सूचनाको शक्ति - The Power Of Information

        

एकतातिर संघीय समाजवादी फोरम र राजपा, कांग्रेसले पनि सुरु गर्यो लोकतान्त्रिक एकता

काठमाडौं । बृहत् वामपन्थी समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति मिसिएपछि मधेस केन्द्रित दलले पनि एकता प्रक्रिया अगाडि बढाएका छन् । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश–२ मा दोस्रो भएको संघीय समाजवादी फोरम र तेस्रो भएको राजपा (राष्ट्रिय जनता पार्टी) बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल तथा दीर्घकालीन एकताका लागि पहल भएको हो । एमाले–माओवादी गठबन्धनले मधेस केन्द्रित दललाई आफ्नो समीकरणमा समेट्न राजपा फोड्ने प्रयास गरिरहेका बेला दुई मधेस केन्द्रित दल एकता प्रयासमा लागेका हुन् ।
‘राजपा फोड्ने प्रयास कसैले नगरे हुन्छ, हामी एक छौं । हामी अझ बृहत्तर गठबन्धनको प्रयासमा छौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि सबै मधेस केन्द्रित दल एक ठाउँमा उभिनेछौं,’ राजपा अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतोले भने । राजपा अध्यक्ष मण्डलकै अर्का नेता शरतसिंह भण्डारीका अनुसार फोरमसँग निर्वाचनअघिको तालमेत र दीर्घकालीन रुपमा पार्टी एकताबारे छलफल चलिरहेको छ । ‘साँच्चैभन्दा वामपन्थी एकताले हामीलाई झस्काएको पनि छ र केही सम्झाएको पनि छ । अब मधेसका मुद्दामा लडिरहेका दलहरु किन नमिल्ने ? मुद्दा समान छन्, फरक–फरक रुपमा किन जाने ? हामी छिट्टै मिल्नेछौं, कम्तिमा चुनाव अघिसम्ममा सहकार्यको समझदारी गर्नेछौं,’ उनले भने ।
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवका अनुसार स्थानीय तहकै चुनावताका सहकार्य गर्ने सम्बन्धमा अन्य मधेसवादी दलसँग कुरा भएको थियो । ‘राजपा लगायतका केही दलले चुनावमा सहभागी नहुने निर्णय गरे । त्यसकारण सहकार्य हुन सकेन । हामी संख्याभन्दा पनि मुद्दा केन्द्रित छौं । फेरि पनि मधेसवादी दलहरु मिलेर जानुको विकल्प छैन,’ यादवले भने, ‘छिट्टै ठोस नतिजा आउनेछ ।’ जति प्रयास र दबाव आए पनि एमाले–माओवादी समीकरणमा नजोडिने मधेस केन्द्रित दलको अडान छ । ‘कांग्रेसबाट पनि सहकार्यको प्रस्ताव आएको छ, तर हामी मधेसवादी दल मिल्यौं भने काफी हुन्छ । उनीहरुभन्दा हामी नै हाबी हुनेछौं,’ राजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र राय यादवले भने ।
यसैबीच, बामपन्थी दलहरु एक ठाउँमा आएसँगै नेपाली काँग्रेसले पनि लोकतान्त्रिक एकताको पहल शुरु गरेको छ । चुनावी एकताका काँग्रेसले आफूसँग विचार मिल्ने विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम थालेको छ । काँग्रेस नेता महेश आचार्यका अनुसार लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादार, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर, राजपाका नेता शिर्षस्थ नेता र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग छलफल गर्ने तयारी गरेको छ । गच्छादार, राप्रपाका अध्यक्ष कमल थापा र फोरमका यादवसँग पहिलो चरणमा हिजै कुराकानी मंगलबारबाट कुराकानी सुरु भएको उनले जानकारी दिए । उनले भने, ‘छलफलको सुरुवात हिजै भइसकेको छ । आज पनि पुनः थप कुराकानी गर्ने तयारी भइरहेको छ ।’

प्रकाशित मिति : १८ आश्विन २०७४, बुधबार ०७:००