सूचनाको शक्ति - The Power Of Information

        

ढुंगेल पक्राउ प्रकरण : कांग्रेसका लागि ‘उल्टी पिओर’


काठमाडौं । बालकृष्ण ढुंगेल मंगलबार बिहान पक्राउ परे । उनी पक्राउ पर्नु नै थियो । यो सरकारका लागि कुनै नयाँं र क्रान्तिकारी कुरा होइन । कांग्रेसका गृहमन्त्री र प्रहरीले ढुंगेललाई यसअघि कतै नदेखेर वा नभेटेर पक्रउ नगरेका होइनन् । उनी औपचारिक कार्यक्रममा प्रहरीको सुरक्षा घेर भित्र प्रधानन्यायधीशको फिला चिर्ने घोषणा गर्दा कांग्रेसीजनले देखेनन् । तर अहिले चुनावको मुखमा कांग्रेस सरकारले किन पक्राउ गर्यो भन्ने कुरा सबैले बुझेका छन् । ढुंगेल पक्राउमा कुनै विरोध गर्न जरुरी छैन । उनको नेतृत्वमा निर्दाेश उज्जन र गणेशको हत्या भएको कुरामा कुनै विवाद छैन । तर सवाल यतिखेर किन पक्राउ परे भन्नेमा हो ।
अहिले मुलुक बामगठबन्धन भर्सेस कांग्रेस गठबन्धन छ । यसको जननी पनि नेपाली कांग्रेस नै हो । उसले एमालेविरुद्ध सारा गठबन्धन गरेर समाप्त पार्छु भनेर माओवादीसँग स्थानीय चुनावमा तालमेल गरेर गठबन्धनको संस्कृति शुरुवात गरेको हो । केपी ओली सरकारलाई ढाल्न पुस्पकमल दाहाललाई प्रधानमन्त्री दिएर पनि काग्रेसले यसको शुरुवात गरेको हो । एमालेले यो कुरा थाहा पाएर भित्रभित्रै माओवादी केन्द्रसँग तालमेल र एकीकरणको पहल गरयो। अन्ततः बाम गठबन्धन हुन पुग्यो । एमाले माओवादी गठबन्धनमा कताबाट भाँजो हाल्ने भनेर सरकारबाट अनेक प्रयास भइरहेका छन् र भइरहने छन् । कांग्रेसका लागि यो काम बाहुनले गर्ने नियमित पाञ्चयन पुजा सरह हो ।
अहिले ढुंगेल पक्राउमा सरकारको राम्रो नियत छैन । कानुनी राज कायम गर्न र बिधिको शासन स्थापना गर्नका लागि ढुंगेललाई पक्राउ गरिएको होइन । बाम गठबन्धन र त्यसका नेताहरुलाई थर्काउनका लागि यसो गरिएको हो । यसरी पक्राउ गर्नु नै थियो भने यसअघि प्रहरीको बथानभित्र ढुंगेल किन अतिथि बन्थे । ढुंगेलेका पक्राउपछि बाम गठबन्धनमा तनाव होइन अर्कै मनोविज्ञान पसेको छ । जसरी पनि मुलुकबाट कांग्रेसलाई हराउनु पर्छ भन्ने भावना अझै बिकास हुन्छ । हुन त यस्ता काममा सरकारले स्यावासी पाउनु पर्ने हो। तर स्यावासी पाउने तरिकाले काम भएन ।
ढुंगेल फरार सूचीको अभियुक्त हुन यसमा कुनै द्धिविधा छैन । तर सरकारको नियतमा प्रश्न छ । सरकारले जुन नियतले ढुंगेललाई पक्राउ गरेको छ त्यो पुरा हुने देखिदैन । यसले सरकार र कांग्रेसलाई नाफा होइन थोरै भए पनि घाटा हुने भएको छ । माओवादीको जुन भोट एमालेलाई जादैनथे आखिर बामपन्थी भनेका बामपन्थी नै हुन् भन्ने भावना यो प्रकरणपछि उत्पन्न भएको छ । ट्वान्टी नाईन तासको खेलमा रंग बनाउनेको विरोधीले ट्रायल देखाई दियो भने त्यसलाई उल्टी पिओर भनिन्छ । उल्टी पिओर देखाए पछि रंग बनाउनेले जित्न असंभव हुन्छ ।
किनकी पहिला बोलेको भन्दा रंग बनाउनेको भागमा चार अंक थपिन्छ सरकारले बालकृष्ण ढुंगेललाई पक्राउ गर्दा बिपक्षीले उल्टी पिओर देखाएका छन् । यो खेलमा कांग्रेसले कुनै जित हासिल गर्ने देखिदैन । यसबाट एउटा कुरा थाहा भयो सरकारमा हुँदा आफु अनुकुल भएसम्म अपराधी राजनीतिकर्मी हुने कुरा यसअघि ढुंगेललाई संरक्षण दिने कांग्रेसको नियतबाट नै पुष्टि हुन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ०९:२८