सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चबाट जन्मकैदको सजाय पाएका उज्जन हत्याका फरार दोषी बालकृष्ण ढुंगेल पक्राउ


काठमाडौं । माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ओखलढुंगाका स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो । ढुंगेललाई बिहान ललितपुरको सातदोवाटोबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहितलाई ज्यान मार्ने धम्की दिएको भन्दै ढुंगेललाई पक्राउ वारेन्टसहित सर्वोच्च अदालतमा २०७३ चैत ३० गते रिट दायर भएको थियो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो । सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका हुन् ।
यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हु्न् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् । ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ०६:५३