सूचनाको शक्ति - The Power Of Information

        

डेराबाट निस्किनासाथ समातिए बालकृष्ण, काठमाडौँ जिल्ला अदालतमा पेस


काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार बिहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेको उनलाई केन्द्रीय अनुसन्धान व्युरोले केहीबेर हिरासतमा राखेपछि अहिले काठमाडौ जिल्ला अदालतमा पेस गरेको छ । ढुंगेललाई ल्याइएपछि अहिले जिल्ला अदालत काठमाडौँ अगाडि ठूलो भिड जम्मा भएको छ । अदालतबाट उनलाई सिधै हिरासत चलान गरिने जनाइएको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतले ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । उनी संविधानसभाको पहिलो निर्वाचनमा ओखलढुङगा २ बाट निर्वाचित भएकै समयमा अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो ।
सर्वोच्चले ढुंगेललाई पटकपटक पक्राउ गर्न आदेश दिए पनि प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको मान हानीको मुद्दा परेको थियो । अदालतमा मुद्दा परे लगत्तै प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो । प्रहरीको खोजी सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार बिहान साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किने क्रममा प्रहरीले पक्राउ गरेको थियो । सातदोबाटो चोकबाट केही भित्री गल्लीमा उनको डेरा थियो । ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै के निस्किएका थिए, ४–५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र केहीले दाह्रीसमेत पालेका थिए । ‘तपाई हाम्रो अफिसमा जानुपर्यो, तपाईलाई लिएर आउनु भन्नुभएको छ’ दाह्रीवालमध्येका एक व्यक्तिले यसो भनेपछि ढुंगेलले गोजीबाट मोबाइल फोन निकालेर कसैलाई फोन गर्न खोजे । तर, प्रहरीले फोन गर्न दिएन । प्रहरीले ढुंगेललाई त्यहाँबाट चोकतिर लग्यो र गाडी चढाएर हेडक्वार्टरमा पुर्यायो ।
ढुंगेलका आफन्तले दिएको जानकारी अनुसार यो घटना करिब साढे ११ बजेतिरको हो । ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ सुरक्षाको कारण देखाउँदै कपनमा नबसी सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । उनको डेरामा भाइ बहिनीसहित ३र४ जना बस्दै आएका थिए । ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो । माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा प्रारम्भिक प्रतिक्रिया दिएका छन् । पारिवारिक स्रोतका अनुसार पक्राउ परेका ढुंगेलको एउटा मृगौला ड्यामेज भएको छ भने अर्कोले पनि थोरैमात्रै काम गरिरहेको छ ।
मृगौलापीडित ढुंगेलले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गर्दै आएका थिए । ढुंगेल पक्राउ परेको घटनाका प्रत्यक्षदर्शी उनका नातेदारले भने, ‘किड्नी र ब्लड प्रेसरको औषधि खाइरहनुभएको थियो, औषधि र्पुयाइदिन फोन गर्दा उहाँका दुबै फोन स्वीच्ड अफ भनेकाले सम्पर्क गर्न पाइएको छैन । ढुंगेल द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशका आधारमा पक्राउ परेका हुन् । उनीमाथि ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्बोच्च अदालतबाट सर्वस्वसहित जन्मदकैदको सजायँ तोकिएको थियो । सर्वोच्चले सजायँ तोके पनि उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । ओखलढुंगा २ बाट ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए ।
उनीसँगै सजायँ तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् । उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेल विरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । ढुंगेलको सजाय माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए । माओवादी नेताहरुले भने द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्ने भन्दै ढुंगेलको बचाऊ गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ०९:०१