सूचनाको शक्ति - The Power Of Information

        

मध्यपश्चिमको गरिबी घटाउन र पोषणमा सुधार ल्याउन नयाँ कृषि आयोजना

प्रकाश पन्त
सुर्खेत, २५ भदौ । प्रदेश नम्बर ६ का किसानको आम्दानी बृद्धि गर्न र कृषिलाई व्यवसायिकरण गर्नका लागि नयाँ कृषि आयोजना सञ्चालन हुने भएको छ । स्थानीय समुदायलाई उच्च मूल्य कृषि वस्तुका मूल्य श्रृंखलामा आवद्ध गराउँदै बजारीकरण क्षमतामा सुधार ल्याई आयआर्जनमा बृद्धि गर्ने, रोजगारीको अवसर सृजना गर्ने र खाद्य सुरक्षामा सुधार ल्याउने आयोजनाको उद्देश्य छ ।
६ अर्ब १२ करोड रुपैयाँको लगानीमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला र रुकुम जिल्लामा कृषि क्षेत्र विकास आयोजना सञ्चालन हुन लागेको हो । ६ महिनाभित्रै सूरु हुने यो आयोजनाले छिन्चु–जाजरकोट–डोल्पा सडक खण्ड, सुर्खेत–जुम्ला, मुुगु–कालिकोट सडकखण्ड, कालिकोट–हुम्ला–बाजुरा सडकखण्ड र मध्य पहाडी राजमार्ग अस्पासका क्षेत्रलाई समेटने छ ।
आयोजनाले विशेष गरी किसानलाई मूल्य श्रृंखला विकास सुदृढिकरण, बजारसँग सम्बन्धित पूर्वाधार निर्माण, ग्रामीण कृषि सडक विस्तार, संकलन केन्द्र स्थापना, भण्डार गृह, सिचाई आयोजना जस्ता कार्यक्रममा सहयोग गर्नेछ । यस्तै वित्तिय सेवा सम्बन्धी सहयोग, कृषि मैत्री ऋण प्रवाह, समुदायमा आधारित कृषि प्रसार सेवाको विस्तारमा पनि किसानलाई सहयोग गर्नेछ । यसअघि सञ्चालन भएको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको उपलब्धी र सिकाईमा टेकेर कृषि क्षेत्र विकास आयोजना संचालन हुन लागेको हो ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले खसी बोका, टिमुर, अदुवा, वेसार, बेमौसमी तरकारी, तरकारीको बीउ, स्याउ जस्ता ७ वटा मूल्य श्रृंखलामा काम गर्दै आएको थियो । कृषि क्षेत्र विकास आयोजनाले भने तरकारी बीउ बाहेक खसी बोका, टिमुर, अदुवा, बेसार, बेमौसमी तरकारी, स्याउ लगायत मह, ओखर, कागुनो, चिनो, हिमाली आलु, सुन्तलाजात बाली, डेरी जस्ता उच्च मूल्यका बाली वस्तुहरुमा काम गर्ने योजना बनाएको छ ।
६ अर्ब १२ करोड जम्मा लगात रहेको आयोजना संचालन गर्न स्वीस सरकारले कृषि विकासको लागि अन्तर्रा्ष्ट्रिय कोष (इफाड) ले ४ अर्ब, नेपाल सरकारले १ अर्ब २३ करोड, स्वीस सरकारले ३० करोड रुपैयाँ व्यहोर्ने छन् । आयोजनाको लागि सम्वन्धीत कृषि समुह, सहकारी, उद्यमी व्यवसायीले ५९ करोड रुपैयाँको सह लगानी गर्ने छ । आयोजनाले १० जिल्लाका २५ हजार किसानको आयस्तर बृद्धिमा सहयोग गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतवार ०४:११