सूचनाको शक्ति - The Power Of Information

        

‘सुपर पावर’ बन्ने होडमा चीन


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिना चीन भ्रमणमा निस्किँदा उनको प्रभाव पहिले जस्तो ओजिलो हुने छैन । चीनमा सी जिनपिङको उदयपछि विश्व राजनीतिमा ट्रम्पले आफ्नो प्रभाव गुमाउँदै गइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा चुनौती दिन जर्मन चान्सलर एंगेला मर्केल र बेलायती प्रधानमन्त्री टेरेसा मे अगाडि उभिएका छन् । प्रतिपक्षीको सामना गर्नु नपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सामुन्ने आर्थिक चुनौतीको पहाड छ । वर्तमान अवस्थामा चिनियाँ राष्ट्रपति सी मात्र यस्ता नेता हुन्, जसलाई प्रतिपक्षी र अर्थतन्त्र दुबै तर्फबाट कुनै चुनौती छैन । त्यसैले उनी विश्व राजनीति मञ्चमा निर्विकल्प शक्तिशाली बन्दै गइरहेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनको भव्य समापन समारोहलाई सम्बोधन गर्दै सीले आफ्नो पुनरोदयले चीनको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सुरक्षा र विकासले थप उचाइ लिने बताइसकेका छन् । चिनियाँ सत्तामा सीको निरन्तरताले विशाल चीन अझ विशाल हुने जानकारहरु बताउँछन् । ‘चीनलाई विशाल बनाउन सी सफल भइसकेका छन् । अब चीन झन विशाल हुनेछ,’ चिनियाँ राजनीतिका जानकार जेम्स जर्गर भन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘असाधारण पुनरागमन’ भन्दै सीलाई बधाई दिएका छन् । सीलाई ट्रम्पले त्यसै असाधारण भनेका होइनन् । सीले भनेका थिए, ‘इतिहासको सम्मान गतिशील वर्तमान र सुन्दर भविष्य चिनियाँ सपना हो ।’ त्यो सपना साकार पार्न माओवादमा चलिरहेको चीन अब सीको राजनीतिक विचारधारामा चल्नेछ ।
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले सि जिनपिङ्वाद सर्वसम्मतीले पारित भइसकेको छ । ‘माओले जनगणतन्त्र चीन स्थापना गरे, नेता देङले चिनियाँ धन स्वदेशमा फिर्ता गरे, नयाँ युगमा चीनलाई सशक्त बनाउन सीले चिनियाँ शक्ति परिचालित गर्ने छन्,’ चिनियाँ राजनीतिका अर्का जानकार फ्राङ चिङ भन्छन् । उनको पुनरोदयले विश्व राजनीति मञ्चमा नयाँ सशंय पनि देखिएको छ। एसियालाई युरोपसँग जोड्ने ‘वान रोड वान वेल्ट’ परियोजनालाई आक्रामक शैलीमा विस्तार गर्ने सीको उद्घोषले चिनियाँ प्रभाव अझ बढ्ने भन्दै शक्तिशाली राष्ट्रहरु अत्तालिएका छन् । विवादमा रुमलिने वासिङ्टन र अस्तव्यस्त युरोपको फाइदा उठाउँदै चीन प्रमुख शक्तिशाली देशका रुपमा उदाउने जानकारहरु बताउँछन् ।’ अमेरिका र युरोप आन्तरिक समाधानमा रुमलिदाँ नेतृत्वको स्थान रिक्त झैँ भएको छ । त्यो रिक्तता अब बेइजिङ्ले पूर्ती गर्ने जेम्स जर्गरको भनाइ छ ।


यस्तै, फ्राङ् चिङ् अमेरिका कमजोर हुँदै गएको अवस्थामा चीनले आफ्नो प्रभावलाई सशक्त बनाउने बताउँछन् । ‘विश्वभर चीनको उपस्थिति बलियो बन्दै गइरहेको छ । अमेरिका कमजोर भएको स्थितिमा चीनले आफ्नो प्रभाव बढाउने निश्चित छ,’ उनी भन्छन् । विश्वव्यापी रुपमा चीनको प्रभाव बढाउन राष्ट्रपति सीसँग अनुभवी सहयोगी छन् । विदेश नीतिमा अब्बल ठहरिएका ली झान्सु र वाङ्क हुनिङ् क्याबिनेटमा अटाएका छन् । उनीहरुले चीनको वैदेशिक प्रभाव बढाउन काम गर्ने पक्का छ । ‘यी दुई नेता, जसले चिनियाँ राष्ट्रवादलाई शक्तिशाली बनाए र चीनको राजनीतिलाई पनि उत्तिकै सशक्त बनाउन भूमिका निर्वाह गरे,’ विश्लेषक जुड ब्लान्चट भन्छन् । राष्ट्रपति सीले २५ सदस्यीय स्थायी समिति सदस्यमा प्रखर कुटनीतिज्ञ याङ् झेजीलाई नियुक्त गरेका छन् । उनी तिनै व्यक्ति हुन्, जसले अमेरिका र भारतप्रति चिनियाँ नीति तयार गरेका थिए ।
वैदेशिक नीतिमा जसरी चीन शक्तिशाली बन्न खोजिरहेको छ, सैन्य नीतिमा पनि उत्तिकै बलियो बन्ने रणनीति यसले अख्तियार गरेको छ । ‘साउथ चाइना सी’ मा चीनले विस्तार गरेको सैन्य शक्तिले संसारकै शक्तिशाली मानिएको अमेरिका र बेलायतको सेना अत्तालिएका छन् । चीनले उनीहरुलाई थप हतोत्साही बनाउने आंकलन सुरु भएको छ । राष्ट्रपति सीले आफ्नो भुमि फिर्ता लिन कुनै कसर बाँकी नराख्ने घोषणा गरिसकेका छन् । यो नीति अमेरिकाका लागि टाउको दुखाइको विषय बनेको छ । ‘हुँ जिन्तावोको कार्यकालमा सीले चिनियाँ पराष्ट्र नीति र सैन्य शक्ति निकै बलियो बनाएका थिए । सैन्य शक्तिको आडमा चीन ‘साउथ चाइना सी’लाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको छ,’ सैन्य मामिला अध्ययन गर्ने लोवी इन्स्टिच्युटको प्रतिवेदनमा बताइएको छ । राष्ट्रपति सी चिनियाँ सेनाका परमाधिपति पनि हुन् । स्वाधिनता रक्षाका लागि चिनियाँ सेना तयार रहेको र युद्धमा दुश्मनलाई सजिलै हराउन सफल हुने सीले बताइसकेका छन् ।
बलियो मानिएको चिनियाँ सेनालाई अझ सशक्त बनाउने पक्षमा उनी छन् । ‘चिनियाँ भूमीमा हुने संभावित आक्रमणलाई परारस्त गर्दै चिनियाँ स्वाभिमानलाई उच्च बनाउन चिनियाँ सैनिक सक्षम छ । सेनाको थप आधुनिकीकरण हुन्छ,’ सीले भनेका छन् । रुसी सेनासँग संयुक्त अभ्यास गर्दै चिनियाँ सेनाले आफ्नो क्षमता अभिवृद्धि गरिरहेको छ । रुसले पनि ‘साउथ चाइना सी’ को हिस्सा दाबी गरिरहेको छ । ‘साउथ चाइना सी’ युरोप र एसियाको प्रमुख व्यापारिक केन्द्र रहेकाले शक्ति राष्ट्रहरुले आ–आफ्नो दाबी गरिरहेका छन् । आक्रामक सैन्य जनशक्ति र अमेरिकालाई पछि पार्ने गरि युरोप र एसियामा बढाउँदै लगेको आर्थिक सहयोगले शक्तिशालीको सूचीमा पहिलो नम्बरमा रहेको अमेरिकालाई चीनले अब सहजै पछि पार्ने आशा गरिएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतवार ०३:३९