सूचनाको शक्ति - The Power Of Information

        

बृहत् वाम एकता : सुतेको ड्रयागन उठ्यो

 


सरोजराज अधिकारी

रसुवाबाट हिजो एउटा समाचार आयो, चिनियाँ सुरक्षा अधिकारीले रसुवाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको हातबाट दशैंको टीका थापे । हाम्रो रसुवा संवाददाता अनु आचार्यका अनुसार टीका थापेपछि चिनियाँ अधिकारीहरुले प्रतिक्रिया दिए, ‘हामी सद्भाव बाँड्न आएका हौं ।’ रसुवानाका कडाइ गरेपछि भित्रिएको चिनियाँ सुरक्षा टोलीले दोहोर्याएर अनुसँग भने, ‘हामी खासमा दशैंको टीका थाप्न मात्र आएका हौं ।’
नेपाली पक्षको निमन्त्रणामा चिनियाँ सुरक्षा टोलीको नेतृत्व गर्दैै आएका सशस्त्र सुरक्षा बलका कर्णेल गाओ झ्यानले प्रशस्त कोसेली पनि ल्याएका थिए । टीका लगाइसकेपछि उनीहरुले भने, ‘आगामी अक्टुबर १८ बाट हाम्रो नेसनल कंग्रेसको सभा छ, त्यसैले नाकामा थोरै कडाइ गरिएको हो ।’ यो कूटनीतिक पक्ष थियो। नेपाली राजनीतिमा चिनियाँ पक्ष केही दिनयता यसरी सलबलाएको छ कि त्यसले सत्ता समीकरणसम्मको परिवर्तन गर्न खोज्दैछ । नेपालमा ‘कम्युनिस्ट’ छैनन् भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसमेत एमाले–माओवादी समीकरणमा जोडिन पुगेका छन् । नेपालमा भारतीय हस्तक्षेपको चर्चा ‘ओपन सेक्रेट’ हो ।
‘स्लो पोइजन’ भनिने चीन यसपटक यति आक्रामक रुपमा आएको छ, जसले सत्तामा रहेको दललाई प्रमुख प्रतिपक्षी एमालेसँग जोडिदिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको केहीअघिको चीन भ्रमणमै यी सबै कुरा टुंगो लागेको थियो । त्यसअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, जो ‘प्रो–चाइनिज’ मानिन्छन्, उनको भ्रमणताका पनि वामपन्थी एकतामा चिनियाँ पक्षले जोड दिएको थियो । यिनै परिघटनाको फलस्वरुप चार वर्षअघि हालका एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकीकरणका लागि बनाएको खाका हुबहु लागू भएको छ ।
‘त्यही प्रारुपको नजिक रहेर हामीले सहमति गरेका छौं । मेरो मूल मान्यता भनेको कम्युनिस्टहरु छरिएर बस्नु हुँदैन,’ नेता गौतमले भने । के यो आन्तरिक छलफलबाट मात्र सम्भव भएको हो त ? भन्ने प्रश्नमा नेता गौतम भन्छन्, ‘नेपालको निर्माणदेखि अहिलेसम्मको इतिहासमा भएका परिवर्तन हेर्नुस्, के ती आन्तरिक मामिला मात्र थिए ?’ नेपालस्थित चिनियाँ दूतावासका एक उच्च अधिकारी त यो प्रश्नमा झर्किए नै । उनले भने, ‘भारतले नेपाल निलेको तपाईंहरुलाई पत्तो छैन, अनि हामीले गर्दै नगरेको दोष थुपार्न खोज्नु हुन्छ ।’
हरेक साता एक उच्च पदस्थ चिनियाँ अधिकारी नेपाल भित्रिन्छन् । तर, पछिल्लो १० दिनमा कुनै त्यस्तो ‘हाइप्रोफाइल’ भ्रमण भएको छैन, चिनियाँहरुको । एमाले, माओवादी र नयाँ शक्ति समेतको एकतामा आफ्नो उपस्थिति नदेखियोस् भनेर चिनियाँ पक्ष सचेत थियो । भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ (रअ) का पूर्वप्रमुख पिके हर्मिज थरङ्कन निकट मानिने नयाँ शक्ति संयोजक भट्टराईसमेत एमाले गठबन्धनमा समाहित हुन पुगे । चिनियाँ निशाना अब मधेश केन्द्रित दलमाथि छ । उनीहरुको पहिलो लक्ष्य राष्ट्रिय जनता पार्टी (राजपा) टुक्र्याउनेमा छ ।
६ दल मिलेर बनेको राजपाको संगठन राम्ररी जोडिइनसकेको अवस्थामा त्यसलाई फुटाउन सकिन्छ कि भन्ने चिनियाँ पक्षको जोड छ । ‘हाम्रो संगठन भत्काउन विभिन्न पक्षले जोड गरिरहेका छन्,’ कसैको नाम नलिई राजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र राय यादवले भने, ‘हामीमाथि संगठन जोगाउने चुनौती थपिएको छ ।’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भन्दै थिए, ‘एमाले नेतृत्वको गठबन्धनमा समावेश गराउन विभिन्न प्रयास भएका छन् । तर, जुन पार्टीले सदैव मधेस र मधेसी जनताविरुद्ध विषवमन गरिरह्यो, उसको नेतृत्वमा कसरी सँगै उभिन सकिएला र ?’
समाजवादी फोरम अध्यक्ष यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार करिब एक घन्टा छलफल भयो । यादवले भनिदिए, ‘पद मिलानसँग सम्बन्धित संख्यामा होइन, मुद्दामा कुरा गरौं ।’ त्यसपछि प्रचण्ड राजपाभित्र चलखेल गर्न थालेका छन् । यी सबै घटनाक्रमका बीच प्रधानमन्त्री तथा कांग्रेस अध्यक्ष शेरबहादुर देउवा र प्रचण्डबीच मंगलबार नै २ चरण कुरा भयो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रचण्डले भने, ‘एमालेसँग चुनावी तालमेल मात्र हो, सत्ता समीकरण भत्किँदैन ।’ तर, चिनियाँ पक्ष सरकारको नेतृत्व पनि तत्काल फेर्नुपर्ने अडानमा छ । बुढी गण्डकी जलविद्युत परियोजनामा संसदीय समितिको हस्तक्षेप चिनियाँ पक्षले रुचाएको छैन ।
लामो समयदेखि चिनियाँ पक्षका लागि काम गरिरहेका ठेकेदार दीपक भट्टको अगुवाइमा यो परियोजना चीनले हडपेको थियो । कृषि सामाग्री संस्थानको प्रमुख रहँदा भ्रष्टाचारी प्रमाणित चतुर्भुज भट्टका छोरा हुन् दिपक । उनले केही समय चाइना साउदर्न विमानको नेपाली एजेन्ट भएर पनि काम गरे । ‘बुढी गण्डकी परियोजनाको सम्झौता गलत छ भनेर सामाजिक सञ्जालमा निरन्तर लेखिरहेको, विरोधसभा गरिरहेको कारण पनि बाबुराम भट्टराईलाई गठबन्धनमा ल्याउन चाहेको थियो चिनियाँ पक्षले,’ एक परराष्ट्र मामिला विद भन्छन्, ‘चीन मूलत व्यापारी हो । २५० अर्बको परियोजना छाड्न ऊ तयार छैन । त्यसबाहेक पनि नेपालका लाभदायक धेरै परियोजनामा चीनले हात हालेको छ ।’

प्रकाशित मिति : १८ आश्विन २०७४, बुधबार ०७:११