सूचनाको शक्ति - The Power Of Information

        

चौरजहारी–सल्लीबजार सडक सञ्चालनमा

रुकुम, २५ भदौ । पश्चिम रुकुमको चौरजहारी–सल्लीबजार २ महिनापछि सञ्चालनमा आएको छ । वर्षा सुरु भएसँगै अवरुद्ध भएको सल्यानको सल्लीबजारदेखि चौरजहारी सडक मर्मतपछि सञ्चालनमा आएको हो । चौरजहारी नगरपालिकाको अग्रसरतामा सडक डिभिजन कार्यालय दाङले सडकको पहिरो हटाएर सडक सफाइ गरेपछि सवारी साधन चल्न थालेका हुन् ।
वर्षाका कारण यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो । अवरुद्ध सडक सञ्चालनमा आएपनि स्तरोन्नति नहुँदा यात्रुहरुले उस्तै सास्ती भोग्नु परेको सवारी चालकहरुले बताएका छन् । यातायातका साधन सञ्चालन भएपछि पश्चिम रुकुमका स्थानीयहरुलाई नेपालगन्ज, सुर्खेत लगायतका ठाउँमा जान जाजरकोट जानुपर्ने वाध्यता हटेको छ । चौरजहारी सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट वाहिर जाने यात्रुहरुले जाजरकोटको बाटो भएर यात्रा गर्ने विकल्प बनाउँदै आएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतवार ०४:०९