सल्यान । सल्यानमा क्यान्सर रोग मुख्य समस्याका रूपमा देखिन थालेको पाइएको छ । गएको वर्षको तुलनामा यस वर्ष क्यान्सर रोगीको संख्या बढ्दो क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । यस वर्षको साउनदेखि असोजसम्ममा १२ जनालाई क्यान्सर रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका निमित्त स्वास्थ्य प्रमुख विमल श्रेष्ठले जानकारी दिए । १० जना महिला र २ जना पुरुषमा क्यान्सर रोग देखा परेको छ भने १३ जनामा नसर्ने रोग देखा परेको श्रेष्ठले जानकारी दिए । गएको वर्ष ५५ जनामा क्यान्सर र नसर्ने रोग देखिएको थियो ।
जनचेतनाको कमी र समयमै उपचार नगर्नाले क्यान्सरका बिरामी बढेका श्रेष्ठको भनाइ छ । पुरुषको तुलनामा महिलामा क्यान्सरको समस्या बढी देखिने गरेको श्रेठले बताए । धुम्रपान, मध्यपान र बोसो सहितको मासु खानाले पनि क्यान्सर रोग लाग्ने गरेको जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले स्पष्ट पारे । शर्माले भने, ‘वंशाणुगत कारणले पनि क्यान्सर रोग लाग्ने गर्दछ । निदान गर्ने स्वास्थ्य संस्थाको अभावले गर्दा क्यान्सर अस्पतालमा उपचारका लागि आएका अधिकांश बिरामी रोग फैलिसकेको अवस्थामा आउँछन् ।’ यहाँ क्यान्सर हो भनि पत्ता लागिसकेपछि सिफारिस गरी बाहिर रिफर गर्ने गरेको डाक्टर शर्माले बताए ।
।