सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा ह्याट्रिक गरेका ७१ वर्षीय मेयर भन्छन्, ‘तन्नेरी जोसका साथ काम गर्दैछु’


तीव्र गतिमा विकास भइरहेको बाँकेको कोहलपुरले ७१ वर्षीय पाका र अनुभवी मेयर पाएको छ । चार वर्ष पहिले नगरपालिका बनेको कोहलपुर पश्चिम नेपालको केन्द्रबिन्दु पनि हो । तेस्रो पटक कोहलपुरको प्रमुख पदमा निर्वाचित लूटबहादुर रावत नेकपा एमाले बाँकेका सबैभन्दा पाका, अनुभवी र लोकप्रिय नेता हुन् । उनले २०४८ सालमा कोहलपुर गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष काम गरे । २०५४ मा दोस्रो पटक भएको स्थानीय निर्वाचनमा पनि एमालेबाटै उनले जित हात पारे । २० वर्षपछि भएको स्थानीय तह निर्वाचनमा पनि रावत एमालेबाटै कोहलपुरको मेयर पदमा निर्वा्चित भएका छन् । कोहलपुरमा ह्याट्रिक गरेका उनीसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानी :

उमेर ढल्किँदै गए पनि प्रमुख पदको मोह किन ?
म टोल छिमेकमै बसेर जनताको सेवा गर्न रुचाउने मान्छे। सबै उमेरका मानिससँग सजिलै घुलमिल हुन सक्छु । २०४९ सालमा म गविस अध्यक्षमा उठेँ, जनताले विश्वास गरेर जिताए । मैले इमानदारीपूर्वक काम गरेँ । २०५४ सालमा पनि पार्टीले मलाई नै उम्मेदबार बनायो, फेरि जितेँ । त्यसयता पार्टीमा निरन्तर क्रियाशील भए आफ्नो क्षेत्रमा जनताका बीचमा रहेरै काम गर्दै आएँ । लामो समयपछि स्थानीय तहको चुनाव हुने भयो । कार्यकर्ता र जनस्तरबाट पनि मलाई नै पुनःमेयरमा उम्मेदबार बन्नका लागि आग्रह गरियो। पार्टीले पनि सोचविचार गरेरै मलाई उम्मेदबार बनाएको हो । यसपालि पनि जनताले तेस्रो पटक पनि विश्वास गरेर जिताए ।


कोहलपुरका जनताले किन पटकपटक तपाईंलाई चुनाव जिताउँछन् । तपाईंमा के छ त्यस्तो विशेषता ?
म नम्र भएर बोल्छु । सबैका समस्या सुन्छु । कोहलपुर क्षेत्रको विकास तथा यहाँका जनताका समस्या समाधानका लागि इमानदारीपूर्वक काम गर्दै आएको छु । आर्थिक रुपमा म पारदर्शी छु । मेरो कार्यशैली र व्यवहारले नै मलाई जनताले जिताइरहेका छन् ।

वृद्धभत्ता खाएर आराम गरेर बस्नुपर्ने उमेरमा पनि किन मेयर बन्ने चाहना गर्नुभयो ?
मेरो उमेर ७१ वर्ष भए पनि नागरिकतामा दुई वर्ष कम अर्थात् ६९ वर्ष उल्लेख भएका कारण अझै एक वर्ष वृद्धभत्ता खान पाउँदिन (हाँस्दै) । कोहलपुरका जनताले मलाई वृद्धभत्ता खाएर बस्ने होइन, विकास निर्माणमा सक्रिय भएर जनताको सेवा गर्नुपर्छ भनेर विश्वास गरेर जिताएपछि जनताको सेवामै दिनरात खटिएको छु । उमेरका कारण मलाई जनताको काम गर्न कुनै कठिनाइ भएको छैन। तन्नेरी युवाकै जस्तो जोस र जाँगरका साथ म काम गरिरहेको छु ।

मेयरमा निर्वाचित भएर आइसकेपछि केके काम गर्नुभयो त ?
कोहलपुरको विकास निर्माण, सरसफाइ, सुशासनका क्षेत्रमा काम गर्न विभिन्न योजना बनाएको छु । जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्न सक्ने कामहरु अगाडि बढ्नेछन् । यो अवधिमा नगर क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्था मिलाएर फोहर विसर्जनको काम सुरु भएको छ । जसका कारण सहरी क्षेत्र पहिलेको तुलनामा अलि सफा भएको छ । कोहलपुरको सहरी क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा सडकबत्तीको व्यवस्था भएको छ ।
कोहलपुर चौराहा क्षेत्रमा १०–१२ वर्षदेखि अतिक्रमण गरी बनाइएका ७२ वटा टहरा हटाएर वृक्षरोपण गरेर हरियाली बनाउने योजना अगाडि बढाएको छु । नगरपालिका क्षेत्रमा रहेका सिर्जना, नमुना र सिद्धिविनायक सामुदायिक वन क्षेत्रमा जैविक पार्क निर्माणको प्रक्रिया अगाडि बढाएको छु । सिद्धार्थ बिजनेश ग्रप अफ हस्पिटालिटीसँगको साझेदारीमा कोहलपुर चौराहलाई व्यवस्थित गरेर सुन्दर पार्क निर्माणको काम अगाडि बढाएको छु ।

उमेरले पाको र अनुभवी पनि हुनुहुन्छ । नयाँ पुस्ताका लागि तपाईंका योजनाहरु के छन् ?
कोहलपुर क्षेत्रमा युवाहरुलाई नै लक्षित गरेर विभिन्न योजना अगाडि बढाएको छु। तीमध्ये एकैसाथ तीन वटा जैविक पार्क निर्माण, कोहलपुर चौराहलाई व्यवस्थित गर्नेदेखि कभर्डहल निर्माणसम्मका योजनाहरु कार्यान्वयनको चरणमा छन् । मैले युवाहरुका लागि मात्रै नभएर ७० वर्षभन्दा बढी उमेरका वृद्धबृद्धाका लागि उनीहरुकै गाउँटोलमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छु । निस्शुल्क स्वास्थ्य परीक्षण, औषधोपचारका लागि सञ्चालन गरिएको शिविरबाट १ हजार ६९ जना लाभान्वित भइसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ०६:३३