
काठमाडौं । फिल्म ‘झोला’ निर्माण समूहले नयाँ फिल्म ‘भोर’ निर्माण गरेको छ । जनकपुरमा छायांकन गरिएको फिल्मका बारेमा त्यहीँ पत्रकार सम्मेलन गरिएको छ । निर्देशक यादवकुमार भट्टराईले मैथिलीभाषीको बाहुल्य भएको ठाउँमा उनीहरुकै समाजको समस्यालाई चित्रित गर्दै ‘भोर’ निर्माण गरेको बताए । मधेशमा जरो गाडेर बसेको दाइजो प्रथाको विषयलाई फिल्ममा समेटिएको छ । यो फिल्ममा अधिकांश मैथिलीभाषी कलाकारहरुको अभिनय छ ।
साहित्यकार कृष्ण धरावासीले लेखनमा तयार भएको फिल्मको पटकथा निर्देशक भट्टराईले नै लेखेका छन् । फिल्मका कार्यकारी निर्माता देवेन्द्रप्रसाद सुवेदी, निर्माताराज तिमिल्सिना र रामगोपाल थापा छन् । ‘झोला’ फिल्मको सफलतापछि आफूमाथि एउटा सफल फिल्म बनाउनुपर्ने दबाब परेको बताउँदै निर्देशक भट्टराईले मधेसको सबभन्दा ठूलो समस्या दाइजोको विकृत रुपलाई फिल्मको माध्यमले सम्पूर्ण नेपालीलाई देखाउन अघि सरेको बताए ।
फिल्मको छायांकन सुरु गरेको समयमा ‘झोला’ सफलताको ह्यांङ्गओभरले आफूमाथि दबाब बढेको भएपनि ‘भोर’मा डुब्दै जाँदा यहाँ जोडिएका कलाकारहरुको ऊर्जा र समाइएको विषयवस्तुले सबै भुलाएको भन्दै मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व फिल्मले बोक्ने भट्टराईले बताए । फिल्ममा मूख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर, मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यतिबेला पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन्।
।