सूचनाको शक्ति - The Power Of Information

        

प्रमुख दलका शीर्ष नेता : को कहाँबाट चुनाव लड्दै ?


काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयन अब दुई साता बाँकी छ । प्रमुख दलहरुले चुनावी तालमेलका लागि बृहत् गठबन्धन निर्माणदेखि उम्मेदवार छनोटसम्मलाई समानान्तर रुपमा अघि बढाएका छन् । जिल्ला र क्षेत्रबाट केन्द्रमा उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ ।
उम्मेदवार सिफारिसका क्रममा कतिपय शीर्ष नेताहरुको नाम पार्टीको जिल्ला र क्षेत्रीय कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । कतिपयमा भने विवादकै रुपमा पठाइएको छ । संवैधानिक प्रावधान अनुसार यो पटक एक व्यक्ति एक निर्वाचन क्षेत्रको मात्र व्यवस्था छ । जसकारण शीर्ष नेताहरु एक क्षेत्रमा मात्र उम्मेदवारीको तयारीमा छन् ।

नेकपा एमाले

एमालेका शीर्ष नेताहरुको नाममा जिल्ला र क्षेत्रमा सबैमा एकल सिफारिसमा सहमति बनेको छ । अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट सर्वसम्मत सिफारिस भएका छन् । यसअघि ओली झापा ७ बाट निर्वाचित भएका थिए । रौतहट १ बाट निर्वाचन लड्ने तयारी भए पनि एमाले वरिष्ठ नेता माधव नेपालको नाम काठमाडौँ २ बाट सर्वसम्मत सिफारिस भएको छ ।
२०७० को संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित नेपालले उक्त क्षेत्र छाडेका थिए । उपनिर्वाचनमा कांग्रेसका दीपक कुँइकेल निर्वाचित भएका थिए । वरिष्ठ नेता झलनाथ खनाल इलमा २ बाट सर्वसम्मत सिफारिस भएका छन् । उनी यसअघि इलाम १ बाट निर्वाचित भएका थिए । तीन क्षेत्र रहेको इलाम अहिले दुई क्षेत्रमा समेटिएको छ ।
क्षेत्र नम्वर १ मा पूर्व सभामुख सुवास नेम्वाङको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । प्युठानबाट चुनाव लड्ने तयारीमा रहेका एमाले उपाध्यक्ष बामदेव गौतमको नाम बर्दिया १ बाट सर्वसम्म सिफारिस भएको छ । महासचिव ईश्वर पोखरेल यो पटक पनि काठमाडौँ ५ बाट प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । यसअघि ०६४ र ०७० को संविधान सभा सदस्य निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट पराजित भएका थिए ।

नेपाली कांग्रेस

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको नाम डडेलधुराबाट सिफारिस भएको छ । डडेलधुरामा रहेका पार्टीका दुई गुटबाट प्रधानमन्त्री देउवाको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पनि गृह जिल्लामा सर्वसम्मत हुन सकेन । पौडलसहित नेताहरु गोविन्दराज जोशी, शंकर भण्डारी लगायतको नाम तनहुँ १ बाट सिफारिस भएको छ ।
कांग्रेस महामन्त्री शशांक कोइराला कान्छो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट सिफारिस भएको छ । यसअघि नवलपरासी ५ मा रहेको उक्त क्षेत्र प्रदेशको सीमाङ्कन हेरफेरमा जिल्ला विभाजन भएपछि नयाँ जिल्ला बनेको हो । यसअघि मोरङ ७ बाट निर्वाचित डा शेखर कोइरालाको निर्वाचन क्षेत्र निश्चित भएको छैन । अहिले मोरङ ६ निर्वाचन क्षेत्रमा खुम्चिएको छ ।

माओवादी केन्द्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाट चुनाव लड्ने यसअघि नै घोषणा गरिसकेका छन् । पछिल्लो वाम गठबन्धनका कारण नेता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र निश्चित भएको छैन । गोरखाबाट चुनाव लड्ने तयारीमा रहे पनि क्षेत्र निश्चित छैन । गृहमन्त्री समेत रहेका जनार्दन शर्मा पनि कान्छो जिल्ला रुकुम पूर्वबाट चुनाव लड्ने तयारीमा छन् ।
रामबहादुर थापा तथा कृष्णबहादुर महराको क्षेत्र यकिन भइसकेको छैन । पछिल्लो तालमेलको सहमति पछि निर्वाचन क्षेत्र निक्र्यौलमा केही समय लाग्ने देखिएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भट्टराईले गोरखाबाट चुनाव लड्ने यसअघि घोषणा गरिसकेका छन् । गोरखाका दुई निर्वाचन क्षेत्रमा एकमा भट्टराई र अर्कोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ चुनाव लड्ने निश्चित भए पनि क्षेत्र स्पस्ट भइसकेको छैन ।
तालमेलको सिट बाँडफाँडले क्षेत्र निर्धारण गर्नेछ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव यसअघि सुनसरी ५ बाट निर्वाचित भए पनि अहिले सुनसरीमा ४ निर्वाचन क्षेत्र कायम छन् । यादवको निर्वाचन क्षेत्र पनि निश्चित भइसकेको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहीबार ०६:०१