सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज भन्सारमा प्रदर्शन, आवतजावत ठप्प


बाँके । भन्सार छली नेपालगन्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले बरामद गरेपछि भन्सार एजेन्टहरुले नेपालगन्ज भन्सार ठप्प बनाएका छन् । संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर मध्यरातमा नेपाल भित्रिएको भारतीय ट्रक तीन दिनअघि प्रहरीले नियन्त्रणमा लिएपछि ट्रक छुटाउन एजेन्टहरुले नेपालगन्ज भन्सारमा प्रदर्शन गर्दै आवतजावत ठप्प पारेका छन् ।


प्रहरीले विद्युतीय मेसिन, पार्टससहित भारतीय नम्बर प्लेट युपी ३५ टी ७३०७ नं को ट्रक नियन्त्रणमा लिएको थियो । भुलवस प्रज्ञापनपत्र विना नै भारतीय ट्रक नेपाल भित्रिएको भन्दै भारतीय र नेपालका एजेन्टहरुले नाकामा विरोध प्रदर्शन गरी ठप्प पारेका हुन् । बरामद उपकरणमा चेन्सामेसिन, हाइड्रोलिक मेसिन, हेन्ड ग्रेटेलर, लेथमेसिन, हाइड्रोलिक कटर, वेल्डिङ मेसिन र डिसियम रहेको प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले बताए ।
ट्रक चालक भारतको उन्नाउ ग्राम थाना सफिपुर निवासी २४ वर्षीय वीरेन्द्रकुमार पाल र २८ वर्षीय सहचालक नरेन्द्रलाई नियन्त्रणमा लिएर घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न सुरक्षा घेरालाई चुनौती दिँदै नेपालगन्ज भन्सारले सुईकोसम्म नपाई भारतीय ट्रक नेपालगन्ज भित्रिएको थियो । भन्सार छलेर ठूलो परिणाममा सामान भित्रिँदै गरेको सूचनाको आधारमा कारवाही गर्दा विना भन्सार करीब ७० लाख रुपैयाँको मेसिन र त्यसमा प्रयोग हुने सामग्रीसहित भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ०६:१०