सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा सेनाको जाँच कडाई, टाईम कार्ड अनिवार्य

बर्दिया, २५ भदौ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना शिव दल गणले पूर्व पश्चिम राजमार्ग र कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत रत्न राजमार्गमा गुड्ने गाडीको जाँचमा कडाई गरेको छ । तीब्र गतिमा गुड्ने बस, ट्रक, जीप तथा मोटरसाइकलले चित्तल, बँदेल लगायतका वन्यजन्तुमा ठोक्किएर दुर्घटना बढेको भन्दै निकुञ्ज सुरक्षार्थ राजमार्गको खटिएको नेपाली सेनाको शिव दल गण चेक पोष्टले गाडीको जाँचमा कडाई सुरु गरेको हो ।
निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा तीब्र गतीमा यातायातका साधन गुँडाउँदा वन्यजन्तुसँग ठोक्किएर दुर्घटना हुँदा मानव र वन्यजन्तु दुवैमा क्षति हुने भएकाले गाडीको ठक्करबाट मानव र वन्यजन्तु मर्ने क्रम रोक्नका लागि कडाइ गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यस्तै वन्यजन्तुको चोरी शिकार अन्त्य गरी वन्यजन्तुको अंग ओसारपसार कार्य रोक्ने उद्देश्यले जाँचमा थप कडाई गरिएको बर्दिया निकुञ्जले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया निकुञ्जको पश्चिममा चिसापानी चेक पोष्ट र आम्बासा चेक पोष्ट, पूर्वमा सैनवार चेक पोष्ट र रम्भापुर चेक पोष्टमा ओहोरदोहोर गर्ने गाडीलाई निश्चित दूरी तोकिएको समय भित्र पार गर्न टाईम कार्ड समेत दिन सुरु गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतवार ०४:१६