सूचनाको शक्ति - The Power Of Information

        

ढुंगेल पक्राउपछि कांग्रेसका आलम पनि पक्राउ पर्लान् ?


काठमाडौं । सर्वोच्च अदालतद्वारा जन्मकैदको सजाय सदर गरिएका माओवादी केन्द्रका पूर्व सांसद बालकृष्ण ढुङ्गेललाई प्रहरीले मंगलबार पक्राउ परेपछि सर्वोच्च अदालतले पक्रेर कार्वाही गर्न आदेश दिएका पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका एक नेता पनि पक्राउ पर्ने सम्भावना बढेको छ । कांग्रेस नेता मोहमद अफ्ताब आलममाथि पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत्र २०६४ मा वम विस्फोटनमा परेका २३ जना घाइतेहरुलाई ज्यूँदै जलाएर मारेको आरोप लागेको थियो । प्रहरीले जाहेरी लिन नमानेपछि सर्वोच्च अदालतले आलमलाई पक्रेर कार्वाही गर्न २०६९ मा आदेश जारी गरेको थियो ।
२८ चैत्रमा हुने संविधान सभा चुनावलाई आफ्नो पक्षमा प्रभावित गर्न तयार पारिएको बम विस्फोट भई २६ जना घाइते भएका र घटना लुकाउन आलमले २३ जना घाइतेहरुलाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । मारिएका अधिकांस व्यक्ति आलमले बुथ क्याप्चर गर्न ल्याएका भनिएका भारतीय नागरिक थिए । रौतहटको राजपुर ४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । तर, प्रहरीले आलम उपरको जाहेरी लिन मानेन । बरु माधव नेपाल प्रधानमन्त्री छँदा आलम वनमन्त्री बनाइए । प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
राजनीतिक शक्तिको फाइदा उठाउँदै आलमले आफूविरुद्धको जाहेरी निवेदन नलिन दवाव दिएपछि प्रहरीले जाहेरी लिन मानेको थिएन । सो रिटमाथि सुनुवाई गर्दै तत्कालिन न्यायाधिसद्धय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । तर पनि आलमलाई प्रहरीले पक्राउ गरेन । बरु आफ्नो छोराको हत्यारालाई कार्वाही गर्दै सर्वोच्चमा रिट दिएकी मियाकी आमा रोक्सना खातुनको रौतहटमा नै रहस्यमय ढंगले हत्या भयो। छोराको हत्यारामाथि कार्वाहीको माग गर्दागर्दै खातुनको हत्या भएको थियो । खातुनका हत्यारापनि पक्राउ परेका छैनन् । सर्वोच्चले आलमलाई पक्राउ गरी कार्वाही गर्न आदेश दिएपछि नेपाल प्रहरीले केही समय आलमको नाम रेडकर्नर सूचीमा राखेको पनि थियो। तर पछि उनको नाम त्यहाँबाट हटाइसकिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ०९:१६