालिसा औषधि पसललाई मात्र भेरी अंचल अस्पतालले सटर भाडामा दिएको थियो । अस्पतालको ओपिडीको मुख्य भागमा रहेको ठाउँमा नेपाल रेड्क्रस सोसाइटीले भाडामा दिएको छ । रेड्क्रसले सादा र दीप मेडिकललाई सटर भाडामा दिएको अस्पताल प्रशासनले दिएको छ । मोनालिसा र सझालाई मात्र अस्पतालले सटर भाडामा दिएको थियो, त्यो पनि साउनदेखि करार सम्झौता भएको छैन,’ अस्पतालका कानूनी सल्लाहकार भोलासिंह हमालले जानकारी दिए । उनले अस्पतालको भवनमा भएको सटर भाडामा दिने रेड्क्रस विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएको बताए । ‘अर्काको सटर भाडामा दिनेलाई कारवाही गरि पाउँ भनि प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएका छौँ,’ वरिष्ठ अधिवक्ता समेत रहेका कानूनी सल्लाहकार हमालले भने ।

अस्पताल फार्मेसी बारे सर्वसाधारण अनविज्ञ

हाल भेरी अंचल अस्पतालमा दिप मेडिकल, सादा औषधि पसल, साझा र मोनालिसा औषधि पसल संचालनमा छन् । भेरी अंचल अस्पतालको फार्मेसी, सादा, साझा र मोनालिसा औषधि पसल सँगसँगै छन् । भेरी अंचल अस्पतालको फार्मेसी र साझाले अन्य औषधि पसलका तुलनामा सस्तोमा औषधि दिने गरेका छन् । तर, धेरै औषधि पसल सँगसँगै भएकोले सर्वसाधारण अलमलमा पर्ने गरेका छन् । औषधि किन्न अलमल हुने मध्ये नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका सकिर अलि बेहना पनि एउटा हुन् । आइतवार भेरी अंचल अस्पताल परिसरमा भेटिएका वेहनाले अन्य विरामीका आफन्तलाई सोध्दै थिए, ‘कुन फार्मेसीमा औषधि सस्तोमा पाइन्छ ।’ उनले भेरी अंचल अस्पतालले अस्पताल परिसरमा फार्मेसी राखेको बारे आफूलाई जानकारी नभएको बताए । अस्पतालले संचालन गरेको फार्मेसीका बारेमा जानकारी नपाउँदा सर्वसाधारण महंगो शुल्क तिरेर औषधि किन्न बाध्य भएका छन् । सस्तो मूल्यमा औषधि पाइने फार्मेसीको नाम थाहा छैन,’ उपचारका लागि आएका दाङ्गका सुशील भण्डारीले भने ।

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार ०९:४५